काठमाडौँ, मंगलबार, १८ भाद्र २०८१ । सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनको जिब्रोमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उनको जिब्रोमा ब्रेक लगाउन सुझाव दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भन्ने अभिव्यक्ति आफू सत्तापक्षकै भए पनि मन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक रहेको बताए ।उनले अन्य मन्त्रीहरुलाई पनि बोल्दा जिब्रोमा ब्रेक लगाउन आग्रह गरे ।
एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका छन् । सांसद खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिन पनि माग गरे ।
बैठकमा बोल्दै सांसद खतिवडाले भने, ‘‘सञ्चारमन्त्रीले केही दिन पहिला नेपाल प्रहरीका आइजिपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ, यो अभिव्यक्ति आपत्तिजनक छ, मन्त्रीहरूलाई आग्रह छ, जिब्रोमा ब्रेक लगाइयोस्, यसको जवाफ संसदमा दिइयोस् ।’