गोरखा, बुधबार, २३ माघ २०८१ । तुलसी घिमिरेको निर्देशन रहेको चलचित्र ‘पहाड’ को शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । मंगलबार बिहान गोरखा दरबारमा पूजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले मूहुर्त सट दिनुभएको थियो । चलचित्रका सुटिङ गोरखा र आसपासमा २५ दिन चल्नेछ । त्यस्तै चलचित्रको छायांकन १५ दिन भने भारतका विभिन्न क्षेत्रमा हुने जनाइएको छ ।
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्याको कथावस्तु रहेको चलचित्रको लेखन निर्देशक घिमिरेकै हो । अहिलेको समाजको तीतो यथार्थलाई चलचित्रमार्फत दर्शकसमक्ष पु¥याउन खोजिएको घिमिरेले बताउनुभयो ।
ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले छायांकन गरिरहनुभएको छ । भारतमा चलचित्र, वेब सिरिज र टेलीफिल्मसमेत छायांकन गरिसक्नुभएका छायांकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा पनि सहकार्य गर्नुभएको थियो ।
भाग्यरत्न फिल्मस् प्रालिको व्यानरमा निर्माण भइरहेको यो चलचित्रमा विपीन कार्की, सुनिल थापालगायतका कलाकारको अभिनय छ । यसमा रञ्जित गजमेर संगीत निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्देशक रहनेछ ।
रिम्पोछे लामा थिंग र सुरेश लामा थिंग सहनिर्माता रहेको चलचित्र नेपालमा बैंकटेस इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । पछिल्लो फिल्म ‘दर्पणछायाँ-२’ पछि केही समय विश्राम लिनुभएका निर्देशक घिमिरेले ‘पहाड’मार्फत फेरि दर्शकमाझ आउँदै हुनुहुन्छ ।