काठमाडौँ, बिहिबार, १५ कात्तिक २०८१ । तिहार, छठलगायतका चाडपर्वहरूमा मिठाइको अत्यधिक माग र खपत हुने गरेको छ । तिहारका लागि खासगरी धेरैजसोले सेलरोटीबाहेकका मिठाइ परिकार बजारबाटै किन्ने गरेका छन् भने कार्यव्यस्तता वा आधुनिकताका नाममा सेलरोटीसमेत बजारबाटै किन्नेको जमात पनि छ । तर, बजारमा पाइने सबै मिठाइ परिकार स्वस्थकर हुँदैनन् । रङरोगन गरिएका मिठाइ स्वास्थ्यका लागि घातक हुन्छन् ।
उपभोक्तालाई आकर्षित गर्ने उद्देश्यले व्यापारीहरूले तयार पार्ने रंगिन मिठाइले उपभोक्तालाई क्षणिक स्वाद र सन्तुष्टि दिए पनि दीर्घकालीनरूपमा विभिन्न रोगले सताउने भन्दै खाद्यविज्ञहरूले सचेत गराएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार नेपालको खाद्य ऐनले विभिन्न ११ प्रकारका रङ खाद्यान्नमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । तर, खानयोग्य रङ नै भए पनि मात्रा मिलेको छैन भने हानी गर्न सक्छ । १० केजी मिठाइमा दुई ग्रामभन्दा बढी रङ प्रयोग गर्न हुँदैन भने तयारी मिठाइमा मात्रै रङ प्रयोग गर्नुपर्ने हुन्छ । अर्थात् रङ पनि मिठाइसँगै पकाउन हुँदैन । त्यसैगरी बर्फीमा लेपन गरिने सेतो रसायन अर्थात् तपक पनि हानिकारक हुन्छ । यस्तोमा चाँदीको तपकमात्रै प्रयोग गर्न पाइने व्यवस्था भए पनि व्यापारीले आल्मुनियम तपकसमेत प्रयोग गर्ने गरेका छन् । आल्मुनियम तपक प्रयोग गरिएका मिठाइ स्वास्थ्यका लागि घातक मानिन्छन् ।
चाँदीभन्दा आल्मुनियम तपक धेरै सस्तो हुने भएकाले व्यापारीले आल्मुनियमकै तपक पनि प्रयोग गरेको हुन सक्ने विभागकै अधिकारी आशंका गर्छन् । त्यसैले उपभोक्ताले खाद्य र अखाद्य छुट्याउन नसक्ने भएकाले सकेसम्म रङ प्रयोग नगरिएका मिठाइ नै उपयोग गर्नुपर्ने विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण बताउनुहुन्छ । रंगिन मिठाइ नै प्रयोग गर्नुपरे पनि कडा र गाढा रङ भएका मिठाइ प्रयोग गर्न नहुने कर्णको सुझाव छ । रङमात्र होइन, पटक-पटक पकाएको एउटै तेलमा मिठाइलगायत परिकार पकाउनुहुँदैन तर अधिकांश मिठाइ व्यापारीले पुरानै तेलमा नयाँ मिसाएर मिठाइ तार्ने गरेको पाइएको छ । उहाँले हिमालय टाइम्सलाई भन्नुभयो, ‘अखाद्य रङभन्दा पनि तेलमा बढी समस्या देखिएको छ । पुरानो तेलमा मिठाइ तार्ने प्रवृत्ति रोकिएको छैन । एक पटक प्रयोग भइसकेको तेल पुनः प्रयोग गर्न हुँदैन । पुनः प्रयोग गरी पकाउने, तार्ने गरिएको मिठाइ परिकार जनस्वास्थ्यका लागि घातक मानिन्छन् । खाद्य रङ पनि आवश्यकभन्दा बढी प्रयोग भएमा आँखा, कलेजो, मिर्गौला समस्याका साथै क्यान्सरसमेत हुन सक्छ ।’
मिठाइका ३८, दूध, खाने तेल र पानीका १२, घ्यूका नौ, पेय पदार्थ र महका दुईलगायत विभिन्न खाद्य पदार्थ गरी ८८ नमुनाको स्थलगत प्रारम्भिक चेकजाँच गरिएकोमा कैफियत पाइएका आठ खाद्य व्यवसायमाथि अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा मिठाइ उत्पादन स्थल(किचेन), मिठाइमा प्रयोग हुने घिउ, तेल, खुवा, बुनियालगायतका कच्चा पदार्थ प्रयोग र भण्डारणमा चरम बेथिति भेटिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि पुष्टि गरेको छ । विभागका महानिर्देशक राजन पौडेलका अनुसार म्याद गुज्रिएका र अखाद्य वस्तु मिसाइएका खाद्य पदार्थ बिक्री गर्ने गरेको पाइएको छ । त्यस्तै मानव स्वास्थ्यका लागि हानिकारक मानिएका केमिकल्सयुक्त खाद्य पदार्थसमेत पाइएको छ । ठूला भनिएका तारे होटलमा समेत समस्या देखिएको उहाँको भनाइ छ । पौडेल भन्नुहुन्छ, ‘ठूला होटलहरूमा बाहिर सर्भिसस्थल, वितरण पक्ष एकदमै राम्रो छ, सुकसुकाउँदो छ तर भित्र खाद्य परिकार उत्पादन कक्ष हेरिनसक्नु छ, सरसफाइमा मात्रै समस्या नभई अखाद्य वस्तु प्रयोग हुने गरेको छ । मिठाइ उत्पादन गर्ने आँगनमा मिठाइ बनाउन प्रयोग हुने बुनिया बोरामा हालेर राखेको भेटियोे । बोराको खात लगाएर राखेको भेटियो । मिठाइमा बाढीमा डुबेको तेल प्रयोग गरेको भेटियो । पाउरोटी उद्योगको अवस्था पनि त्यस्तै छ । ठूला भनिएका पाउरोटी उद्योगहरूले पनि म्याद गुज्रिएका मैदा प्रयोग गरेको पाइएको छ । केकमा अखाद्य रङहरू प्रयोग गरिएको छ ।’
बजारमा मिसावट, अखाद्य रङ र तेलको पुनः प्रयोगको अवस्था भयावह रहेको उपभोक्तावादी बताउँछन् । अखाद्य रङको तुलनामा खाद्य र कयौं गुणा महँंगो हुने भएकाले धेरैजसो मिठाइमा अखाद्य रङ प्रयोग भइरहेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको दाबी छ । उहाँ भन्नुहुन्छ, ‘खाद्य रङभन्दा अखाद्य रङ सस्तो र आकर्षक देखिने भएकाले मिठाइमा अखाद्य रङकै बाहुल्यता देखिन्छ । त्यसैले उपभोक्तालाई मिठाइ नखानु त भन्न सकिएन तर निकै सावधानी अपाउनुपर्ने हुन्छ ।’
तर, विभागका प्रवक्ता महर्जन भने पछिल्लो समय मिठाइमा अखाद्य रङको प्रयोगभन्दा पनि अन्य कैफियत रहेको बताउनुहुन्छ । उहाँका अनुसार कतिपयमा किचनको सरसफाइ र मिठाइको स्वच्छतामा समस्या देखिएको छ, मिठाइ हाइजेनिक पनि हुनुपर्छ ।
अन्य समयभन्दा तिहार र छठलगायतका चाडबाडमा चार गुणासम्म बढी मिठाइ माग हुने गरेको व्यापारी बताउँछन् । उनीहरूका अनुसार शहरी क्षेत्रमा जेरी, चक्लेट बर्फी, पेडा, रसवरी, लालमोहन, गुलाब जामुन, क्रिम मिठाइ, काजु मिठाइलगायत खपत हुने गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइ व्यापारीलाई रङ प्रयोगबारे सचेत गराउँदै आएको छ । विभागले खाद्य व्यवसायीलाई लेबल विवरण नभएका खाद्य पदार्थ बिक्रीवितरण नगर्न, सरसफाइमा विशेष ध्यान दिन, खाद्य पदार्थ खरिदबिक्री गर्दा लेबल अनिवार्य हेर्न, स्टोर तथा भण्डारण व्यवस्थित गरी सफा राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ छुट्टै भण्डारण गर्न, पकाएको खाद्य पदार्थ छोपेर राख्न, मसीले लेखिएको, छापिएको वा रंगाइएको कागजमा खाद्य पदार्थ नराख्न, किट नियन्त्रण गर्न र अनुमति पत्र नलिई खाद्य व्यवसाय सञ्चालन नगर्न निर्देशन दिएको छ ।
यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले काठमाडौंको गौशालास्थित व्यञ्जन मिष्ठान भण्डार तथा भोजनालयका लेबलबिनाका साढे तीन केजी रोडा बर्फी नष्ट गरेको छ । पाकेको र कच्चा खाद्य पदार्थसँगै भण्डारण गर्ने गरेको लेबल विवरण उल्लेख नभएको रसबरी, रोडा बर्फी र बर्फीको नमुना चेकजाँचपछि नष्ट गरिएको विभागले जनाएको छ । त्यस्तै सोही स्थानमा रहेको मारवाडी स्विट्स एण्ड नमकिन पसलमा ढुसी परेको करिब एक केजी पेडा पनि नष्ट गरेको छ । विभागबाट मंगलबार र बुधबार काठमाडौं उपत्यकाभित्र मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण अनुगमनका लागि टोली खटाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम उल्लेखित व्यवसायको निरीक्षण अनुगमन, खाद्य पदार्थको नमुनाको प्रारम्भिक चेकजाँच तथा कारबाही गरिएको विभागका प्रवक्ता महर्जनले बताउनुभएको छ । विभागले मोबाइल फुड ल्याब भ्यान सञ्चालन गरी तथा मातहतका कार्यालयबाट निरीक्षण अनुगमनका लागि टोली बनाई दैनिकरूपमा खटाई देशैभर निरीक्षण अनुगमन गर्दै आएको छ । असोज २३ गतेदेखि कात्तिक १२ गतेसम्म विभाग तथा मातहतका कार्यालयबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम चाडपर्व लक्षित खाद्य पदार्थको नियमित एवं संयुक्त निरीक्षण तथा अनुगमनका लागि टोली खटाई जम्मा तीन सय १२ वटा खाद्य उद्योग एवं व्यवसायको अनुगमन गरी कारबाही गरिएको प्रवक्ता महर्जनले बताउनुभएको छ । जसमध्ये एक सय पाँच खाद्य बजार, एक सय पाँच खाद्य उद्योग र एक सय दुई होटल तथा रेस्टुरेन्ट अनुगमन गरिएका थिए ।
देशैभरिबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम ३९ नमुना र खाद्य स्वच्छता सर्भिलेन्सका लागि ६१ नमुना गरी एक सय वटा खाद्य पदार्थका नमुना संकलन गरिएका छन् । अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका, पूर्ण लेबल विवरण नभएका र खाद्य अनुमति पत्र नलिएका करिब चार लाख ४४ हजार छ सय तीन रुपैयाँ मूल्य बराबरका खाद्य पदार्थ जफत तथा नष्ट गरिएको विभागले जनाएको छ । विभागका अनुसार सोही अवधिमा मोबाइल खाद्य प्रयोगशाला भ्यान सञ्चालन गरी जम्मा ३२ पटक खाद्य उद्योग एवं व्यवसाय अनुगमन गरी कारबाही गरिएको छ । जसमध्ये आठ पटक खाद्य उद्योग र २४ पटक खाद्य व्यवसाय एवं होटल रेस्टुरेन्ट निरीक्षण अनुगमन गरिएको हो । मोबाइल खाद्य प्रयोगशाला भ्यानमा मिठाइका ३८, प्रशोधित दूधका १२, खाने तेलका १२, प्रशोधित पिउने पानीका १२, घ्यूका नौ, पेय पदार्थका दुई, महका दुई र नुनको एकलगायत विभिन्न खाद्य पदार्थ गरी ८८ नमुनाको स्थलगत प्रारम्भिक चेकजाँच गरिएकोमा कैफियत पाइएका आठवटा खाद्य व्यवसायउपर खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ । विभागले असोज १६ देखि दुईवटा मोबाइल फुड ल्याब भ्यान सञ्चालनमा ल्याएकोमा कात्तिक ११ देखि बाँकी दुईवटा मोबाइल फुड ल्याब भ्यान पनि मर्मतसम्भार भई चारवटै मोबाइल फुड ल्याब भ्यान सम्चालनमा ल्याएको जनाएको छ ।