काठमाडौँ, शुक्रबार, २१ असार २०८१ । सूचना प्रविधिको विकास र विस्तारले मानव विकासमा जसरी सहज र सरलीकरण गर्दै आइरहेको छ त्यसै गरी यसको विकासले विभिन्न चुनौती पनि सिर्जना गर्ने गरेको छ ।
सूचना प्रविधिको विकास र विस्तारले सिर्जना गरेको विभिन्न चुनौतीहरूमध्ये पछिल्लो समयमा बढ्दै गइरहेको साइबर अपराध र त्यस अन्तर्गतको साइबर ठगी पनि एक हो ।
फेसबुक ह्वाट्स् एप, भाइबर इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको प्रयोग गरि विभिन्न प्रलोभनमा पारि सय रूपैयाँ देखि लाखौँ रकम एकै पटक वा पटक पटक गरेर ठगी हुने गरेका कयौँ घटना अहिले हाम्रो समाजमा प्रशस्त छन् ।
यस्ता घटनासँग सम्बन्धित सयौँ उजुरी प्रहरी कार्यालयमा दिनहँु आउने गरेका छन् भने प्रहरीले पनि यस्ता घटनाको सन्दर्भमा गम्भिरताका साथ अनुसन्धान र संलग्नलाई कारबाहीको दायरामा ल्याउन अग्रसर भइरहेको छ । साइबर ठगीका बारेमा चर्चा गर्नु पूर्व केही प्रतिनिधिमूलक घटनाको बारेमा चर्चा गर्नु सान्दर्भिक हुन आउछ ।
घटना नम्बर १. : काठमाडौँका रमेश (नाम परिवर्तन) लाई फेसबुकमा एउटा फ्रेन्ड रिक्वेस्ट आउछ ।
अपरिचित व्यक्तिले पठाउने त्यस्तो रिक्वेस्ट पछि फेसबुकमा गरिने कुराकानीको क्रममा उक्त अपरिचित व्यक्तिले आफू रसियामा सेनामा रहेको युद्धको क्रममा आफूसँगै काम गर्ने साथी मारिएको र करोडौँ डलरको सम्पत्ति भएको उक्त साथीको अपुताली खाने कोही नभएकोले उसको थर तपाईँको थरसँग मिल्ने भएको र यहाँको नियम अनुसार थर मिल्ने मानिसलाई अपुतालीको रूपमा उसको सम्पत्ति सार्न मिल्ने कुरा बताउछ ।
उसको कुरा सुन्ने बित्तिकै रमेश अपुतालीको लोभमा पर्छ र त्यसको लागि के गर्नु पर्छ ? भनेर प्रश्न गर्दा त्यसको लागि सम्पत्ति सार्न केही रकम लाग्ने बताएपछि रमेशले पैसा दिन हिच्किचाउछ ।
तर, फेरि ठगी गर्ने व्यक्तिले पैसा नेपालकै एजेन्टको खातामा जम्मा गर्ने हो फरक पर्दैन भनेर विश्वस्त पार्छ । त्यसपछि रमेशले विश्वासमा परेर पटक पटक गरेर ४४ लाख पैसा पठाईसकेपछि ऊ आफू ठगिएको महसुस गर्छ र प्रहरीको सम्पर्कमा पुग्छ, त्यसपछि मात्र ऊ ठगिएको थाहा पाउछ ।
घटना नम्बर २. : काठमाडौँकै विन्दु (नाम परिवर्तन) लाई फेसबुकमा एउटा प्रतिष्ठित विदेशी इलेक्ट्रोनिक्स कम्पनीले एउटा छोटो भिडियोमा एउटा महिलाको मुख घुमिराखेको र त्यसलाई जोडेर दुरूस्त तस्विर बनाई त्यसको स्क्रिन सट उक्त फेसबुक पेजमा पठाएमा आइफोन उपहार पर्ने भनेर भनिएको हुन्छ ।
विन्दु पनि आइफोनको लोभमा परि उक्त तस्विरको घुमेको मुखलाई ठिक स्थानमा रोक्ने प्रयास गर्छिन् र सफल पनि हुन्छिन् । त्यस पश्चात उनले उक्त स्क्रिन सट भनिएको पेजमा पठाउछिन् । त्यसको केही समय पछि उनलाई आइफोन गिफ्ट परेको बधाइ समेतको मेसेज प्राप्त गर्छिन् ।
त्यसको केही समय पश्चात उनलाई प्राप्त भएको पुरस्कार उनको ठेगानामै प्राप्त हुने तर त्यसको लागि उनले कर बापतको रकम जम्मा गर्नुपर्ने अर्को मेसेज प्राप्त गर्छिन् । त्यस पश्चात उनले कसरी पैसा पठाउने भने पश्चात उनको म्यासेन्जरमा एउटा क्युआर कोड आउछ ।
त्यस पछि उनले त्यस क्युआर कोडमा पैसा पठाउछिन् । उनले पैसा पठाएको केही दिनमै आइफोन उनको घर ठेगानामै आउछ भनेको धेरै दिनसम्म पनि सामान नआएपछि उनले सोही म्यासेन्जरमा गएर बुझ्ने प्रयास गर्दा उनलाई ब्लक गरिसकिएको रहेछ त्यस पश्चात शंका लागेर प्रहरीकोमा पुग्दा बल्ल उनले आफू ठगिएको थाहा पाइन् ।
घटना नम्बर ३. : सुदिप (परिवर्तित नाम) लाई फोन कल आउछ । हामी इसेवाबाट बोलेका हौँ । तपाईँले के.वाई.सि अपडेट गर्नु भएको रहेनछ ।
त्यसको लागि तपाईँको मोबाइलमा एउटा ओ.टि.पि.कोड आउछ त्यो हामीलाई पठाउनु भयो भने हामी अपडेट गरिदिन्छौँ भनेर कुराकानी हुन्छ त्यसो भनेर फोन राखेको केही समयमा नै उसको मोबाइलमा एउटा ओटिपि कोड आउछ र उक्त कोड आउने बितिक्कै उताबाट फेरि फोन आउछ ।
त्यस पश्चात सुदिपले आफ्नो ओटिपि कोड उक्त व्यक्तिलाई दिन्छन् । त्यसको केही समय पश्चात उनको खाताबाट धमाधम पैसा काटिन थाल्छ । त्यस पछि उनी आत्तिदै प्रहरीकोमा पुग्छन् र तब मात्र उनलाई गलत नम्बरबाट फोन गरी ठगेको भन्ने थाहा हुन्छ ।
यी त केही प्रतिनिधि घटना मात्र हुन् । अहिले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न तरिका अपनाएर धेरैे व्यक्ति ठगीमा परेको सुन्नमा आइरहेको छ । हरेक दिन यस्तै यस्तै घटनामा पीडित भएका सयौँ व्यक्ति दिनहुँजसो उजुरी लिएर प्रहरी कार्यालयमा आउने गरेको छन् ।
विगतमा चिठ्ठा पर्यो भनेर हुने ठगिका घटनामा मानिस सचेत हुन थाले पश्चात ठगीका तरिका पनि परिवर्तन हुँदै गएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालमा विभिन्न अनलाइन सपिङ भनेर विभिन्न सामानहरू बजार मूल्य भन्दा निकै सस्तोमा राख्ने र किन्ने मानिसले अर्डर गरिसके पश्चात सिमित स्टक रहेकोले पहिल्यै भुक्तानी गर्नुपर्ने भनिन्छ र पैसा भुक्तानी पश्चात सामान आउदैन बरू भुक्तानी गर्ने व्यक्तिलाई व्लक गरिन्छ ।
यस्ता घटना पनि प्रहरीकोमा दिनहुँ जसो आइरहन्छ । यी र यस्ता घटना अहिले दिनहुँ बढिरहेको प्रहरी कार्यालयमा आउने उजुरीले प्रस्ट्याउछ । हुन त ठगीका घटनाको प्रमुख कारक तत्व भनेको पीडित प्रलोभनमा पर्नु नै हो ।
खास गरेर करोडौँ रूपैयाँ एकैपटक हात लाग्ने वा बजार मूल्य भन्दा सस्तोमा विभिन्न सामान पाइने प्रलोभनमा मानिसहरू ठगिन पुगेका छन् । अझ भनौ सामाजिक सञ्जालमा आउने यस्ता म्यासेजको सन्दर्भ राम्रोसँग बुझ्नु जरूरी हुन्छ ।
अझ प्रहरीले गर्ने अनुसन्धानको क्रममा देखिएको रोचक रोचक कुरा त के छ भने जुन खातामा पैसा जम्मा भएको हो उक्त खातावाला व्यक्ति पनि वास्तविक व्यक्ति भन्दा फरक भएको पाइएको छ ।
खाता खोलिएको व्यक्तिको नागरिकता दुरूपयोग गरेर अर्कै व्यक्तिले खाता संचालन गरेको र रकम समेत तुरून्तै निकाली सकिएको पाइएको छ ।
त्यसै गरेर कतिपय व्यक्तिको खातामा जम्मा भएको पैसाको सन्दर्भमा विदेशबाट आफन्तले पैसा पठाएको भनिएकोमा उताबाट एजेन्ट मार्फत पैसा पठाइएको र यता यस्तै ठगीको पैसा जम्मा गराइएको समेत पाइएको छ ।
यसरी गैर कानूनी बाटोको प्रयोग मार्फत पैसा पठाउँदा पीडक भनिएका व्यक्ति समेत स्वयम् पीडित भएको पाइएको छ ।
कतिपय अवस्थामा ठगी गर्ने व्यक्तिले विभिन्न व्यक्तिलाई विभिन्न प्रलोभनमा पारि नेपालकै बैंकमा खाता खोल्न लगाउने र त्यस पश्चात उक्त खातावालाको चेक र एटिएम कार्ड समेत ठगी गर्ने व्यक्तिले लिएर प्रयोग गर्ने गरेको र खातावालासँग उक्त व्यक्तिको बारेमा सोधपुछ गर्दा ह्वाट्स एप मार्फत चिनजान भएको युरोप र अमेरिका लैजाने प्रलोभनमा पारि खाता खोल्न लगाएको र एटिएम कार्ड पार्शल गरेर पठाउन लगाएको बताउने गरेका छन् जसले गर्दा वास्तविक पीडकसम्म प्रहरी पुग्न कठिनाई हुने गरेको छ ।
यसरी सामाजिक सञ्जालको प्रयोग गरि हुने साइबर ठगीको रोकथामको लागि नेपाल प्रहरीले ठुलो प्रयास नगरेको भने होइन ।
यसको अनुसन्धानको लागि नेपाल प्रहरीको साइबर ब्यूरोले प्रहरी नायब उपरीक्षकको कमाण्डमा एउटा छुट्टै पिल्लरनै स्थापना गरेर यस्ता घटनाको अनुसन्धान गरिरहेको छ भने दर्जनौलाई कारबाहीको दायरामा ल्याइसकेको छ ।
यसै गरेर देशभरका जिल्ला प्रहरी कार्यालयले पनि यस प्रकारको अपराधमा अनुसन्धान गरी दोषी उपर कारबाही गरिरहेको छ ।
तापनि अहिले साइबरजन्य अपराध र ठगीका घटना दिनानुदिन बढिरहेको छ । यसको प्रमुख कारणमा जनचेतनाको कमि र प्रलोभन नै हो । यसको लागि आम मानिसले निम्न कुरामा ध्यान दिनु जरूरी छ :
♦कुनै पनि बहानामा चिठ्ठा प¥यो भनेर विभिन्न सामाजिक सञ्जालबाट आएका म्यासेजको विश्वास नगर्ने ।
♦अपुतालीको नाममा आउने विभिन्न म्यासेजको भ्रममा नपर्ने ।
♦कुनै पनि वालेट अपडेट गर्नु प¥यो भनेर आएका फोन कलको भरमा आफ्नो विवरण वा ओटिपि कसैलाई पनि नदिने । त्यस्तो फोन आएमा उक्त मोबाइल वालेटको आधिकारीक वेवसाइटमा त्यस्ता वालेटको आधिकारीक नम्बर दिएको हुन्छ त्यसमा फोन गरेर कन्फर्म हुने ।
♦कसैले पनि विभिन्न प्रलोभनमा बैँक खाता खोलेर त्यसको विवरण र एटिएम कार्ड मागेमा नदिने ।
♦अनलाइन सपिङका नाममा बजार मूल्यभन्दा अस्वाभाविक रूपमा सस्तो मूल्यमा राखिएको सामान खरिदको प्रलोभनमा नपर्ने । खरिद गरीहाल्नु परे पनि डेलिभरि पश्चात मात्र भुक्तानी दिने ताकी नठगियोस । यसै गरी सस्तोमा राखिएका सेकेण्डहेण्ड मोबाइल चोरीको पनि हुनसक्छ विचार पु¥याउने ।
♦इन्स्टाग्राममा पैसा डबल हुन्छ भनेर गरिएका विज्ञापन भ्रामक हुन् पछि नलाग्ने ।
♦आफ्नो नाममा सिमकार्ड निकालेर अरूलाई प्रयोग गर्न नदिने ।
♦आफ्नो नागरिकता पासपोर्ट जस्ता महत्वपूर्ण कागजात अपरिचित व्यक्तिलाई नदिने ।
♦आर्थिक कारोबार गर्दा त्यसको स्रोत र प्राप्त व्यक्तिको विवरण एकिन गरेर मात्र गर्ने । वैदेशिक रोजगारीको पैसा भनेर ठगीको पैसा जम्मा गरिदिएको हुन सक्छ ।
समग्रमा भन्नुपर्दा यो वा त्यो बहानामा अनावश्यक प्रलोभनमा कहिल्यै पनि नपर्ने । भर्दै नभरेको चिठ्ठा पर्दै पर्दैन । त्यसै गरेर हाम्रो नाम र थर पश्चिमा मुलुकमा रहने व्यक्तिसँग मिल्दैन र एउटा व्यक्तिको नाममा रहेको सम्पत्ति सजिलै अर्को व्यक्तिमा सार्न सकिदैन ।
त्यसका विभिन्न कानूनी पाटाहरू हुन्छन् । त्यस्तो सम्पत्ति ग्रहण गर्ने व्यक्तिले समेत विभिन्न कानूनी प्रकृया पु¥याउनुपर्ने हुन्छ त्यसैले त्यसको पछाडि लाग्दै नलागौँ ।
त्यसै गरेर ठगी गर्नेले रकम जम्मा गर्नको लागि कुनै अर्को नेपालीकै खाता दिन सक्छ यसरी दिएको खातावाला व्यक्ति पनि पीडित हुन सक्ने भएकोले यस्तो खातामा ढुक्क परेर पैसा जम्मा नगरौँ त्यसले थप अर्काे एकजनालाई पीडित बनाउन सक्छ ।
त्यसै गरेर बिना स्वार्थ कसैले एक कप चिया त खुवाउदैन भने करोडौँको सम्पत्तिको प्रलोभन ठगी गर्ने बहाना मात्र हो, भ्रममा नपरौँ ।
नेपाल प्रहरीको द्धैमासिक प्रकाशनबाट ।