काठमाडौँ, मंगलबार, १३ कात्तिक २०८१ । समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको सत प्रतिशत बचत फिर्ता भएको बताएको छ ।
आज मंगलबार काठमाडौंमा समितिले आयोजना गरेको समस्याग्रस्त सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ताको कार्यक्रममा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारीबाट हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको १ अर्ब ४८ करोड ५१ लाख ३७ हजार रुपैयाँ फिर्ता गरिएको जानकारी दिनुभयो ।
त्यस्तै आंशिक रुपमा हालसम्म ४ सय ३८ बचतकर्ताको ३ करोडभन्दा बढी रकम फिर्ता गरिएको छ । संकटग्रस्त सहकारीका ५६ हजार ६ सय ५ बचतकर्ताको ३८ अर्ब ४२ करोड ३ लाख २९ हजार ८ सय ११ रुपैयाँ बचत फिर्ता गर्न बाँकी रहेको मन्त्री अधिकारीले बताउनु भयो ।
उहाँले संकटग्रस्त सहकारीमा भएको सम्पत्ति बिक्री, लिलाम वा साटासाट गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने र सहकारीबाट ऋण लिएर नतिर्नेहरुको सम्पत्ति लिलाम गर्ने निर्णय भएको धारणा राख्नुभयो ।
उहाँले केही सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नका लागि प्रक्रिया सुरु भइसकेको जिकिर गर्नुभयो । मन्त्री अधिकारीले हाल सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी सहकारीहरु १९ वटा रहेको र बाँकी छुट मागदावीकर्तालाई बचत फिर्ता गरि राफसाफ गरिएको सहकारीको संख्या ३ रहेको जानकारी दिनुभयो ।
मन्त्री अधिकारीले चालू आर्थिक मसान्तसम्म थप ९ सहकारी संस्था राफसाफ गर्ने लक्ष्य लिइएको बताउनु भयो । त्यस्तै, १३ हजार ७५ ऋणी सदस्यहरुबाट २३ अर्व ६२ करोड ९६ लाख ५८ हजार ७ सय ९४ रुपैया असुलीतर्फ अन्तिम कारवाहीको प्रक्रिया अघि बढाउने योजना रहेको उहाँले बताउनु भयो । कार्यक्रममा समस्याग्रस्त केही सहकारीका बचतकर्तालाई बचत रकम फिर्ता गरिएको थियो ।