Friday, March 28, 2025
29.6 C
Kathmandu
Homeपालिका विशेषशहिद लखन गाउँपालिकाको पुँजीगत खर्च १६.०९ प्रतिशत

शहिद लखन गाउँपालिकाको पुँजीगत खर्च १६.०९ प्रतिशत

गोरखा, बिहीबार, ११ पौष २०८१ । चालु आर्थिक बर्षको आधा अवधि सकिँदैछ । यो अवधिसम्म जिल्लाका स्थानीय तहहरुको पुँजीगत खर्च ज्यादै न्यून देखिएको छ । आर्थिक बर्ष २०८१/०८२ समाप्त हुन पाँच महिना पनि बाँकी छैन, यो अवधिमा पुँजीगत खर्च भने कुल बजेटको एक चौथाई पनि हुन सकेको देखिदैन ।

विवरण उपलब्ध भएका पालिकाहरुमध्ये सबैभन्दा धेरै खर्च शहिद लखन गाउँपालिकाको देखिएको छ । सो पालिकाको पुँजीगत खर्च १६.०९ प्रतिशत रहेको छ । कुल १५ करोड १९ लाख पँजीगत बजेटमध्ये हालसम्म २ करोड ४४ लाख मात्र खर्च भएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताउनु भयो । चालु तर्फको खर्च भने २०.६८ रहेको उनले जानकारी दिए । उनका अनुसार चालुतर्फको कुल ४८ करोड १९ लाख रकममध्ये ९ करोड ९६ लाख खर्च भएको छ ।

सबैभन्दा कम धार्चे गाउँपालिकाको ०.९२ प्रतिशत पुँजीगत खर्च रहेको छ । १७ करोड ७५ लाखमध्ये हालसम्म १६ लाख ४७ हजार मात्र खर्च भएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए । चालुतर्फको खर्च प्रतिशत भने २१.७४ रहेको उनले जानकारी दिए । उनका अनुसार चालुतर्फको ३२ करोड ४ लाखमध्ये ६ करोड ९६ लाख खर्च भइसकेको छ ।

भीमसेन थापाको पुँजीगत खर्च ७.१३ प्रतिशत रहेको छ । पुँजीगतपर्फको १७ करोड १४ लाख बजेटमध्ये १ करोड २२ लाख खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । चालुतर्फ भने २४.७९ प्रतिशत बजेट खर्च भएको उनले जानकारी दिए । उनका अनुसार यो बर्ष चालु तर्फ ४२ करोड ४६ लाख रकम विनियोजन भएको छ ।

बारपाक सुलिकोटले ३.७९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । यस बर्षको पँजीगत बजेटमध्ये ५८ लाख २० लाख मात्र खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए । चालु तर्फको खर्च भने २४.५९ प्रतिशत रहेको उनले जानकारी दिए ।
पालुङटार नगरपालिकाको पँजीगततर्फको खर्च ३.५२ प्रतिशत रहेको छ ।

२७ करोड ९८ लाख ४० हजार बजेटमध्ये हालसम्म ९८ लाख ५४ हजार मात्र खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । चालुतर्फ भने २३ प्रतिशत खर्च भएको उनले जानकारी दिए । उनका अनुसार चालु तर्फको कुल रकम ५९ करोड ८ लाख ९० हजार रहेको छ । जसमध्ये १३ करोड ५८ लाख खर्च भइसकेको छ । गोरखा नगरपालिकाको हालसम्म पुँजीगत तर्फ २.७५ र चालुतर्फ २३.६७ प्रतिशत रकम खर्च भएको छ ।

चुमनुव्री गाउँपालिकाको पनि पुँजीगत खर्च २.७ रहेको छ । चालु आव पालिकाको पुँजीगत तर्फको बजेट १५ करोड ७० लाख रहेको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । जसमध्ये हालसम्म ४२ लाख ११ हजार खर्च भएको उनले जानकारी दिए । उनका अनुसार चालुतर्फको खर्च भने १४.७५ प्रतिशत रहेको रहेको छ । चालु तर्फ यो बर्ष २४ करोड ९६ लाख रकम विनियोजन भएकोमा हालसम्म ३ करोड ६८ लाख खर्च भएको लामिछानेले बताए ।

आरुघाट गाउँपालिकाको हालसम्मको पुँजीगत खर्च १.९४ प्रतिशत रहेको छ । ‘पुँजीगततर्फ यो बर्ष १७ करोड ३२ लाख रकम छ,’ प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले भने, ‘हालसम्म ३३ लाख ५१ हजार खर्च भएको छ ।’ चालुतर्फको खर्च भने २३.८६ प्रतिशत रहेको उनले बताए । चालुतर्फको ४२ करोड ६५ लाख रकममध्ये १० करोड १७ लाख खर्च भएको उनले जानकारी दिए ।

सिरानचोक, गण्डकी र अजीरकोट गाउँपालिकाबाट भने तथ्यांक प्राप्त हुन सकेन ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको