Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeमनोरञ्जनचलचित्र 'ज्वाइँ साब' लाई हलले शो नदिएको गुनासो

चलचित्र ‘ज्वाइँ साब’ लाई हलले शो नदिएको गुनासो

खजुरा, शुक्रबार, २ कात्तिक २०८१ । नेपालगन्जमा दर्शकहरुले नेपाली चलचित्र ‘ज्वाइँ साब’ हेर्न नपाएको गुनासो गरेका छन् । नेपालगन्जका हलहरु भिजिट गर्ने क्रममा नेपालगन्ज आइपुगेका चलचित्र ‘ज्वाइँ साब’को टिमसँग दर्शकहरुले चलचित्र ज्वाइँ साब हेर्न नपाएको गुनासो गरेका हुन् ।

चलचित्र ‘ज्वाइँ साब’ हेर्न बर्दियाबाट नेपालगन्ज आएका दर्शकले नेपालगन्जमा हलहरुले शो नदिएका कारण आफूहरुले चलचित्र हेर्न नपाइ फर्केको समेत गुनासो गरेका थिए । पत्रकारसँगको भेटघाटमा पनि ज्वाइँ साबको टिमले मोफलसमा चलचित्र दर्शकले मन पराउँदा पराउँदै पनि शोलाई कटौती गरिएको गुनासो गरेका थिए ।

असोज २४ गते फुलपातीदेखि प्रदर्शनरत चलचित्र ‘ज्वाइँ साब’को टिम चलचित्र प्रदर्शनमा आएपछि पहिलोपटक मोफसलको यात्रामा नेपालगन्ज आएका थिए। उक्त टोलीमा चलचित्रका प्रमुख पात्र जीतु नेपाल, नीति शाह र निर्देशक बसन्त निरौलालगायतको उपस्थिति रहेको थियो । उनीहरुले नेपालगन्जमा रहेको सिने रोयल र वागेश्वरी सिनेमाज्मा भिजिट गरेका थिए ।

दसैँको मौका छोपेर रिलिज गरिएको यो चलचित्रको भिडन्त आफैँमा ब्राण्ड रहेका दुई ठूला ब्यानरका चलचित्र छक्का पन्जा ५ र १२ गाउँसँग भयो । तर चलचित्रका नायक जीतु नेपाल भने यो भिडन्त नभइ नेपाली चलचित्रको महोत्सव भएको बताउनुभयो । “दसैँ सबैको हो र यो दसैँमा व्यापारको सम्भावना राम्रो हुने भएकाले यो समय रोजेका हौं,” जीतुले भन्नुभयो ।

निर्देशक बसन्त निरौलाले हलहरुले शो दिन कन्जुस्याइँ गरेको र केही हलहरुले बिहान र रातिको मात्र शो दिएको गुनासो गर्नुभयो । सबैलाई पायक पर्ने समयमा शो राख्दा हाउसफुल जाँदा पनि पछि शो घटाएको उहाँको भनाइ थियो ।

दर्शकको समय अनुसार शो नभएका कारण पनि दर्शकले ज्वाइँ साब हेर्न नपाएको दर्शकको गुनासो रहेको चलचित्रकी नायिका नीति शाहले बताउनुभयो। उहाँले नेपालगन्ज भिजिटका क्रममा ३० भन्दा बढी व्यक्तिहरुले चलचित्र हेर्न नपाएको गुनासो आफूहरुसँग गरेको बताउनुभयो ।

पछिल्लो समय (दसैँ सेरोफेरोमा) नेपाली चलचित्रले लगभग सबै जसो सिनेमाघरमा राज गरिरहेको अवस्था छ । तर कलाकार लगायत निर्माण टिम राजधानी भन्दा बाहिर मोफसलका सिनेमाघरहरु र त्यहाँका दर्शकलाई वास्तै नगरेको अवस्थामा चलचित्र ‘ज्वाइँ साब’को टिम हल भिजिटमा आउँदा भने दर्शकहरु खुशी भएका थिए ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको