गोरखा, मंगलबार, ८ माघ २०८१ । यसअघि तीन पटक राष्ट्रपति रनिङशिल्डको उपाधि जितिसकेको सिरानचोक गाउँपालिकाले चौथो पटक उपाधि हात पारेको छ । सोमबार पालुङटारमा सम्पन्न १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पनि सिरानचोकले हात पारेको हो ।
तीन पटक उपाधि विजेता बनेसँगै रनिङ शिल्ड पनि सो पालिकाले आफ्नो बनाइसकेको छ । सोमबार भएको फाइनल खेलमा ७ स्वर्ण, ९ रजत र ३ कास्य गरी कुल १९ पदक जित्दै सिरानचोक उपाधि विजेता बनेको हो । यसअघि सम्पन्न ८ औं, १० औं र ११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि सिरानचोक उपाधि विजेता बनेको थियो । प्रतियोगिताको १२ औं संस्करणमा पनि पुनः सिरानचोक नै उपाधि विजेता बनेको हो ।
यस्तै, प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ८ कास्य गरी २० पदकसहित पालुङटार नगरपालिका दोस्रो बनेको छ भने ५ स्वर्ण, ४ रजत र ३ कास्य गरी १२ पदक जित्दै भिमसेनथापा गाउँपालिका तेस्रो बनेको छ । प्रतियोगितामा गोरखा नगरपालिकाले २ स्वर्ण, २ रजत र २ कास्य, सहिदलखन गाउँपालिकाले ३ कास्य र गण्डकी गाउँपालिकाले ४ स्वर्ण, १ रजत र ४ कास्य पदक हात पारेको छ ।
यसैगरी, बारपाक सुलिकोट गाउँपालिकाले ३ स्वर्ण, ४ रजत र ३ कास्य, चुमनुब्री गाउँपालिकाले २ कास्य, धार्चे गाउँपालिकाले १ रजत र आरुघाट गाउँपालिकाले १ कास्य पदक प्राप्त गरेको छ । अजिरकोट गाउँपालिकाले भने ३ स्वर्ण, ३ रजत र ४ कास्यपदक हात पारेको आयोजकले जानएको छ ।
जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा पालुङटार नगरपालिकाको सहआयोजनामा शनिबारबाट प्रतियोगिता सुरु भएको हो । तीन दिनसम्म संचालन भएको जिल्ला स्तरीय प्रतियोगिता पालुङटारस्थित भवानी मावि, माझटार खेलमैदानमा संचालन गरिएको थियो ।
जिल्लाका ११ वटै स्थानीय तहहरुले प्रतियोगितामा सहभागिता जनाएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कृष्णसिँह बस्नेत (शान्तसिँह)ले बताए । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्शल आर्टस् विधामा प्रतिस्पर्धा भएको उनले जानकारी दिए । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।