काठमाडौँ, शुक्रबार, २ कात्तिक २०८१ । कफी पसलको एक कुनामा पैसठ्ठी वर्षका मेरा बाउको एक जना साथी भेटिनु भयो । बाउको साथी भएको हुनाले मैले वहाँलाई काका नै भनेर सम्बोधन गर्ने गर्दछु। एक्लै बसेको देखेर मैले नमस्कार गर्दै वहाँको हालखबर सोधेँ। मुसुक्क मुस्कुराएर सबै ठिक छ नि बाबु भन्दै मेरो बसाई, परिवार तथा आम्दानीको बारेमा सबै जानकारी लिनुभयो । पैतृक सम्पत्ति, शहरको बीचमा भएको घरबाट बहाल र सेवा निवृत्त भए पश्चातको पेन्सन अनि काकीको वृद्ध भत्ता … आर्थिक रूपले सम्पन्न नै मान्नु पर्दछ। एउटा फोटो खिचौँ न ल भनेर वहाँले आइफोन निकाल्नु भयो र फोटो खिच्यौँ। नयाँ जस्तै देखिने वहाँको आइफोन पाँच महिना अघि अमेरिकाबाट ल्याउनु भएको रहेछ। “काकीलाई छोरीले अस्ट्रेलियाबाट फोन पठाइदिएको थिई, अमेरिकाबाट आउँदा छोरोले मलाई यो फोन दियो ….”
धेरै वर्ष पश्चात् भेट भए पनि फोनकै कारणले वहाँको छोराछोरीको बारेमा थप बुझ्न परेन। म एस.एल. सी. दिने बेलामा काकाका छोराछोरी काठमाडौंमा राम्रो बोर्डिङ स्कुलमा प्राथमिक तहमा पढ्थे । पढाइमा अब्बल… आफ्नो कक्षामा सधैँ पहिलो दोस्रो। एक पटक वहाँले घरबाट पठाइदिनु भएको सामान पुर्याउन ती बाबु नानीको होस्टेलमा जाँदा अङ्ग्रेजीमा “होस्टल क्षेत्रमा अंग्रेजी भाषा अनिवार्य” सूचना टाँसिएको थियो। आफूले कनीकुथी अंग्रेजी बोल्दा उनीहरू फरर अंग्रेजी बोल्थे। समय क्रम बित्दै जाँदा उनीहरूले स्नातक तहमा अमरीका र अस्ट्रेलिया पुगे । पढ्दै काम गर्दै गरेर उनीहरू उतैका नागरिक बने। नेपालमा बसाइसराइ आउने वा नेपालबाट विदेशमा बसाई सर्ने प्रक्रिया सामान्य नै हो । सामाजिक, आर्थिक, राजनैतिक वा सांस्कृतिक लगायत विविध कारणबाट व्यक्ति तथा र परिवार बसाई सर्ने गरेको हामीलाई ज्ञात नै छ।
१३ औँ शताब्दी देखी नै नेपालमा औपचारिक तवरले बसाई सराई गरेको इतिहास हामीसँग छ। जङ्ग बहादुरको पालामा ब्रिटिस कम्पनीहरूमा काम गर्न नेपालीहरूलाई कामदारका रूपमा पठाउने गरिन्थ्यो नै। अहिलेका म्यानपावर व्यवसायीका एजेन्ट जस्तै तत्कालीन अवस्थामा गल्लाहरू गाउँ गाउँमा सक्रिय थिए। अहिले त कतिपय विद्यालय, विभिन्न शैक्षिक कल्सल्टेन्सीहरु र अभिभावक आफैले जसरी छोरा छोरीले पैसा कमाउने नै हो भनी युवालाई विदेश पठाउनका लागि अभिप्रेरित गर्ने गरेका छन। काकाका छोरा छोरीले नेपालमै बसेर दुख गर्ने जमर्को गरेनन् । आफ्नो कमाई र चार कठ्ठा जग्गा बेचेर छोरा छोरी दुबैलाई विदेशमा पढ्न पठाए । उतै बसोबास गर्दै गरेको अर्को नेपालीलाई जीवनसाथीको रूपमा चुने, अनि नेपालमा आएर समाजको अगाडी धूमधामसँग विवाह गरे । काकाका सन्ततिले विदेशमा गएर प्रगति गरेको देखेर कतिपय आफ्ना र छिमेकीले मन कुँड्याइरहेका छन।
काका काकी आफै पनि समय समयमा विदेश गई रहनु हुन्छ। हात खुट्टा सबल भएको बेलामा विदेशमा गएर पनि काकाले सानो तिनो काम समेत गर्नु हुँदो रहेछ । जुनसुकै काम भए पनि सेवा निवृत्त काकालाई अफट्यारो परेन। श्रमिक र काम प्रति सम्मान हुने त्यो स्थानमा काकालाई खासै अप्ठ्यारो पनि लागेन । बरु कमाएको पैसा छोरा छोरीलाई दिएर सहयोग नै गर्नु भएको रहेछ। पछिल्लो पटक तीन वर्ष पछि अमेरिका पुग्नु भएको काका काकीको सम्पूर्ण खर्च छोराले नै बेहोर्नु परेको रहेछ।
नेपालबाट दिन दिनै युवाहरू बिदेसिनु परेको विषयलाई हामीले गम्भीर चुनौतीका रूपमा चित्रण गरिरहेका छौँ। नेपालको विकासमा सहभागी हुनु पर्ने युवाहरू विदेशको विकास र आकर्षक जीवनयापन प्रति प्रभावित हुनुलाई अन्यथा भन्न पनि नसकिएला। सन् १९४० को दशकमा युरोप देखि उत्तर अमेरिकामा ठुलो सङ्ख्यामा बसाई सरेका थिए। सन् १८८० को दशकमा पूर्वी युरोपबाट ठुलो मात्रामा दक्षिण युरोपमा बसाई सराई भएको थियो भने सन् १८२० देखि १९८० सम्ममा करिब ३ करोड ७० लाख युरोपेलीहरू अमेरिका पुगेका थिए। दोस्रो विश्व युद्धका समयमा नाजीहरूले करिब ८० लाख विदेशीहरूलाई जर्मनीबाट निकालेका थिए तत्कालीन सोभियत युनियनले करिब १ करोड जर्मनलाई रसियाबाट निकालेका थिए। वर्तमान समयमा वैदेशिक रोजगारीको लागि आकर्षक मानिने दक्षिण कोरियामा समेत सन् १९०० अघि सम्म ठुलो सङ्ख्यामा विदेशमा रोजगारीका लागि जाने गरेका थिए। सन् १९०० को पहिलो दशकमा जापानले कोरियालाई कोलोनाइज गरे पश्चात् कोरियालीहरू अमेरिकाको हवाई प्रान्तमा कृषि कार्यमा सहयोग गर्न पुगेका थिए।
कोरियाली युद्ध तथा सो पश्चात् राजनैतिक अस्थिरता, असुरक्षा तथा असहज जीवनयापनको अवस्थामा कोरियालीहरू अमेरिका, जापान, चीन र अन्य मुलुकमा पुगेका थिए। नेपालबाट विदेशमा जाने अधिकांश नेपालीहरूले आर्थिक कारणले मात्र गएका हुन भन्न सकिने अवस्था छैन। राजनैतिक अस्थिरता वा सुशासन मात्रै पनि कारण हैन ।
मुलुक विकास नभएर वा आफूले पढेको विषयमा रोजगारी नपाएर बिदेसिनु परेको हो भन्ने यदाकदा केही व्यक्तिबाट सुन्नमा पनि आउँछ। तर, काका काकीले आफ्नो सन्तती विदेशमा गएर अध्ययन गर्न पाउन् र उनीहरूको जीवनयापन सहज होस धारणा राख्नु भएको रहेछ। राजनैतिक अस्थिरता र नागरिकको असुरक्षा लगायतका विषय भन्दा पनि विदेशमा पुगेका युवाले बेला बेलामा नेपालमा आएर “हैट यस्तो देशमा के बसेको” भनेर नेपालमै राम्रो शिक्षा लिइरहेका काका काकीका सन्ततिलाई समेत प्रभावित पारेका थिए रे ।
हो, विदेशमा भए गरेका विकासबाट हामी प्रभावित हुनु पर्दछ नै । विभिन्न श्रोतको प्रयोग गरेर विदेश पुगेका हाम्रा कर्मचारी र जनप्रतिनिधिले पनि विकास देख्नु भएको नै छ ।तैपनि, हाम्रो विकास गर्ने इच्छा र जाँगर किन आएन भनेर प्रश्न आउनु स्वाभाविक नै हो। प्रक्रिया पुगेर आएमा नागरिकता सहजै पाउने हुँदा हुँदै पनि चाँडै नागरिकता बनेकोमा नागरिक ससंकित हुन्छ र सक्कली हो वा नक्कली हैन भनेर छुट्टाउन जिल्ला प्रशासन नजिक भएको फोटो खिच्ने संस्थाको प्रतिनिधिलाई पाँच सय रुपैंया परीक्षण गराउँछ। रोजगारीको अवसरको अभावमा हामीले विश्व विद्यालयबाट प्राप्त गरेको शिक्षा होस या शुल्क तिरेर लिएको तालिम होस्, यसले श्रम बजारमा प्रवेश गराउन सकेन भने यसमा प्रश्न आउँछ नै। नेपालमा रहेका औद्योगिक प्रतिष्ठानका लागि आवश्यक पर्ने सीप हामीले उपलब्ध गराउन सकेका छौँ र ? नेपालमै काम गरे आफ्नो बाउ बाजेले आर्जेको इज्जत बिग्रने डरले हामीले काम नगर्दा नेपालको रोजगारीमा विदेशी नागरिक काम गरिनै रहेका छन् । ‘माछा दिएर हैन, माछा मार्ने बल्छी दिने’ वाक्यांश सुन्दै गर्दा माछा छ कि छैन भनेर पनि विश्लेषण गर्ने पनि होला।
शिक्षा तथा सीप विकासका क्रियाकलापले श्रम बजारको मागलाई सम्बोधन गर्नु पर्दछ, यो सत्य हो, तर रोजगारी वा स्वरोजगारी नभएको अवस्थामा जस्तो सुकै दक्ष र शिक्षित नागरिक भए पनि आखिरमा कँहि कतै जानु पर्ने नै होला। सामान्य अध्ययन गर्ने बित्तिकै १०-५ को जागिर पाउनु पर्दछ भनेर धेरैले श्रम प्रधान कार्यमा संलग्न नै हुँदैनन्। रोजगारी सिर्जना गर्ने दायित्व सरकारले लिएको छैन – निजी क्षेत्रको पोल्टामा हालिएको छ। रोजगारी सिर्जनाको लागि वातावरण बनाउनका लागि नीतिगत र कानुनको निर्माण गर्ने र सो को प्रभावकारी कार्यान्वयन गर्न हामी चुक्दै गएको हैनौँ र ? हामीले आफ्नो श्रोतको परिचालन एघार बजे देखि तीन बजे सम्म टक्क आँखा गाडेर टिएमएस चलाउँदैमा प्रयोग गरेका छैनौँ र ? कृषि र उद्योगमा हामी स्वयम लगानी गर्दैनौँ र यो क्षेत्रमा विदेशी लगानी पनि भित्राउँदैनौँ ।
आफू पनि लगानी नगर्ने र अरूलाई गाली गरिरहने प्रचलन रहने बेला सम्म हामीले आर्थिक समृद्धि हाँसिल गर्ने छैनौँ। सबै सामाग्रीहरू आयात गरेर भन्सारमा आधारित अर्थतन्त्र निर्माण गरेका हामीले बच्चा उत्पादन कारखाना बाहेकका अन्य उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जागरूक हुनु पर्ने हैन र?
पाँच महिना अघि मात्रै काका काकी छोरासँग विदेशमा हुनु भएकोले किन खर्च गर्ने भन्दै वहाँको सन्तान दसैँमा नेपाल नआउने वहाँहरूलाई थाहा थियो । आज भोली चाडपर्व नआइदिए पनि हुन्थ्यो भन्ने वहाँलाई लाग्दो रहेछ। आफ्नो हात खुट्टाले साथ छाड्दै जाँदा, बिरामी पर्दा वा आफ्ना प्रियको साथ नहुँदा आफूलाई नरमाइलो लाग्नु स्वाभाविक नै हो ।
चाडपर्व मनाइरहेका व्यक्तिले सामाजिक सञ्जालमा राख्ने फोटो तथा भिडियोले एक्लो जीवनयापन गर्दै गरेका बुडाबुडीको मनलाई ठेस पुग्ने गरेको हेक्का कसैले राख्दैन। विदेशमा बस्ने छोराछोरीले नेपालको राजनैतिक र आर्थिक अवस्था कमजोर बनाएको भन्दै गर्दा वा भाइरल बन्ने लोभमा सामाजिक सञ्जालमा असहिष्णु भाव व्यक्त हुँदै गर्दा वा आफ्नो मनको कुण्ठा व्यक्त गर्दै गर्दा यसले मुलुक निर्माणमा के कति योगदान गरेको छ भन्ने हेक्का राख्नु पर्ने आवश्यकता ठानिँदैन। बूढाबूढीलाई सामाजिक सुरक्षा भत्ता बाँड्दैमा सरकारको दायित्व त पुरा भएको होला, एक्लोपन हटाउन त कसरी सक्ला र । अब उनीहरू नआउने, आफू त्यहाँ बस्न नपाइने ……. तैपनि काकाले अरूलाई विदेशमा गएर जीवनयापन सहज बनाउन भने सल्लाह दिनु हुँदो रहेछ।
काकालाई आज भोली नेपालको विकास हुन नसकेको, आर्थिक उन्नति हुन नसकेको, युवा बिदेसिनु परेको भनेर कुर्लने दल र व्यक्तिहरू खुब मन पर्ने रहेछ। फलानोको चस्मा महँगो, फलानोको श्रीमती भ्रष्टाचारी भएको र बुढाहरूले यो देश बनाउन नसकेको धारणाहरूलाई सरकारी सेवाबाट सेवा निवृत्त काकाले सामाजिक सञ्जालमा खुब प्रचार गर्नु हुँदो रहेछ। नेपालको शिक्षा गरिखाने नभएको, युवा बिदेसिनु परेको, मुलुकको आर्थिक अवस्थामा नयाँ संरचनाले थप खर्च बढाएको आदि इत्यादिको टिप्पणी सुन्दै गर्दा कफी सकिएछ। हामी किन, कहाँ, कसरी र के मा अल्झियौँ भनेर गम्दै म काकासँग बिदाबारी भएँ ।
(लेखक श्रम तथा रोजगारीका क्षेत्रमा कार्यरत छन्।)