Thursday, March 12, 2026
21.1 C
Kathmandu
spot_img
Homeस्वास्थ्यपाठेघरको मुखको क्यान्सरसम्बन्धी रोगको परीक्षण हुने

पाठेघरको मुखको क्यान्सरसम्बन्धी रोगको परीक्षण हुने

spot_img

काठमाडौं, मंगलबार, १७ मङ्सिर २०८१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलामा परीक्षण तथा रोग पहिचान गर्ने भएको छ ।

मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा महिलामा हुने पाठेघर तथा स्तनसम्बन्धी क्यान्सर रोकथामका लागि देशैभर अभियानका रुपमा स्क्रिनिङ थाल्ने उल्लेख थियो ।

यसैअनुसार फागुन महिनाभर देशैभर एकै साथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा.विवेककुमार लालले जानकारी दिए ।

‘क्यान्सरको उपचारसँगसँगै लाग्न नदिन समयमै परीक्षण गरी रोकथाम गर्ने मन्त्रीज्यूको प्राथमिकता छ,’ लालले भने, ‘त्यसैअनुसार यस वर्ष अभियानकै रुपमा एकै साथ परीक्षण गर्न लागेका हौं ।’

नेपालमा सन् २०२२ मा कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या ७ हजार ७६८ रहेको ग्लोबल क्यान्सर अब्जर्बभेटरीको तथ्यांकमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका २ हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् ।

हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । यसैगरी अब्जर्बभेटरीका अनुसार विश्वभर प्रति एक लाख रोगीमा ७ जनाको ज्यान जाने गरेकामा नेपालमा झण्डै ९ जनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भए रोग निको हुने विज्ञहरुले बताउने गरेका छन् ।

पाठेघरको क्यान्सरबाट हुने ठूलोस्तरको मृत्यु रोकेर स्वास्थ्य जोगाउन पहल गर्ने मन्त्री पौडेलको योजनाअनुसार मन्त्रालयले पाठेघर तथा स्तनको क्यान्सर नियन्त्रणलाई प्राथमिकता दिएर यस वर्ष कार्यक्रम अघि बढाएको हो ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध १६ लाख किशोरीलाई विश्व क्यान्सर दिवसका दिन आगामी माघ २२ गतेदेखि दुई सातासम्म निःशुल्क खोप अभियान सञ्चालन गर्दैछ । यसबाट ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुनेछन् ।

कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकाले समेत यो खोप लगाउन पाउनेछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिए ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img