September 10, 2024
पालिका विशेष

गोरखाको कोखेआहालेस्थित जुगेपानी पहिरोको सास्ती हट्यो

गोरखा, बुधबार, १९ भाद्र २०८१ । गोरखाको कोखेआहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ । गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको हो । गएको बीस बर्षदेखि हरेक बर्ष बर्खाका बेला यात्रुहरुले निक्कै हैरानी खेप्दै आउनुपरेको जुगेपानीको पहिरो अहिले नियन्त्रणमा आएपछि सवारी साधन सञ्चालनमा सहज भएको हो ।

सडक डिभिजन कार्यालय तनहुँले गएको बैशाख महिनामा पहिरो नियन्त्रणको सवै काम सम्पन्न गरेसंगै यसपटकको बर्खामा कुनै समस्या नभएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

‘‘बर्खामा पानी पर्ने बित्तिकै सधैजसो सडक भाँसिने, माटो बग्ने र सवारी साधनको आवागमन अबरुद्ध हुने गरेको भएपनि त्यहाँको पहिरोले यसपटक अहिलेसम्म कुनै दुःख दिएन, उहाँले भन्नुभयो, ‘‘अहिलेको अवस्थालाई हेर्दा पहिरो नियन्त्रणमा आएको देखिन्छ, यसपालीको बर्खामा यात्रुहरुले विगतका बर्षमा जस्तो हैरानी भोग्नु परेको छैन ।’’

जुगेपानीमा करिब एकसय मिटर सडक हरेक बर्ष बर्खामा पानी परेपछि जमिन भाँसिने, माटो बग्नेलगायतका समस्या हुँदै आएको थियो । भुगर्भविद्सहितको इन्जिनियरको टोलीले पहिरोको नियन्त्रणका लागि गहिरो अध्ययन गरी करिब एक बर्ष लगाएर नियन्त्रणको काम सम्पन्न गरेको हो ।

पहिरो नियन्त्रणमा आएपछि गोरखा सदरमुकामबाट उत्तरी गोरखाको धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका बासिन्दालाई आउजाउमा सजिलो भएको छ । जुगेपानीको पहिरो नियन्त्रण गर्न सडक डिभिजन कार्यालय तनहुँमार्फत रु ३ करोड ४५ लाख ४१ हजार ९ सय ९८ रुपैया खर्च भएको कार्यालयले जनाएको छ ।

कार्यालयले टेण्डर प्रक्रियामार्फत पहिरो नियन्त्रणका श्री आइ.डि कन्स्ट्रकसन पोखरासंग ठेक्का सम्झौता गरेको थियो । विशेष प्रविधिवाट जमिनलाई सुख्खा बनाएर जमिनको पानीलाई पाइपमार्फत निकासा गरी जुगेपानी पहिरो नियन्त्रणको काम गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर हरीबहादुर लामाले जानकारी दिनुभयो ।

आउदो एक बर्षसम्मका लागि पहिरो गइरहेको ठाउँमा सडक ग्राभेल मात्र छोडिएको र थप सेटल भएपछि सडक कालोपत्र गरिने उहाँको भनाई छ ।

Leave a Reply