काठमाडौँ, मंगलबार, २२ साउन २०८१ । ‘मिडिया काउन्सिल विधेयक २०८०’ को नाम आम सञ्चार परिषद् विधेयक राख्नेबारे संसदीय समितिमा सहमति जुटेको छ ।
मंगलबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा विधेयकमाथि दफाबार छलफल भएको थियो । सोही बैठकमा मिडिया काउन्सिल विधेयकको नामलाई आम सञ्चार परिषद् विधेयक राख्ने सहमति जुटेको हो ।
समिति सदस्यहरूले मिडिया काउन्सिल नाम अंग्रेजीबाट भएको भन्दै नामलाई नेपालीकरण गर्नका लागि भनेर संशोधन प्रस्तावसमेत हालेका थिए । बैठकमा सदस्यहरूले नेपालीकरण गर्नुपर्नेमा जोड दिएका थिए । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नामलाई नेपालीकरण गर्न सरकार तयार रहेको बताए ।
यससँगै मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राख्न सहमति जुटेको समिति सभापति जयन्तीदेवी राईले घोषणा गरिन् । अब परिवर्तित नाम अनुरूप बाँकी प्रक्रिया अगाडि बढाउने उनले बताइन् ।
उनले भनिन्, ‘भाषा जोगाउँ भन्ने हिसाबले नाम नेपालीकरण गरेको हो । आम सञ्चार परिषद् विधेयक नाम हुने भयो । त्यसभित्रको कन्टेन्टहरू परिवर्तन हुँदैन । नाम आम सञ्चार परिषद् राख्ने कुरामा सहमति जस्तै भयो । मुख्य रूपमा सञ्चार क्षेत्रबाट सरकारले नियन्त्रण गर्ने गरी यो विधेयक आएको छ भन्नेमा बढीमात्रामा हल्ला छ । तर, यो हुनुहुन्न । कुनै हालतमा सरकारले नियन्त्रण गर्ने ढंगले यो विधेयक ल्याउनुहुन्न । नियमनसम्म हुनुपर्छ तर नियन्त्रण गर्नुहुँदैन र सिफारिस समितिको सन्दर्भमा पनि समितिलाई मान्य छैन ।’