September 10, 2024
अर्थ व्यवसाय

काठमाडौंमा आजदेखि आइडिएको २१ औँ बैठक

काठमाडौँ, मंगलबार, ४ असार २०८१ । आज मंगलबारदेखि काठमाडौंमा सुरु हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) को २१ औँ बैठकमा सहभागी हुन विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनबर्ग सोमबार नेपाल आइपुग्नुभएको छ ।

पहिलोपटक नेपालको पाँचदिने औपचारिक भ्रमणमा आउनुभएका ट्रोसेनबर्गले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री वर्षमान पुन, मुख्य सचिव वैकुण्ठ अर्यालका साथै विकास साझेदारसँग भेट गर्ने कार्यक्रमसमेत रहेको विश्व बैंकले जनाएको छ । असार ७ गतेसम्म सञ्चालन हुने बैठक प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुनेछ ।

असार ७ गतेसम्म सञ्चालन हुने बैठक प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुनेछ ।

अर्थ मन्त्रालयका अनुसार उद्घाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछन् । अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह-सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको थियो । विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका तीन सय बढी प्रतिनिधि बैठकमा सहभागी हुने बताइएको छ । सन् १९६० मा स्थापना भएको आइडिए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो ।

आइडिएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ भने आइडिएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ । यसपटक बैठकको प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ । कार्यक्रमबाट नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास सरकारले लिएको छ । बैठकमा आगामी तीन वर्ष आइडिएले गर्ने प्रमुख कार्यका साथै आर्थिक विकासमा उत्पन्न स्रोतको सीमालगायत विषयमा छलफल हुनेछ । आइडिएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो । उक्त बैठकमार्फत् विकास साझेदारको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशलाई कोरोनाको सामना गर्न र हरियाली प्रवर्द्धनमार्फत् कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको थियो ।

आइडिएको २१औँ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । नेपालले छ वर्षअघि आइडिए-१९ बैठक काठमाडौंमा गर्न डिसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिकरूपमा लबिङ गरेको थियो ।

राष्ट्रिय निर्देशकमा डेभिड
विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौंस्थित विश्व बैंकको उपक्षेत्रीय कार्यालयमार्फत् माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नुहुनेछ । अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारेबियन मुलुकका लागि विश्व बैंकतर्फबाट शहरी व्यवस्थापन र विपद् जोखिम न्यूीकरणसम्बन्धी व्यवस्थापकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँसँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, शहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र म्याकलेस्टर कलेजबाट अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर नवनियुक्त निर्देशक डेभिडले नेपाल, माल्दिभ्स र श्रीलंकामा सञ्चालित कार्यक्रमको संयोजन गर्नुहुनेछ । विश्व बैंकले हाल नेपालमा २० सञ्चालनमा रहेका र तीन पाइप लाइनका गरी २३ परियोजनामा लगानी गरेको छ । निवर्तमान निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैंकले डेभिडलाई नयाँ निर्देशकका रूपमा नेपाल पठाएको हो ।

देशीय निर्देशकसँगै विश्व बैंकले नेपालका लागि राष्ट्रिय प्रबन्धक पनि परिवर्तन गरेको छ । लाडा स्ट्रेलकोवाको स्थानमा प्रिती अरोरालाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाइ र डेभिडको स्वागत गरेको छ । बिदाइ कार्यक्रममा मुख्य सचिव वैकुण्ठ अर्याल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरको सहभागिता थियो । आइडिएको २१औँ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए ।

अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । नेपालले ६ वर्षअघि आइडिए-१९ बैठक काठमाडौंमा गर्न डिसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिकरूपमा लबिङ गरेको थियो ।

Leave a Reply