गोरखा, बिहिबार, १७ माघ २०८१ । गोरखाको धार्चे गाउँपालिका वडा नं ३ खोर्लाबेसीमा हरेक वर्षहरुमाझैँ यो वर्ष पनि ऐतिहासिक तातोपानी मेला सुरु भएको छ । लार्के मनास्लु युवा क्लबको आयोजना तथा मालकान्दि महिला समूहको सहआयोजनामा मेला सुरु भएको हो । मेलाको बुधबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले उद्घाटन गरेका हुन् ।
‘अग्रज स्रष्टा र खेलाडीको सम्मान, कला संस्कृति, कृषि तथा पर्यटन प्रवद्धन हाम्रो अभियान’ भन्ने मुल नारासहित माघ १९ गतेसम्म चल्ने मेलाको मुख्य आकर्षण भलिबल प्रतियोगिता रहेको क्लबका अध्यक्ष रोशन गुरुङले बताए । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ ।
भलिबल प्रतियोगिताको उपाधि जित्ने टिमले रु एक लाख नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्तगर्ने छन् । द्वितीयले ५० हजार र तृतियले ४० हजारको साथमा शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ ।
यस्तै मेलाामा लोक दोहोरी प्रतियोगिता र महिला समूह खुल्ल नृत्य प्रतियोगिता पनि हुने उनले जानकारी दिए । दुबै प्रतियोगिताको प्रथम, द्वितीय र तृतियले क्रमश १५ हजार, १० हजार र ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै मेलामा खुल्ला लोक नृत्य प्रतियोगिता पनि हुने भएको छ । प्रतियोगितामा प्रथमले ६ हजार, द्वितीयले ४ हजार र तृतीयले २ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
धार्चेको स्थानीय कृषि उत्पादन तथा पर्यटन क्षेत्र प्रवद्र्धन गर्ने उद्देश्यले कृषि प्रर्दशनी पनि आयोजना गरिएको अध्यक्ष गुरुङले बताए । कृषि प्रर्दशनीको उत्कृटलाई विशेष पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । वर्षौंदेखि चल्दै आएको तातोपानी मेलासंग थुप्रै धार्मिक एवं संस्कृतिक महत्व जोडिएका छन् । उक्त परम्परागत संस्कृति र चालचलनहरुलाई निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए ।
पाँच दिनसम्म चल्ने मेलामा करिब १२ हजार मानिसहरुले अवलोकन गर्ने बताएको छ । बारपाक, लाप्राक, गुम्दा, सिर्दिबास, लापु, केरौँजा, काशीगाउँलगायत गोरखा सहित विभिन्न जिल्लाका अवलोकनकर्ता मेला अवलोकन गर्ने अध्यक्ष गुरुङले बताए ।
मेलाको अवसर पारेर आउने मानिसहरु एकआपसमा मित/मितिनी लगाउने चलन छ । वर्षेनी हुने मेलाको अवसरमा मेला हेर्न आउनेहरुले मित लगाउने गर्छन् ।
तातोपानी मेलालाई मित लगाउने मेला भनेर पनि चिनिन्छ । यो चलन त्यहाँको धार्मिक एवं सांस्कृतिक महत्व बोकेको संस्कृति हो । तर, बिस्तारै मीत लगाउने प्रचलन हट्दैँ गएको छ । सोही परम्परा जोगाउनका लागि पनि मेलाको आयोजना गरिएको आयोजकले बताएको छ ।
तातोपानी मेलामा जुवातास खेल्न नदिनका लागि, तथा मादक पदार्थ सेवन गरी झै झगडा हुन सक्ने हुँदा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने गरिएको छ । सुरक्षाकर्मीको साथ र सहयोगले मेला व्यवस्थित हुने आयोजक क्लबले जनाएको छ । मेलाको पहिलो दिन राजु परियार, आशा बि.सी, पृथ्वी गुरुङ, लक्ष्मी गुरुङलगायत कलाकारहरुको प्रस्तुती रहेको थियो । मेला अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष रोशन गुरुङको सभापतित्व तथा गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधान सभा सदस्य तथा राष्ट्रिय सदस्य छमबहादुर गुरुङ, गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङ, चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङ, वडा नं. ३ का वडाध्यक्ष शेरबहादुर गुरुङ, जिल्ला भलिबल संघका अध्यक्ष कृष्ण गुरुङलगायतको उपस्थिती रहेको थियो ।