राजु मियाँ
गोरखा, आइतबार, १६ मङ्सिर २०८१ । गोरखाको शहिद लखन गाउँपालिका वडा नं ७ मा अवस्थित बुङकोट काहुले भंगार ऐतिहासिक, अन्तरिक पर्यटकको सम्भावना बोकेको क्षेत्र हो ।

सो क्षेत्र ऐतिहासिक स्थल नेपालको पहिलो शहिद लखन थापा मगरको लखन किल्ला परिसर र वडा न-८ स्थित महत्वपुर्ण धार्मिक स्थल सन्तानेश्वर महादेव मन्दिर रहेको छ ।

गोरखाको साविकको वुङ्कोट–४, काहुलेभँगार र हाल शहिद लखन गाउँपालिका–७ मा लखन थापाकै नाममा सालिकसहित स्मारक बनाइएको छ । सदरमुकामदेखि १२ किलोमिटर दक्षिणपूर्वमा रहेको करिव २ रोपनी क्षेत्रफल रहेको यो समथर भू-भागलाई अहिले पनि ‘विद्रोही किल्ला’ भनिन्छ । जस भित्र नेपालका प्रथम शहिद लखन थापा मगरको शालिक, पानी पोखरी, मौलिक मगर घुमाउने घर रहेको छ ।

भौगोलिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा वातावरणीय विविधताका कारण पर्यटनको प्रचुर सम्भावना भएको शहिद लखनका पर्यटकीय क्षेत्रको व्यापक प्रचार–प्रसार गर्न सके जिल्लामा अत्याधिक पर्यटक भित्र्याउन सकिने वडा अध्यक्ष शरण श्रेष्ठले बताउनु भयो । सोही ठाउँमा प्रतिकात्मक मनकामना मन्दिरको निर्माण कार्य जारी रहेको वडा अध्यक्ष शरण श्रेष्ठले बताउनु भयो । साथै, उहाँले जयसिंह चुमीमगरको शालिकसहित ४ जनाको शालिक निर्माण भइसकेको बताउनु भयो । ३ जना शहिदको सालिक राख्न बाकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, आन्तरिक पर्यटक आउने क्रम जारी रहेको छ, चितवन, तनहुँ, लम्जुङ्ग, पोखरा, कास्की, नवलपरासी, हेटौडा लगायत आसपासका जिल्लाहरुबाट अवलोकन भ्रमण गर्न आउनु भएको बताउनु भयो ।

ऐतिहासिक स्थल एब आन्तरिक पर्यटनलाई नजिकबाट अवलोकन गर्न गोरखा नगरपालिका ११ मा रहेको सेन्ट मेरिज स्कुलमा कक्षा – ४ र कक्षा – ५ मा अध्यायनरत बिधार्थी, सर मिसहरु अवलोकन भ्रमण गर्ने क्रममा एतिहासिक एब पर्यटकीय स्थल बुङकोट काहुले भंगारको अवलोकन गरेका थिए ।


इतिहास
अत्याचारी राणाशासन विरुद्ध विद्रोही अभियान संचालनका लागि नेपाली जनताहरुको सहयोगमा लखन थापा मगरले वि.सं. १९२७ मा बलियो किल्ला निर्माण गरे । राणा सरकार विरुद्ध लड्न जनस्तरबाट पहिलो पटक बनाइएको उक्त किल्लाको चारै तर्फ बङकर बनाइएको थियो । किल्लाको बाहिरी भागमा चारैतिरबाट ढुङ्गाको तीन तहको बलियो पर्खाल थियो । किल्ला भित्रबाट बाहिरको गतिविधि सजिलै निगरानी गर्न मिल्ने एबम् आफू सुरक्षित रहेर बाहिरका दुस्मनहरुलाई आक्रमण गर्न सकिने गरि पर्खालको ठाँउ ठाँउमा प्वाँलहरु राखिएका थिए । किल्लाको बाहिरी भागमा घेरिएको ढुङ्गाको बलियो पर्खाल १६ क्युबिट्स उचाई र ८ क्युबिट्स चौडाइको थियो ।
उक्त किल्लाको चारै तर्फ ढुङ्गाको नै ढोका र नस राखिएको थियो । किल्लाको चारै दिशामा ढोकाहरु थिए भने मूल ढोका उत्तरतर्फ रहेको थियो । किल्ला भित्र मध्य भागमा ७ बर्ग मिटरको छेत्रफलमा मोई थान (मनकामना माई) को मन्दिर निर्माण गरिएको थियो । लखन थापा मगरले किल्ला परिसरमा पाँच तल्ले घर बनाई त्यहाँबाट मोई थान (मनकामना माई) को पुजा समेत चलाएका थिए ।