काठमाडौँ, मंगलबार, २९ माघ २०८१ । नेपालबाट जापानमा दक्ष केयरगिभर जनशक्ति लैजाने बाटो खुल्दै गएको छ । सोमबार काठमाडौंमा नेपाल र जापानका विभिन्न संस्थाहरुले यसबारेको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालमै भाषा र सीप सिकाएर जापानको केयरगिभर क्षेत्रमा लाने र पाँच वर्ष काम गरेर फेरि नेपालमै वा अरु देशमा त्यही काम गर्नसक्ने दक्ष जनशक्ति तयार गर्ने योजनासहित भएको सम्झौता आज विभिन्न संस्थाहरुले आदानप्रदान गरेको बताएका छन् ।
जापानको तर्फबाट जेनकाउ रिसर्च इस्टिट्युट, कोजाइके कोसान, प्रोगेसिफ स्टाफ एजेन्सी र नेपालको तर्फबाट काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिन साइन्स, सन एन्ड कम्पनी र सन्दिपनी ग्रुप अफ कम्पनिज्ले हस्ताक्षर गरेका थिए ।
सोही क्रममा जापानमा केयरगिभर भएर जाने तयारीमा रहेका दुई नेपाली नितिसा चलाउने र मोनिका गुरुङ पनि उपस्थित भएका थिए । जापानका ती कम्पनीहरुका प्रतिनिधिहरुले जापानमा २५ हजारसम्म नेपालीहरु केयरगिभरमा जाने बाटो खुला भएको बताए ।
आगामी सात वर्षमा जापानको बुढ्यौली जनसंख्यालाई दश लाख केयरगिभर चाहिने भन्दै दक्षिण एसियाका नेपाल, भारतलगायतका देशहरुबाट लगिने जापानी प्रतिनिधिहरुले बताए । अहिले पनि विभिन्न देशका ५० जना विदेशी केयरगिभरको रुपमा आफ्नो कम्पनीमा जोडिएको वक्ताहरुले बताए ।
कार्यक्रममा बोल्दै नेपाली वक्ता डा. विशाल ढकालले जापानको समस्या बुढ्यौली र केयरगिभर अभाव भएर समाज र सरकारलाई समस्या भएको बताए । नेपालको समस्या जागिर र जागिरको दक्षता नभएर आर्थिक क्षेत्रमा असर गरेको उनको भनाइ छ ।
जापान र नेपालका समस्या एक-अर्काबाट सामाधान गर्न केयरगिभर कार्यक्रम महत्वपूर्ण हुने डा. ढकालले बताए । उनले भने, ‘अब सीप नभएका अदक्ष कामदार होइन, दक्ष र सीपयुक्त कामदारहरु जापानमा केयरगिभरको रुपमा लैजान सकिन्छ ।’