Sunday, March 16, 2025
14.1 C
Kathmandu
Homeइतिहासविर योद्धा जयसिंह चुमी राना मगर

विर योद्धा जयसिंह चुमी राना मगर

काठमाडौँ, मंगलबार, २९ माघ २०८१ । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, मानव अधिकार तथा कानुनी राज्य स्थापना लगायत सबै खाले सामन्तवादका विरुद्धमा गरिएका हरेक आन्दोलनमा सहभागी हँुदै हाँसी हाँसी जीवनको वलिदान दिने ती महान् सहिद हुन्, जय सिंह चुमी राना मगर । उहाँको जन्म गोरखा जिल्ला शहिद लखन गाउँपालिका वडा नं. ७ साविक बुंकोट गाविस वडा नं ४, काहुले भंगारमा सामान्य चुमी परिवारमा भएको थियो । काहुलेमा जन्म भएको चुमी मगर र लखन थापा मगर घनिष्ट साथी थिए ।

जयसिंह चुमीको सालिक निर्माण भएको विद्रोही किल्ला परिसर(काहुले भङगार) मा युद्ध किल्ला, जनसेनालाई युद्धकला सिकाउने परेड मैदान, मनकामना माईको थान, खानेपानी र जल व्यवस्थापनको लागि ढुङगे धारासहितको पानी पोखरी र विद्रोही मुख्यालय दरबार निर्माण गरिएको छ ।

राणा शासनको अन्त्य र प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि भएको प्रथम जनविद्रोहमा गठित जनसरकारका प्रमुख प्रथम सहिद लखन थापा थिए भने जयसिंह चुमी मगर जनरल(सेनापति) थिए ।

सेनामा रहँदा राणा शासकहरुले नेपाली जनतामाथि गरेको अन्याय, अत्याचार, थिचोमिचो र निरंकुशताको प्रत्यक्ष अनुभव गरेकाले उनीभित्र राणा शासन विरोधी भावनाको विकास हुन पुग्यो । जसको कारणले वि.स. १९२७ मा सेनाको जागिर छाडी उनी राणा शासन विरुद्ध जनविद्रोही अभियानमा सक्रिय भए । सोहि कारणले उनलाई राणा प्रधानमन्त्रीले जंगबहादुर राणाको आदेशमा वि.सं. १९३३ फागुन २ गते गोरखा जिल्ला अन्तरग बुङ्कोटको काहुलेभँगारमा निर्मित विद्रोही किल्ला परिसरभित्र खिर्राको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

त्यतिबेला नेपालमा सर्वसाधाराण जनताले औपचारिक शिक्षा हासिल गर्नको लागि कुनै पनि व्यवस्था थिएन । विसं १९१० मा मात्र नेपालको पहिलो शिक्षालयको रुपमा दरबार स्कुल स्थापना भएको थियो । त्येतिबेला नेपालको दुर्गम ठाउँको त कुरै छाडौ राजधानीमा समेत सर्वसाधारण जनताको निम्ति शिक्षा आर्जनको लागि कुनै व्यवस्था थिएन । उच्च वर्गीय र राणा परिवार भित्र भने शिक्षालाई बन्देज गरिएको थिएन । त्यसैले साधारण ग्रामीण परिवारमा जन्मेका चुमी मगरले औपचारिक शिक्षा भने लिन पाएनन् ।

ग्रामीण परिवेशमा सामान्य रुपमा उनको बाल्यकाल बित्यो । सानैदेखि स्वाभिमानी, ईमान्दारी र मिलनसार चुमी युवा अवस्थामा नेपाली सेनाको पुरानो गोरख पल्टनमा भर्ना हुन पुगे । बाल्यकालका साथी लखन पनि सोही पल्टनमा भर्ना भएका थिए । उनीहरुबीचको मित्रता निकै घनिष्ट थियो । लखन र चुमी राना एउटै गाउँ र पल्टनमा रहेको कारण हरेक कुरामा एक आपसमा सरसल्लाह गर्थे ।

सैनिक अवस्था
सहिद चुमी राना पुरानो गोरख गण नामक पल्टनमा भर्ति भएका थिए । गोरख गण पुरानो ऐतिहासिक महत्व बोकेको मगर पल्टन थियो । पृथ्वीनारायण शाहले स्थापना गरेको गोरख गण नामक मगर पल्टनमा सबभन्दा तल्लो दर्जा सिपाहीमा भर्ती भई क्याप्टेन जस्तो माथिल्लो दर्जामा पुगेका थिए, चुमी । उनी र लखन दुवैमा तेज बुद्धि, अस्त्र–शस्त्र चलाउन सक्ने र साहसी भएकै कारणले कलिलै उमेरमा उच्च पद प्राप्त गरेका थिए । उनी सो पल्टनमा विसं १९२५ मा (३१÷३२ वर्षको उमेरमा) क्याप्टेन पदमा थिए, जुन दर्जा लखनको र उनको एकै र सँगै भएको थियो ।

ईसं १८५७ सालमा भारतमा अंग्रेज उपनिवेश विरुद्ध सिपाही विद्रोह भएपछि नेपालबाट २६ नेपाली पल्टन जाँदा चुमी राना आफ्नो पुरानो गोरख पल्टनसँगै भारत पुगेका थिए । त्येतिबेला जंगबहादुरको आदेशमा पुरानो गोरख पल्टन भारतको लखनउमा खटिएको थियो । भारतीय जनताको स्वतन्त्र बन्ने चाहना विरुद्ध नेपाली सेना परिचालन गरेर जंगबहादुरले दुरुपयोग गरिरहेको चुमीलाई बोध भयो । फलत लखन थापा र चुमीबीच जंगबहादुरको निरंकुशता विरुद्ध विद्रोह गर्ने सवालमा पटकपटक छलफल हुन् थाल्यो ।

विसं १९२७ सालमा चुमी राना र लखन थापा ३ महिनाको बिदामा घर आएका थिए । दुवै जना गोरखा बुंकोट काहुले तर्फ लागे । चुमी रानाको घर काहुले भंगार पुगी बसे । जंगबहादुर श्री ३ महाराज प्रधानमन्त्री भइसकेको अवस्थामा राणा शासनको कठोर शासन व्यवस्था, जनता माथि गरिएको अत्याचार, दमन र शोषण विरुद्ध अन्त्य गर्नुपर्छ भन्ने धारणा थियो । अन्यायका विरुद्ध हतियार उठाउन ज्यानैसमेत अर्पण गर्न पछि नपर्ने चुमी युद्धको मैदानमा उत्रिन तयार भए । आफ्नो घरसँगै जोडिएको लखन थापाको घडेरी काहुलेमा भव्य दरबारको निर्माण गरी विद्रोह सुरु गरे ।

विद्रोह र संलग्नता
तत्कालीन समयमा राणा परिवारका सदस्यमात्र वंशाणुगत रुपमा रोलक्रम अनुसार प्रधानमन्त्री बन्ने शासन थियो । त्यतिबेला राणा शासन ज्यादै शक्तिशाली र निरंकुश थियो । जंगबहादुरले जे बोले, जे गरे त्यही नै कानुन सरह हुन्थ्यो । राणा कै हुकुमी शासन चल्थ्यो । अहिले कानुनभन्दा माथि कोही हुँदैन भन्ने भनाई यथार्थपरक छ तर त्यतिबेला राणाहरु कानुनभन्दा माथि थिए । यस्तो शासन व्यवस्थाको कुनै पनि हालतमा अन्त्य गर्नुपर्छ भन्ने चुमीको मनमा लाग्यो ।

जसको निम्ति प्रथम सहिद लखन थापाले लिएको साहसमा जुनसुकै कठिनाईमा पनि साथ र सहयोग दिन चुमी हर कदम तयार थिए । लखनको नेतृत्वमा गोरखाको साविक बुंकोट काहुले भंगारमा २ हजार जति युवाको फौज बनाएर फौजका लागि आवश्यकपर्ने टुडिखेल, तालिम संचालन गर्ने ठाउँ, तारो हान्ने ठाउँ, खाने, बस्ने आदि बन्दोबस्त मिलाए ।

चारै तिरबाट बलियो किल्लाले घेरी दरबारको निर्माण गरे । दरबारको अगाडि प्रतिकात्मक मनकामनाको मन्दिर निर्माण गरे । उक्त मन्दिरमा गोरखनाथ, गोरखकाली लगायतका देवीदेवतालाई भित्र्याए । मन्दिरको दक्षिणतर्फ ढुंगे धारा र एउटा पानी पोखरीसमेत निर्माण गरे । सेनाका लागि तलब–भत्ता र हातहतियारको रुपमा ६० नाल बन्दुक र ठूलो संख्यामा तरबार, खुडा, कतरी, भाला, धनुकाड, शोला, छुरी र डण्डीहरुको व्यवस्था गरे । दरबारमा धेरै सैनिक भर्ना गराए । जसमध्ये धेरै चनाखो, साहसिक र बहादुरी देखाउन सक्ने लखन थापाको घनिष्ट मित्र एवं सहयोद्धा चुमी रानालाई सबै दरबार सम्हाल्न दिइयो । चुमी पूर्व सेना भएकोले सैन्य प्रशिक्षण गराउन सहज बन्यो ।

जंगबहादुरको क्रुर र निरंकुश शासनको विरुद्ध धार्मिक शक्तिको आडमा लखन थापाले राजनीतिक संगठन गरेका थिए । उनले चुमी रानालाई विसं १९२७ देखि नै सैन्य संगठन गर्न जनरलको पदावी दिएको थियो । त्यहीदेखि आन्तरिक मिलिसिया तयार गर्ने काम प्रारम्भ भएको थियो । बाह्य रुपमा संगठनलाई जोसमनी मतका सन्त संगठन भन्ने प्रचार गरियो तर भित्रभित्रै जंगबहादुर विरोधी क्रियाकलापको तयारी हुन्थ्यो ।

विसं १९३२ तिर सम्पूर्ण विद्रोहीको आग्रहमा राजद्रोही सरकार खडा गरी त्यसको मुख्तियार (प्रधानमन्त्री) आफै भए र चुमी रानालाई सेनाको प्रधान सेनापति बनाइयो (लखन थापा मगर राजा र जय सिंह चुमी राना मगरलाई मन्त्री बनाएको भन्ने भनाई पनि पाइन्छ) । राणाले जनतामाथि गरेको शोषणप्रति लखन थापाको नेतृत्वमा निर्माण भएको विद्रोह किल्लाका २ हजार सेना मध्ये सेनाको प्रधान सेनापति र जनताको आग्रहमा राजद्रोही सरकारको मन्त्री जस्तो स्थानमा रही आफ्नो स्वार्थको लागि नभएर सिंगो देश र जनताको लागि जीवन वलिदान गर्ने महान् व्यक्ति चुमीले ठूलो योगदान र सहयोग दिएको छ । चुमीको योगदान बिना प्रजातन्त्रको सुरुआत असम्भव थियो ।

फाँसी र दमन
विसं १९३२ सालमा सम्पूर्ण विद्रोही जनसमुदायले राजद्रोही सरकारको सेनापतिमा चुमी रानालाई घोषणा गरी जनताद्धारा घोषित पहिलो वैकल्पिक विद्रोह गर्‍यो । तत्कालीन समयमा सर्वजित थापा क्षेत्री पिपलथोकमा बसी गोरखाको मुद्दामामिला हेर्थे । उनले गोरखाको बुंकोटमा जंगबहादुरको शासन सत्ता विरुद्ध लखन थापाको नेतृत्वमा सशस्त्र जन विद्रोहको तयारी भइरहेको उजुरी जंगबहादुर समक्ष जाहेर गरे । सूचना पाएपछि जंगबहादुर क्रुद्ध भए ।

उनले लखन थापा र उनका सहयोद्धा चुमी रानालाई पक्रेर काठमाडौं ल्याउन भनी कान्छा भाइ धीर शमशेरलाई आदेश दिए । आदेश बमोजिम देविदत्त पल्टनका सैनिक गोरखा पुगी विद्रोह किल्लालाई चारैतिरबाट घेराहाले । देविदत्त पल्टन र विद्रोही सेनाबीच भिडन्त भयो । भनिन्छ, त्यो विद्रोहमा दवाउन धीर शमशेरलाई पनि हम्मे–हम्मे परेको थियो । अन्तमा विद्रोहीहरु पक्राउ परे । उनीहरुलाई बासको पिंजडामा कैद गरी यातनापूर्वक काठमाडौं पुर्‍याइयो ।

विद्रोही विरुद्ध थापाथली दरबारमा मुद्दा चलाइयो । साथै वर्वरतापूर्वक कोर्रा हानी ठूलो यातना दिइयो । चुमी राना र मित्र लखन थापालगायत सहयोगीलाई गोरखा बुंकोट काहुले भंगार स्थित उनीहरुकै किल्ला परिसरको मनकामना मन्दिर अगाडि स्थानीय जनसमुदायको उपस्थितिमा झुन्ड्याएर मार्ने फैसला भयो । तर राणा शासक सामु उनीहरु झुकेनन् । देविदत्त पल्टनका सैनिकले मृत्युदण्ड सुनाएका विद्रोहीलाई गोरखा पु¥याए । साहसी चुमी राना देश र जनताको निम्ति वलिदान दिन तयार भए । विसं १९३३ फागुन २ गते गोरखा बुंकोट काहुलेको आफ्नै किल्ला परिसर भित्र मनकामना मन्दिर अगाडिको बेलौती (अम्बा) को रुखमा चुमीलाई र दायाँतर्फ खिर्राको रुखमा लखन थापालाई झण्डयाएर मृत्युदण्ड दिइएको थियो ।

मुत्यु पछि चुमीका सन्तानलाई पनि सखाप पार्नुपर्छ भनी राणाद्धारा उनीहरुको खोजी भयो । खोज तलास चल्न थालेसँगै तत्काल उहाँका छोरा अजव सिंह चुमी करिब ६÷७ महिनाको शिशु अवस्थामै मामाघर रानाहरुकोमा लुकाउनको निम्ति साविक घैरुङ रानीस्वारा हाल सहिद लखन गाउँपालिका वडा नं. ६, लगे । त्यहाँ पनि पक्रने त्रासले मामालीले नजिकैको जंगलमा रहेको झाक्री पहाडमा लगी लुकाएर राखे । यसरी मामालीले धेरै समयसम्म उज्यालो नहुँदै सो झाक्री पहाडमा लाने र बेलुकी आफ्नो घरमा ल्याइ राख्ने गर्थे । अजव सिंह करिब १६÷१७ वर्षको उमेरमा विरोधीप्रति प्रतिरोध गर्न सक्ने क्षमता र बुझ्ने भए पश्चात् पुन आफ्नै जन्मथलो काहुले आइ बसोबास सुरु गरे ।

सहिद घोषणा गर्नुपर्ने कारण
सामरिक क्षमता, योग्यता, अनुभव, नेतृत्व र कामण्ड गर्न सक्ने सिप भएको १ साहसिक तथा प्रतिभाशाली मगरको छोरा चुमी राना कुनै जात, धर्म, वर्ण, लिंङ, व्यक्ति वा समुदायका निम्ति वलिदान दिएका थिएनन् । शोषित, पीडित, थिचो–मिचो, एवं उत्पीडनमा पारिएका जनताको स्वतन्त्रता तथा हक–अधिकारको सुरक्षा गर्नको लागि उनी सशस्त्र विद्रोहमा होमिएका थिए । सिंगो देश र जनताका लागि आफ्नो प्राणको आहुती दिए । यो ऐतिहासिक घटना हो । राष्ट्र निर्माणको क्रममा वीर पुर्खाका वलिदान निपूर्ण भावनाको माध्यमद्धारा समाजलाई समयको प्रवाह र जनताको चाहना अनुरुप अगाडि बढ्नको निमित्त राष्ट्रको विर सपुत जय सिंह चुमी रानाले पु¥याएको योगदानलाई बिर्सन सकिन्न । देश र जनताको स्वाभिमान तथा प्रजातन्त्र प्राप्तीका लागि चुमीको ठूलो योगदान छ ।

प्रजातन्त्रको पे्ररणाको स्रोत मानिने सपुत प्रथम सहिद लखन थापा मगरका कर्मठ सहयोद्धा मारिएको आज १ सय ४२ वर्ष भयो । यसबीच राज्य शक्तिमा धेरै परिवर्तन भयो । सहिद कसैलाई मार्न खोज्ने प्राणी होइन परन्तु मुलुकप्रतिको आस्था र विश्वासको निम्ति स्वयंले मृत्युवरण गर्न चाहेको मानिस हो । जसको आस्था र विचार कार्यको आधारमा सहिदले अमरत्व प्राप्त गर्छन्, चुमी रानाले आफै मृत्युवरण गरेका थिए । राणा शासकका सामु माफी मागेको भए सायद उनले मृत्युवरण गर्नुपर्ने थिएन, छुट पाउथे होला । त्यसैले चुमी रानालाई वीर सपुत आदर्श सहिदको श्रृंखलामा राखेर सरकारले औपचारिक रुपमा सहिद घोषणा गरी राष्ट्रिय सम्मान गर्नु राष्ट्रको साझा दायित्व हो ।

जसले देश र जनताका लागि वलिदान दियो, त्यस्ता व्यक्तिलाई अपमान गर्दै जो सत्तामा पुग्छ उसले आफू अनुकूल सहिदको परिभाषा बनाउँदै सहिद घोषणा गरिरहे । १८ हजारभन्दा बढी सहिदको सूचीमा जय सिंह चुमी राना मगर किन पर्न सकेनन् ? सरकारले सहिदप्रति असमान व्यवहार गरेको छ । सबैलाई समनुपातिक ढंगले जात, धर्म, वर्ण, लिंग, पार्टी नभनी सहिदप्रति उच्च सम्मान गर्दै, चुमी रानालाई सहिदको सूचीमा राख्न अनिवार्य छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको