Friday, March 28, 2025
29.6 C
Kathmandu
Homeपालिका विशेषसिरानचोक –५ मा जडीवुटी भण्डारण तथा प्रशोधन इकाइ स्थापना हुने

सिरानचोक –५ मा जडीवुटी भण्डारण तथा प्रशोधन इकाइ स्थापना हुने

गोरखा, बुधबार, १० पौष २०८१ । सिरानचोक गाउँपालिका–५ मा जडीवुटी भण्डारण तथा प्रशोधन इकाइ स्थापना हुने भएको छ । नेपाल सरकारको स्वामित्व रहेको जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले इकाइ स्थापना गर्न लागेको हो ।

यो गण्डकी प्रदेशकै पहिलो इकाइ हुने बताइएको छ ।

डिपिआर तयार भएर जग्गा भोगाधिकार समेत प्राप्त भइसकेको कम्पनीकी महाप्रवन्धक संगिता यादवले बताइन् । ‘सो वडामा रहेको छाङखोला सामुदायिक वनको ०.८३ हेक्टर क्षेत्रफलमा इकाइ स्थापना गर्न लागेका हौ,’ उनले भनिन्, ‘जग्गा उपभोग गर्ने अधिकार नेपाल सरकारबाट प्राप्त भइसकेको छ ।’

गत असार १७ गते बसेको मन्त्रीपरिषदको बैठकले इकाइ स्थापना तथा संचालनका लागि सो क्षेत्रमा रहेको राष्ट्रिय वनको जग्गा भोगाधिकार दिने निर्णय गरिसकेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । सो जग्गामा रहेको बिभिन्न प्रजातिका २०६ वटा रुख÷पोल हटाउन समेत स्वीकृती दिएको कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । इकाइ स्थापना तथा संचालनका लागि वन तथा भू–संरक्षण बिभाग र कम्पनीबीच मंसिर १३ गते सम्झौता भएको उनले जानकारी दिए ।

इकाइको सम्भाव्यता अध्ययन गरेर ‘बिजनेस प्लान’ तयार भइरहेको कम्पनीकी महाप्रवन्धक यादवले बताइन् । उनका अनुसार डिपिआर तयार भइसकेको छ । इकाइ स्थापना तथा संचालनका लागि करिव आठ करोड खर्च लाग्ने उनको अनुमान छ । ‘यति नै खर्च लाग्छ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन तर भौतिक संरचना, मेसिनरी उपकरण सबै गरेर करिव आठ करोड खर्च लाग्छ होला । हामी बजेट प्लान पनि बनाउँदै छौं,’ उनले भनिन् ।

उक्त इकाइमा जडिवुटी संकलन, उत्पादन तथा प्रशोधनको काम हुने बताइएको छ । डिस्टिलेसन, एक्सट्रयाक्सन र डाइङ टेक्नोलोजी गरी तीन किसिमका यूनिट रहने र जडिवुटी उत्पादनदेखि प्रशोधनसम्मको काम हुने यादवले जानकारी दिइन् । आवश्यक जडिवुटी जंगलबाट संकलन गरिने र उत्पादनका लागि किसानहरुलाई पनि प्रोत्साहन गरिने उनले बताइन् ।

सबै उत्पादन इकाइले खरिद गर्ने गरी औषधीजन्य गुण भएका जडिवुटी खेतीका लागि किसानलाई बिउ वितरण गर्ने कम्पनीको योजना छ । बाँदरले दुख नदिने अदुवा, वेसार लगायतका खेतीका लागि प्रोत्साहन गरिने यादवले बताइन् । छिट्टै वन कार्यालयमा बिजनेस प्लान पेश गरेर संरचना निर्माणको काम अघि बढाउने तयारी कम्पनीको छ । इकाइ स्थापना भएसँगै धेरैका लागि रोजगारको अवसर पनि हुने बताइएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको