ललितपुर, शुक्रबार, २५ माघ २०८१ । लक्जरी इभेन्ट्स एण्ड ईन्टरटेन्मेन्ट प्रा लि को आयोजनामा ‘ममी’ को च्यारिटी शो हुने भएको छ । माघ २६ गते शनिबारका दिन दिउसो २ बजे रानीपोखरीमा अवस्थित बिश्वज्योति सिनेकम्प्लेक्समा ‘ममी’ को च्यारिटी शो हुने लक्जरी इभेन्ट्स एण्ड ईन्टरटेन्मेन्टका अध्यक्ष पुजा रेग्मीले बताउनु भयो ।
समर निरौला निर्देशित फिल्म ‘ममी’ मा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, आयुषी ढकाल लगायतको अभिनय छ । घरपालुवा कुकुर मारेपछि कालो बिरालोलाई घरमा ल्याइँदा सो घरमा हुने रहस्यपूर्ण घटनाको कथावस्तुमा फिल्म बनेको छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको ‘ममी’ फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ । समर डेब्यू निर्देशक हुन् । फिल्मको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
फिल्मको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्वन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।
फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गरेको हो ।
फिल्म ‘ममी’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।