Thursday, January 15, 2026
5.1 C
Kathmandu
spot_img
Homeनिर्वाचन गतिबिधीगोरखा नगरपालिकामा ५ मा मतदान सुरु

गोरखा नगरपालिकामा ५ मा मतदान सुरु

spot_img

गोरखा, आइतबार, १६ मङ्सिर २०८१ । गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा हुने उपनिर्वाचन अन्तर्गत आइतवार मतदान हुदैछ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेका छन् । मतदान स्थल र केन्द्रहरु शनिवार नै तयार गरिएको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले बताए ।

स्वाँराको गोरखकाली र अमराईको शिवशक्ति आधारभूत बिद्यालयलाई मतदान स्थल तोकिएको उनले जानकारी दिए । ‘कुल दुई वटा मतदान स्थल हो,’ उनले भने, ‘मतदान केन्द्र भने तीन वटा छन् ।’ शिवशक्ति आधारभूत बिद्यालय भएको मतदान स्थलमा क र ख गरी दुई वटा मतदान केन्द्र रहेको उनले बताए ।

निर्वाचन आयोगले गत कात्तिक २७ गते प्रकाशत गरेको अन्तिम मतदाता नामावली अनुसार उक्त वडामा २ हजार २२५ मतदाता छन् । १ हजार ५०१ जना मतदातालाई शिवशक्ति आवि र बाँकी ७ सय २४ मतदातालाई गोरखकाली आवि मतदान स्थल तोकिएको छ ।

चुनावलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न आफूहरु लागिपरेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । मौन अवधिको समयलाई मध्यनजर गर्दै व्यापक रुपमा सुरक्षा टोली परिचालन गरिएको उनले जानकारी दिए । ‘चुनावमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी परिचालन हुन्छ,’ उनले भने, ‘आवश्यक परे थप मद्दतको रुपमा सेना पनि परिचालन गर्न सक्छौँ ।’

वडा प्रवेश गर्ने नाकाहरुमा चेकजाँच बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव पाठकले बताए । अवाञ्छित गतिविधि हुन नदिन टोल टोलमा प्रहरी पनि परिचालन गरिएको उनले जानकारी दिए ।

दुवै मतदान स्थलहरुको शनिवार मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतका टोलीले अनुगमन तथा निरीक्षण समेत गरेका थिए । आज सो वडाक्षेत्रभित्र विना पासका सवारी संचालन गर्न नपाइने बताइएको छ ।

यसअघिका वडाध्यक्ष स्व. खिलबहादुर रानाको २०७९ साल कात्तिक १० गते निधन भएपश्चात रिक्त रहेको वडाध्यक्ष पदमा उपचुनाव हुन लागेको हो । चुनावमा नौ दलका उम्मेदवार बीच प्रतिस्पर्धा हुदैछ । चुनावलाई मध्यनजर गर्दै गोरखा नगरपालिकाले आईतबार सार्वजनिक बिदा समेत दिएको छ । गण्डकी प्रदेशभर गोरखा ५ एक मात्र उपनिर्वाचन हुन लागेको क्षेत्र हो । वडाकै भएपनि यो चुनावलाई दलका मुख्य नेताहरुले आफ्नो राजनीतिक प्रतिष्ठासँग जोडेर हेर्ने गरेका छन् ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img