Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeसाहित्यनेपाली कलासाहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान एवं पुरस्कार प्रदान

नेपाली कलासाहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान एवं पुरस्कार प्रदान

काठमाडौँ, मंगलबार, २९ माघ २०८१ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा साहित्य, कला, संस्कृति, संगीत तथा पत्रकारिता विधाका विभिन्न ६ जना स्रष्टा सम्मानित तथा पुरस्कृत भएका छन् । प्रतिष्ठानद्वारा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत भएका हुन् । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ लोकसंस्कृतिविद् तथा कवि तुलसी दिवसले सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तथा शिक्षासेवी प्राडा.वीणा पौड्याललाई राष्ट्रिय कलाश्री सम्मान अर्पण गरिएको थियो । यसैगरी राष्ट्रिय कलाश्री पुरस्कार कवि तथा साहित्यिक अभियन्ता विश्वविमोहन श्रेष्ठलाई अर्पण गरिएको थियो । राष्ट्रिय कलाश्री पुरस्कारको राशि ताम्रपत्रसहित एक लाख रुपैयाँ छ ।

यसैगरी स-सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक चन्द्र गुरुङलाई अर्पण गरिएको थियो । बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार लेखक तथा पत्रकार वसन्त बस्नेत, थिरछायाँ राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रयोगवादी युवा चित्रकार सुनिल सिग्देल र पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार लोकगायक कमलीकान्त भेटवाललाई दिइएको छ ।

राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स-सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपैयाँ, थिरछायाँ कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपैयाँ र अन्य पुरस्कार ताम्रपत्रसहित ५०-५० हजार रुपैयाँ राशि छ ।

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले कलासाहित्यले राष्ट्रिय भाव प्रसार गर्न सक्नुपर्ने बताउनुभयो । ‘कला साहित्यले राष्ट्रिय भाव प्रसार गर्नसक्नुपर्छ । अहिले त्यो भावना घटेर ‘म’ मा बढ्ता सीमित भएको छ । तर संस्थागत रूपमा गरिने क्रियाकलापलाई हामीले प्रोत्साहन गर्नुपर्छ’, उहाँले भन्नुभयो । मौलिक राष्ट्रिय भावनाका लागि योगदान दिनु नै कला साहित्यको मूल ध्येय हुनुपर्ने पूर्वसचिव विमल कोइरालाले बताउनुभयो ।

संस्थाकी अध्यक्ष मोमिलाले साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा अझै उचाई बढाउनुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो सम्मानको विरासत र वर्तमानले साहित्य लेखनलाई अझै उचाइमा लैजान सकोस्, संस्कृति र कलाको क्षेत्रमा अझै महत्वपूर्ण योगदान गर्न सकोस् भनेर हामीले पारदर्शिता र निष्पक्षता राख्न सकेका छौं’, उहाँले भन्नुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ कवि राजेश्वर कार्कीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको उद्देश्य र समग्र गतिविधिबारे प्रकास पार्नुभएको थियो । कार्यक्रममा कार्यक्रममा युवा समालोचक महेश पौडेलले सम्मानित तथा पुरस्कृत स्रष्टाहरूको विस्तृत परिचय राख्नुभएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार शंकरप्रसाद कोइराला, प्राडा.गोविन्दराज भट्टराई, लेखकहरू भागिरथी श्रेष्ठ, उषा शेरचनलगायत सहभागी हुनुहुन्थ्यो । प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू विगत १६ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको