गोरखा, बिहिबार, ८ कात्तिक २०८१ । बारपाक सुलिकोट गाउँपालिकामा पाँचौँ बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतियोगिताको उद्घाटन गर्दै पालिकाको मा वि स्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
बिहिबारबाट सुरु भएको सो प्रतियोगिता शनिबारबारसम्म संचालन हुने गाउँपालिका शिक्षा शाखा प्रमुख भिमकुमार श्रेष्ठले बताए । प्रतियोगिताको पहिलो दिन महिलातर्फको कबड्डी खेल सुरु गरिएको उनले जानकारी दिए । सो प्रतियोगितामा पालिका भित्रका १२ वटा माविका करिब पाँच सय विद्यार्थीको सहभागिता रहेको उनले बताए । यो प्रतियोगितामा १५ वटा विधाका खेलहरुमा उनीहरुले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भाग लिने छन् ।
गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टको अध्यक्षता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बासुदेव पाठक, राष्ट्रिय अनुसन्धान आयोग गोरखाका प्रमुख हुमाकान्त पौडेल, सशस्त्र प्रहरी बल २९ गुल्म गोरखाका डीएसपी केशवराज वलिया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वडा नं. ३,४, ५, ६, ७, ८ का वडाध्यक्षहरु तथा राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।