काठमाडौँ, शुक्रबार, ७ मङ्सिर २०८१ । सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा.सुरेश आचार्यलाई नियुक्त गरेको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम बरिष्ठ पत्रकार आचार्यलाई आयोगको प्रमुख सूचना आयुक्तमा नियुक्त गरेको र सूचना आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गरेको छ ।
त्यसैगरी, सरकारले नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एआईजीपीमा बढुवाका लागि बढुवा समितिबाट सिफारिस भएका डीआईजीपी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा गर्ने निर्णय गरेको हो ।
गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने ढकाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा कार्यरत रहेका छन् ।