September 10, 2024
पर्यटन

गोरखाको शहिद लखन –४ थानीडाँडा गाउँमा स्थापना गरिएको ‘अरिङ्गाल होम स्टे’

गोरखा, बुधबार, ३० साउन २०८१ । ग्राहक आकर्षण गर्न व्यवसायीहरुले विभिन्न नयाँनयाँ रचनात्मक काम गर्ने गरेको देखिन्छ । साविकको भन्दा अथवा प्रतिस्पर्धी व्यवसायीको भन्दा नयाँ प्याकेज दिएर ग्राहकलाई आफ्नो होटलतिर आकर्षण गर्न व्यवसायीहरु मग्नमस्त हुन्छन् ।
शहिद लखन गाउँपालिका–४ ताक्लुङको बरालथोकस्थित थानीडाँडा गाउँमा स्थापना गरिएको होमस्टे पनि एक यस्तै होमस्टेको उदाहरण हो ।

जहाँ अरिङ्गालको साथमा रुख कटहरको वाइनसहित रैथाने परिकार चखाउने उद्देश्य सहित स्थानीय जुटेका छन् ।
होम स्टे संचालनका लागि नौ सदस्यीय समिति गठन भइसकेको छ । उनीहरु अहिले अरिङ्गालको गोलाको प्रतिमा बनाउन व्यस्त छन् । ६.५ फिट गोलाई र ४.५ फिट लम्वाईको प्रतिमा बनाउन लागिएको समिति अध्यक्ष उत्तम थापाले बताए ।

गाउँमा व्यवसायिक रुपमा अरिङ्गाल खेती हुदैँ आएकाले अरिङ्गालको गोलाको प्रतिमा निर्माण गर्न लागिएको उनले जानकारी दिए । ‘२०५८ सालदेखि मैले अरिङ्गाल घरमा ल्याएर पाल्न थालेको हुँ,’ उनले भने, ‘अहिले गाउँमा करिव १६ घरधुरीले अरिङ्गाल पालेका छन्, पाहुनालाई त्यही अरिङ्गालको स्वाद चखाउने पनि उदेश्य हो ।’ सँगै रुख कटहरको वाइन, गुन्द्रुक, ढिडो लगायतका स्थानीय परिकारको स्वाद पनि पाहुनाले लिन पाउने उनले जानकारी दिए ।

होम स्टे संचालनका लागि वडाले पनि आवश्यक समन्वय गरिरहेको छ । रुख कटहरको वाइन उत्पादनमा वडाले सहजिकरण गरिरहेको वडाध्यक्ष यमबहादुर थापाले बताए । ‘यो ठाउँमा रुख कटहर बढी पाइन्छ तर, अन्यत्र बेच्न लान पनि गाडीले चढाउन नमान्ने । यत्तिकै खेर गइरहेको कटहरलाई सदुपयोग गर्दै लोकल वाइन बनाउन थालेका हौ,’ उनले भने ।

उत्पादन भएको कटहर प्रति गोटा ३० देखि ४० रुपैयामा वडाले किन्ने गरेको उनले जानकारी गराए । उनले थपे, ‘यसले उत्पादीत उपजको बजार व्यवस्थापनमा पनि सहयोग पुग्ने भयो, फेरी होम स्टे आएका पाहुनालाई अर्गानिक लोकल स्वाद दिदैँ यसको प्रवद्र्धन गर्न पनि पाउने भयौ ।’

उक्त गाउँमा मगर र चेपाङ समुदायको बसोवास छ । मगर समुदायको संस्कृती झल्काउने काठको खैँजडी र खुर्पेटोको ठुलो प्रतिमा समेत निर्माण गरिने वडाध्यक्ष थापाले बताए । पाहुनाका लागि चेपाङ समुदायको संस्कृति अन्तरगत गिठा भ्याकुर, चिउरी, सिस्नु लागयतका परिकार पनि होम स्टेमा उपलब्ध हुने बताइएको छ ।

करिव ५६ घरधुरीमध्ये अहिले १३ घरधुरीमा होम स्टे संचालनको तयारी गरिएको छ । क्रमश सबै घरधुरीमा होट स्टे संचालन गर्ने लक्ष्य समितिको छ । होम स्टे आउने पर्यटकले मगर र चेपाङ समुदायको संस्कृती झल्कने सांस्कृतिक झलकहरु पनि अवलोकन गर्न पाउने बताइएको छ ।

स्थानीय आफैले आर्थिक सहयोग जुटाएर संचालन गर्न लागिएको उक्त होम स्टेको नाम नै अरिङ्गाल होम स्टे राखिएको छ । भदौ महिनाबाट होट स्टे संचालन गर्ने योजना रहेको समिति अध्यक्ष थापाले बताए । ‘पहिले संरचना निर्माण काम सक्ने अनि प्याकेज बनाउने भन्ने छ,’ उनले भने । पर्यटन प्रवद्र्धनसँगै स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा समेत होम स्टेले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply