गोरखा, बुधबार, १४ कार्तिक २०८१ । गण्डकी प्रदेशका मुख्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सम्पति विवरणअनुसार उनको गोरखा, काठमाडौं, कपिलवस्तु र भक्तपुरमा पैतृक घरजग्गा रहेको देखिएको छ ।
आफैंले तोकेको समयसीमा कटेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीहरुले बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नेपर्ने गरी आचारसंहिता जारी गरेको थियो ।
पछिल्लो पटक जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डे नेतृत्वको सरकारका ९ जना नै मन्त्रीहरु धनी देखिएका छन् ।
मुख्यमन्त्री पाण्डेसँग पैतृक सम्पत्ति कहाँ कहाँ ?
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पैतृक सम्पत्ति नै धेरै देखिएको छ । गोरखा, काठमाडौं, कपिलवस्तु र भक्तपुरमा पैतृक घरजग्गा रहेको उनले उल्लेख गरेका छन् ।
पाण्डेको नाममा गोरखाको पालुङटार नगरपालिका – १ मा ४ कित्तामा जग्गा, कपिलवस्तुमा २ कित्ता र भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५ कित्तामा मोहीबाट कमोद भएको सगोलको जग्गा रहेको पाण्डेले विवरणमा खुलाएका छन् ।
यसअघि सम्पत्ति विवरण बुझाउँदा उनीसँग ४२ तोला सुन, ५०० तोला चाँदी थियो । अहिले त्यसमा ३ तोला सुन र २०० तोला चाँदी बढेको उनको सम्पत्ति विवरणबाट खुल्छ । उनीसँग २ सेट हिरा र १ सेट मोती पनि छन् ।
व्यवसाय, तलब र जग्गा बिक्रीबाट एभरेस्ट बैंकमा २७ लाख ७४ हजार मौज्दात रहेको मुख्यमन्त्री पाण्डेले खुलाएका छन् । यसअघि उनले त्यहाँ २४ लाख ९६ हजार रहेको बताएका थिए ।
पत्नी विना पाण्डेको नाममा प्रभु बैंकमा ६७ लाख रुपैयाँ तलब तथा उपदानमार्फत नगद जम्मा गरेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरेका छन् ।
यसअघि यो शीर्षकमा ६० लाख रुपैयाँ रहेको उनले बताएका थिए । छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैंकमा ४ लाख ७८ हजार बैंक मौज्दात छ । यसअघि उनले छोरा सुयोग्गराजको नाममा बैंकमा १ लाख ५६ हजार मौज्दात देखाएका थिए ।
मुख्यमन्त्री पाण्डेको दियालो फुडल्याण्ड प्रा लि मा ६१ हजार १००, बैंक तथा वित्तीय संस्थामा ५ हजार कित्ता शेयर रहेको र श्रीमती विनाका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ५ हजार, छोरा सुयोग्यको नाममा ४ हजार कित्ता शेयर रहेको विवरणमा खुलाएका छन् ।
मुख्यमन्त्री पाण्डेसँग श्रीमतीको नाममा एउटा मारुती बलेरो कार छ । त्यसको खरिद मूल्य पाण्डेले जम्मा ३२ हजारमात्र देखाएका छन् । पाण्डेले आफूसँग टिभी २ वटा, फ्रिज २ वटा, वासिङ मेसिन, माइक्रोओभन, किचनसहित पूर्ण फर्निसिङ घर रहेको उल्लेख गरेका छन् ।