Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeआईपीएम फलोअप‘तमू ह्युल छोंज धीं’ गुरुङ समुदायलाई गोलबद्ध गर्दै

‘तमू ह्युल छोंज धीं’ गुरुङ समुदायलाई गोलबद्ध गर्दै

पृष्ठभूमि

नेपाल बुहजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । नेपालमा रहेका १ सय ४२ जातिमध्ये तमू (गुरुङ) जाति पनि एक हो । नेपालको जनगणना २०७८ अनुसार तमू जातिको जनसंख्या ५ लाख ४३ हजार ७ सय ९० रहेको छ । जुन कूल जनसंख्याको १ दशमलव ८० प्रतिशत हो ।

तमू जातिहरु सातै प्रदेशमा स्थायी र अस्थायी रुपमा बसोबास गरिरहेको छन् । उत्पत्ति र बसाइँसराइको इतिहास हेर्ने हो भने गुरुङ जातिको उद्गम थलो नेपालको गण्डक क्षेत्र रहेको छ । तर, सबैभन्दा बढी देशमा पुगेर स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने नेपाली जातिमा गुरुङ अग्रपंक्तिमा आउँछ । हाल संसारका सयौं देशमा गुरुङ जातिले स्थायी तथा अस्थायी रूपमा बसोबास गर्नुका साथै संगठनसमेत निर्माण गरी आफ्नो संस्कृति, भाषा, रीतिरिवाज, कला र परम्पराको संरक्षण गर्दै आएका छन् ।

तमू (गुरुङ) को छुट्टै मौलिक संस्कार, संस्कृति रहेको छ । धर्म, संस्कार र संस्कृति भनेको समाजको विश्वास, मूल्य र मान्यताको आधार हो । यसैमा ज्ञान, विश्वास, कला, मौलिक कानुन र परम्परा जस्ता महत्वपूर्ण विषय रहेका छन् ।

तमू जातिको मूल पर्वका रुपमा तमू ल्होसार रहेको छ । यो पर्व हरेक वर्ष पुस १५ गते देश तथा विदेशमा रहेका तमु समुदायले धुमधामका साथ मनाउँछन् । साथै राज्यले पनि राष्ट्रिय पर्वका रूपमा मान्यता दिँदै त्यस दिन सार्वजनिक बिदासमेत दिने गरेको छ । तमूहरुले आफ्नो संस्कार, संस्कृति, रीतिरिवाज एवं परम्परा अनुसार नै कर्मकाण्ड चलाउने गर्दछन् । जसमा तमूहरुले खेगीहरुका रुपमा पच्य, क्ह्लेप्री, लामा र बोन लामालाई अनुशरण गरेको पाइन्छ ।

देश तथा विदेशमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने सबै तमू (गुरुङ)बीच पारिवारिक सम्बन्ध र समुदायगत एकताको विकास गर्दै तमू (गुरुङ) जातिको इतिहास, भाषा, धर्म, संस्कृति, परम्पराको संरक्षण र संवद्र्धनमा अधिकांश व्यक्ति लाग्नु त्यो समुदायको सुन्दर पक्ष हो । यद्यपि, तमू समुदायबीच भाषिक, सांस्कृतिक तथा सामाजिक रूपमा एकरूपता कायम गर्दै आर्थिक रूपमा समृद्धिको दिशामा अघि बढाउनु पनि उत्तिकै अपरिहार्य छ ।

तमू (गुरुङ) जातिको मुख्य पेशा भनेको पशुपालन जसमा भेडापालन सँगसँगै कृषि हँुदै राडीपखी बुन्ने साथै समयसापेक्ष वर्तमान समयमा नेपालमा निजमती सेवा क्षेत्र र सुरक्षा क्षेत्र, वैदेशिक रोजगार र भारतीय, बेलायती सेना र सिंगापुर प्रहरीमा सेवारत रहेका छन् । जसले गर्दा व्यक्तिगत, पारिवरिक र राज्यको अर्थतन्त्र मजबुत बनाउनका लागि थप सहयोग पुगेको छ ।

शिक्षा अँध्यारोबाट उज्यालो तर्फ डो¥याउने एक माध्यम हो । जसले गर्दा प्रत्येक जातिलाई आफ्नो कार्यदिशा निर्माण गर्न र संस्थालाई नेतृत्व एवम राज्य सञ्चालनका निम्ति अपरिहार्य छ । तमू समुदायको भाषा, संस्कार, संस्कृति र धर्मको संरक्षण, सम्वद्र्धन गर्न, समुदायको हक, हित र अधिकारका लागि सशक्त आवाज उठाउन र राज्यलाई दबाब दिनका लागि छाता संगठन निर्माण भएको छ ।

तमूहरू संगठित

तमू जातिको संस्थागत विकास क्रमलाई हेर्दा २०११ सालमा स्थापित गुरुङ कल्याणकारी संघबाट शुरू भएको देखिन्छ । तत्पश्चात्् राज्यले प्रदत्त गरेका अधिकारको उपभोग गर्दै राजनैतिक तथा सामाजिक चेतनाको हिसाबले समुदायको हक, हित र अधिकारका लागि संस्थागत भुमिकामा तमूहरुको विभिन्न संघ–संस्थाहरु स्थापित हुन पुगे ।

राजनैतिक, सामाजिक तथा साँस्कृतिक चेतनाको विस्तारले तमू जातिको इतिहास, ऐतिहासिकता, पहिचान, भाषा, संस्कार, संस्कृतिहरुको जगेर्ना गर्न र राज्यको मूल प्रवाहीकरणमा तमू जातिको तर्फबाट प्रभावकारी भूमिका सहित सहभागी हुनका लागि बलियो साझा, राष्ट्रिय संस्थाको अपरिहार्यत हुन पुग्यो । यसै क्रममा सम्पूर्ण तमू संघसंस्थाहरुको इतिहासलाई सम्मान गर्दै छाता एवं साझा संगठनका रुपमा २०६५ चैत १५–१८ गतेसम्म नारायणगढ, चितवनमा प्रथम तमू एकता राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात् छाता संगठन तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् स्थापना भएको छ । यसले दोस्रो राष्ट्रिय महाधिवेशन २०६९ सालमा बिर्तामोड, झापामा, २०७३ सालमा कावासोती, नवलपरासीमा तेस्रो राष्ट्रिय महाधिवेशन र चौथो राष्ट्रिय महाधिवेशन २०७८ चैत्रमा भरतपुर, चितवनमा सम्पन्न गरिसकेको छ । यो तमू (गुरुङ) जातिको अधिकारिक, साझा, राष्ट्रिय, छाता र अधिकारवादी संस्था हो ।

‘प्ये म्ह्स्या छ्या म्ह्मु, छ्या म्ह्स्या ल्हु म्ह्मु, ल्हु म्ह्स्या म्हि म्ह्मु ।’ अर्थात् ‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए मानव जातिको अस्तित्व हराउँछ ।’ भन्ने मूल मर्मका साथ यो संस्था जन्मिएको हो ।

यस संस्था नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद् सदस्य र नेपालमा रहेको सम्पूर्ण आदिवासी जनजातिहरुको साझा एवं राष्ट्रिय संस्था आदिवासी जनजाति महासंघ संघीय परिषद्को संघीय परिषद् सदस्य हो । यस संस्थाको राज्यको संघीय संरचना अनुरुप सातै वटा प्रदेशमा प्रदेश कार्यसमिति ६५ वटा जिल्ला कार्यसमिति ३ वटा भातृ संस्था महिला, विद्यार्थी, युवा र ७० भन्दा बढी संस्था आबद्ध रहेका छन् ।

त्यस्तै, ३५ वटा राष्ट्रमा अन्तर्राष्ट्रिय हितैषी संस्थाका रुपमा आबद्ध रहेका छन् साथै यस संस्थाको समन्वयनमा सार्कस्तरीय तमू सम्मेलन २०७३ कार्तिक ७–८ धरान, सुनसरीमा सम्पन्न भइसकेको छ । संसारभर रहेका तमू (गुरुङ)लाई एकताबद्ध, सह–अस्तित्व, पहिचान र भाइचारा अभिवृद्धि गर्नका लागि २०७६ असोज २४–२५ गते काठमाडौंमा प्रथम अन्तर्राष्ट्रिय तमू सम्मेलन सम्पन्न गरी सन् २०२२ अक्टोबर ११–१३ सम्म देन्ताम सिक्किममा दोस्रो अन्तर्राष्ट्रिय तमू सम्मेलन गरेको छ ।

तमू ह्युल छोंज धींका लक्ष्य र उपलब्धि

तमू समुदायको संस्कृतिको बारेमा राज्यस्तरबाटै पुस्तक प्रकाशन, पाठ्यक्रम निर्माण गरी अध्ययन अध्यापन, गीत–संगीत निर्माण तथा प्रशारण, दृश्य चित्रको निर्माण, कला–कौशलहरुको प्रस्तुतीकरणमा जोड, लोपोन्मुख बाजा–गाजा, सीप–कला आदिको संग्रह गरी संग्रहालयको व्यवस्थापन, भाषा–लिपिको पठनपाठनमा जोड र विकास गर्नुपर्दछ । तर, राज्यले गरेको काम पर्याप्त छैन । तसर्थ, समुदाय आफैं पनि अग्रसर हुनुपने देखिन्छ । जसका निम्ति तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले केही लक्ष्य दिएको छ भने केही उपलब्धि हासिल गरेको छ ।

यस संस्थाअन्तर्गत रहेका भाषा, लिपि तथा साहित्य विभागमार्फत तमू मातृभाषा र खेमा लिपि प्रवद्र्धन अक्षयकोष मार्फत प्राप्त हुने रकमबाट देशभरिका विभिन्न तमूहरुलाई समेटी तमू मातृभाषा तथा खेमा लिपि शिक्षण विधिमार्फत भाषा शिक्षक उत्पादन गर्ने र उनीहरुलाई शिक्षकका रुपमा निश्चित सेवा सुविधासहित परिचालन गर्ने लक्ष्य लिएको छ ।

केन्द्रीय कार्यालयमा तमू भाषाका प्रकाशित शब्दकोष, व्याकरण तथा तमू भाषा र खेमा लिपिसँग सम्बन्धित सबैखाले सामग्रीहरुको प्रति तथा डाटाहरु संकलन गरी भाषा पुस्तकालय र स्वर्गीय डाक्टर हर्क गुरुङबाट रचना गरिएका विभिन्न पुस्तक, प्रतिवेदन, जर्नल, शोधपत्रहरुको संग्रह गरी डा. हर्क गुरुङ कर्नरको स्थापना गर्ने ।

तमू जातिको आदिम भूमि कालीगण्डकीदेखि बुढीगण्डकीसम्मको भूूभागमा ऐतिहासिक रुपमा तमू भाषामा राखिएका ठाउँहरुको नामलाई परिवर्तन हुँदा तमू भाषा र सांस्कृतिक स्थल, सम्पदा र किंवदन्तीहरुमा असर गर्ने कार्य तिव्र रुपमा अगाडि बढिरहेको छ । जसको परिणामस्वरुप तमू भाषा र संस्कृतिहरु लोप हुने अवस्था सिर्जना भएको छ ।

तसर्थ, पहिचानलाई जर्गेना गर्न तमू थातथलोको मौलिक नाम पुनःस्थापित गर्ने । जिल्ला तथा गाउँस्तरमा गई नाम संकलन गर्ने र सो पश्चात् प्रदेशस्तरमा थातथलो नामावलीलाई अन्तिम रुप दिन र कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना तयार गर्ने ।

जलवायु परिवर्तनको असरबाट तमू थातथलोमा पारेको असर र सो असरबाट अस्तित्व लोप हुने र सांस्कृतिक आधारहरु नष्ट हुने चुनौती देखा परिरहेको छ, तसर्थ, तमू समुदायलाई सो बारेमा प्रशिक्षित गर्ने, असरलाई न्यूनीकरण गर्नका साथै तमू थातथलो र सम्पदाको संरक्षणका लागि प्रदेश तथा जिल्ला कार्यसमितिमार्फत स्थानीय कार्यसमितिको अगुवाइमा आवश्यक कार्यक्रम गर्ने ।

तमू जातिको मातृभाषालाई नेपालको संविधान–२०७२ मा व्यवस्था भएबमोजिम र भाषा आयोगको सिफारिस अनुसार गण्डकी प्रदेशको सरकारी कामकाजको भाषाका रुपमा प्रयोगका लागि मागपत्र, ज्ञापनपत्र, ध्यानाकर्षण, प्रदेश मुख्यमन्त्रीसँग भेटघाट, भाषा आयोगसँग सहकार्य गर्नुका साथै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । जसको फलस्वरुप गण्डकी प्रदेश सरकारले २०८१÷०८२ को नीति तथा कार्यक्रममा तमू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता दिन प्रक्रिया थाल्ने प्रतिबद्धता जनाएको छ ।

प्रत्येक प्रदेशमा सम्बन्धित प्रदेश कार्यसमितिको संयोजनमा सो प्रदेशभित्रका जिल्ला कार्यसमितिको उपस्थिती रहने गरी तमू समुदायका संस्कार, संस्कृति, परम्परा तथा अन्य विषयहरुलाई समेटी एक महिने प्रशिक्षण अभियान सञ्चालन गर्ने संस्थाले लक्ष्य बनाएको छ ।

तमू समुदायबाट अध्ययन, अनुसन्धानको क्षेत्रमा लागेका प्राज्ञिक व्यक्तित्वहरु, राज्यका विभिन्न निकायमा विशिष्ट योगदान पु¥याएका तमू व्यक्तिहरु आदिलाई समेटी संगठनको संरचनाभित्र रहने गरी प्राज्ञिक र नीति निर्माण, तमू जातिको विविध विषयमा अध्ययन, अनुसन्धान गर्नका लागि स्वायत्त अधिकार दिने र सो प्रतिष्ठान मार्पmत प्राप्त सुझावहरुलाई संस्थागत प्रक्रिया अन्तर्गत कार्यान्वयन गर्ने दृष्टिकोण सहित तमू खेब प्ह्रीब छोंज (तमू प्रज्ञा प्रतिष्ठान) कार्यविधि तयार र कार्यसमिति गठन गर्ने ।

त्यस्तै, तमू जातिको प्रमुख चाड ल्होसार÷ल्होछार, माङी, बुद्ध जयन्ती, ट्हे टे, फुतासो दिना, म्हे त्ह ले त्हेँ पर्वलाई देशभरिका स्थानीय महानगर÷उपमहानगर÷नगर÷गाउँपालिका कार्य समितिको संयोजनमा मनाउन पहल गर्ने ।

तमू समुदायभित्र रहेका परम्परागत ज्ञान, सीप संरक्षण, क्षमता अभिवृद्धि तथा आयआर्जन सम्बन्धी कार्यक्रम र परियोजनाहरु भातृ संस्थाहरु युवा, महिला र विद्यार्थी संस्थाको नेतृत्वदायी भूमिका वा सहकार्यमा पूरा गर्न पहलकदमी गर्ने साथै तमू समुदायको आदिम ज्ञान, सीप, परम्परागत प्रथाजन्य कानुनको ऐतिहासिकता, सांस्कृतिक आधार सम्बन्धी विषयवस्तुलाई समेटी परिचय पुस्तिका प्रकाशनका लागि तमू प्रज्ञा प्रतिष्ठान मार्फत अध्ययन, अनुसन्धानका लागि सहकार्य गर्ने ।

तमू समुदायका शहीद सुकदेव गुरुङ, सुपति गुरुङलाई राज्यबाट शहीदको मान्यता दिन र स्वर्गीय डाक्टर हर्क गुरुङलाई राष्ट्रिय विभूतिको सम्मान राज्यबाट प्रदान गराउनका लागि आवश्यक पहल र प्रक्रिया थालनी गर्ने । यसै गरी, शहीद सुकदेव गुरुङको जीवनीसँग सम्बन्धित दस्तावेजको खोजी तथा प्रकाशनका लागि केन्द्रीय कार्यसमिति अध्ययन टोली गठन गरी पहल गर्ने ।

तमू जाति लिपि खेमा लिपिको युनिकोडलाई व्यावहारिक रुपमा प्रयोग गर्न तथा संस्थाको वेबसाइटलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सो सम्बन्धी विज्ञहरुको खोजी गरी सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाउने ।

तमूहरुको ऐतिहासिक पहिचान बोकेको आदिम थलो क्होल सों प्रे ट्होको ऐतिहासिकताको संरक्षणका साथै आफ्नो सभ्यता र इतिहासलाई जर्गेना गर्नका लागि अन्तर्राष्ट्रिय तहमा क्रियाशील तमू संघ संस्थाहरुसँग सहकार्य गरी पहल गर्ने कार्यको शुरुआत गरिने ।

यसै गरी, तमू जाति बिचमा उद्गम थलो सम्बन्धी आएका नयाँ तथ्यको थप अध्ययन, अनुसन्धान तथा दस्तावेजीकरणका लागि तमू प्रज्ञा प्रतिष्ठानमार्पmत गर्नका लागि पहल गर्ने र आवश्यक आर्थिक स्रोतका लागि परियोजना प्रस्ताव तयार गर्ने ।

तमू युुवाहरुलाई स्वदेशमा नै रोजगारको विभिन्न अवसरमा सहभागी गराउनका लागि युवाको भातृ संस्थाको संयोजनमा कार्यशाला गोष्ठी गर्ने, तमू कलाकारहरु मार्फत देशका विभिन्न स्थानहरुमा तमू जातिको साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरी तमू जातिको संस्कृतिलाई टेवा दिने कार्यक्रम सञ्चालन गर्ने ।

प्रस्तुति राजु श्रेष्ठ

गोरखा, आइतबार, १६ मङ्सिर २०८१ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको