काठमाडौँ, शनिवार, २२ वैशाख २०८१ । पाँच खेलको टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेकाे छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएकाे अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएकाे हाे । वेस्ट इन्डिज ‘ए’ले दिएकाे १ सय ७३ रनकाे विजयी लक्ष्य नेपालले चार विकेटकाे क्षतिमा सात बल बाँकी छँदै पूरा गर्याे ।
पाँच खेलको सिरिज भने वेस्ट इन्डिज ‘ए’ले अन्तिम खेलअगावै जितिसकेकाे थियाे । अन्तिम खेलमा नेपालका दुई खेलाडी आसिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेले । आसिफले ३५ बलमा दुई चौका र चार छक्कासहित ५१ रन बनाए । अनिलले ४५ बलमा चार चौका र चा छक्काकाे मद्दतले ५८ रन बनाए ।
कुशल मल्ल १८ बलमा ३७ रन बनाएर नटआउट रहे । कुशल भुर्तेलले १३ र दीपेन्द्रसिंह ऐरीले पाँच रन जाेडे । वेस्ट इन्डिज ‘ए’का ओबेद म्याककोयले तीन र म्याथ्यु फर्डले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा सात विकेट गुमाएर १ सय ७२ रनको योगफल तयार पारेको थियाे । वेस्ट इन्डिज ‘ए’ का लागि एलिक एथेनाजेलेले सर्वाधिक ४२ रनको योगदान दिए । यस्तै, कप्तान रोस्टन चेसले ३३, जोनसन चार्ल्सले २४ र म्याथ्यु फर्डेले २३ रनको योगदान दिए ।
यसैगरी, कदिम अल्लेने र मार्क डेयाल समान ११-११ रन जोडे । नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान तीन-तीन र अविनाश बोहराले एक विकेट लिए ।