Friday, March 28, 2025
29.6 C
Kathmandu
Homeपालिका विशेषगोरखा काहुले भंगार लखन किल्लामा प्रथम शहीद लखन थापाको १४८ औं स्मृति...

गोरखा काहुले भंगार लखन किल्लामा प्रथम शहीद लखन थापाको १४८ औं स्मृति दिवस मनाइदै

गोरखा, बिहीबार, १ फागुन २०८१ । गोरखाको शहिद लखन गाउँपालिकाको आयोजनामा प्रथम शहीद लखन थापा मगर तथा उनका सहयोद्धा जयसिंह चुमी राना मगरको १४८ औं स्मृति दिवस मनाउने भएको छ ।

स्मृति दिवस फागुन २ गते शुक्रबार गाउँपालिकाको वडा नं. ७, काहुले भंगारको लखन किल्ला परिसरमा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । साथै,अन्तर वडा दोस्रो शहीद लखन कप पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल हुने छ ।

पालिका भित्रका उत्कृष्ट कृषक पुरस्कार वितरण, शहीद तथा वेपत्ता परिवारहरु लाई सम्मानित् गरिनुका साथै विविध सांस्कृतिक झाँकी तथा बिभिन्न कार्यक्रमको आयोजना गरी प्रथम शहीद लखन थापा मगर तथा उनका सहयोद्धा जयसिंह चुमी राना मगरको १४८ औं स्मृति दिवस मनाइने पालिकाले जनाएको छ ।

प्रथम शहीद लखन थापा मगर
गोरखाको बुङ्कोटमा साधारण फौजी परिवारमा जन्मिएका लखन ‘पुरानो गोरख पल्टन’ का कुशल सैनिक थिए । परिस्थिति अनुसार सही कदम उठाउने खूबी भएकाले यिनी योग्य सैन्य अधिकारीमा गनिन्थे । तर‚ राणाहरूको एकाधिकार र पक्षपातले गर्दा यिनको उन्नयन भएन, पुर्खाहरूले झैं उच्च ओहोदा सम्हाल्न पाएनन् । त्यसपछि सैन्य सेवा त्यागेर राणाहरूको अराजकता र थिचोमिचो विरुद्ध जनस्तरबाटै लड्ने अठोट गरी आफ्ना विश्वासी मित्र जयसिंहसँगै बुङ्कोट फर्किए ।

प्रमोदशमशेरका अनुसार‚ योभन्दा अगाडि कसैले औंलो ठड्याउने साहस गर्न सकेको थिएन । लखन थापाको नेतृत्वमा जनताले गोरखामा खुला विद्रोह गरी निरङ्कुश र अधिनायकवादी सरकारलाई ललकारेका हुन् ।

गोरखाको समग्र इतिहासका जानकार दण्डपाणि अर्ज्याल (१९६३-२०४५)का अनुसार‚ श्री ५ सुरेन्द्रविक्रम शाहका समयमा जंगबहादुरले हुकुम लिएपछि गोरखाका भारदार राजनैतिक बौलाहा भए । जंगबहादुर गोरखा आउँदा गोरखालीहरू पस्लाङ चौतारामा जम्मा भई सभा गरी यिनको स्वागतै नगर्ने निधो गरेर बसे, स्वागत गरेनन् पनि । जंगबहादुर आएर कालिकाको दर्शन गर्न ढोका खोल्न आदेश गरे तर पाले, सुसारेले हुकुम छैन भने । कसको हुकुम छैन भनी जंगिन लाग्दा भगवतीको हुकुम छैन भनिदिंदा चुप लागे र ढोका खोल्न सकेनन् । …यसपछि गोरखादेखि चिढिएका हुँदा गोरखालीले जागिर नपाउने बनाइयो । वेख-विर्ता, माना-चामल हरण भए । उनका विश्वासीले मात्र जागिर पाए, यसरी गोरखाको नाकाबन्दी भयो र क्रमशः अवनति हुन लाग्यो। …

विसं १९३२ सालमा युवराज त्रैलोक्यविक्रमका आठपहरिया लखन थापाको नेतृत्वमा गोरखालीले जंगबहादुर उपर विद्रोह शुरू गरे । हातहतियार, खजाना जोडिंदै थियो। लखन थापालाई पक्रिएर गोरखाबजार ठूलो आँगनमा झुण्ड्याई साविती गराई हातहतियारको भण्डार पत्ता लगाए । लखन थापालाई उनकै घर भाङ्राभञ्ज्याङ बुङ्कोटमा लगी झुण्ड्याएर मारियो । त्यस बापत गोरखालीलाई दिइएको बकसबाट गोरखकालीलाई १९३३ माघ सुदी ८ मा (लखन थापाकै स्मृतिमा) घण्टा चढाइयो (गोरखाको ऐतिहासिकता, ज्ञानविन्दु, वर्ष-१, अंक-१,२०६४:पृ.११-१२, दण्डपाणि अर्ज्याल स्मृति केन्द, काठमाडौं)। 

त्यस वेलाको समाजमा रूढिवादी परम्परा र अन्धविश्वास व्याप्त थियो । दैवीशक्तिमा गहिरो आस्था राख्ने समाजलाई आकर्षित गर्न त्यही आस्थाको उपयोग गर्दै लखनले आफूलाई ‘प्राचीन कालका सिद्ध लखन थापाको अवतार’ बताउँदै ‘देवी मनकामनाले सपनामा जंगबहादुरलाई मारी त्यसको स्थानमा आफूलाई शासन गर्न अह्राएको’ प्रचार गरे। यसले प्रसिद्धि पायो। स्थानीयहरू बुङ्कोटमा भेला हुन थाले।

धर्मका नाममा फैलाइएको उँचनीच र छुवाछूत जस्ता कुरीति हटाउन लखनले जोसमनी विचारधारा अघि सारे । यो विचारले न्याय र समानतामा आधारित नयाँ समाजको निर्माण गर्ने र परस्पर एकता कायम गर्न सघाउने हुँदा सर्वसाधारण यसप्रति आकर्षित हुँदै गए । त्यसपछि सन्तहरूको संगठन खोली लखनले विद्रोही गतिविधि चलाए । गाउँ गाउँमा शासकको कुकृत्य भण्डाफोर गर्दै हिंडे, आफूले सत्ययुग अर्थात् उदार व्यवस्था (प्रजातन्त्र) ल्याउने वाचा गरे। सबैलाई एकत्रित गरेर लडाकू सहितको किल्ला बनाई त्यसैको बलमा जंगबहादुरलाई चुनौती दिए । 

आफ्ना विरोधीलाई सखाप पारी सर्वशक्तिमान् बनेका जंगबहादुर त्यसै गरी अरूले पाखा लगाउलान् भनेर सधैं चिन्तित रहन्थे । त्यसैले भारतभूमिमा उपनिवेश कायम गर्दै राज गरिरहेको विस्तारवादी, साम्राज्यवादी अंग्रेजलाई रिझाई आफ्नो अधिनायकवादी सत्तालाई जोगाइरहन चाहन्थे । अतः देशको स्वाभिमानमै खलल पुग्ने गरी यिनले आत्मसमर्पणवादी नीति अँगाले। देशको शत्रु अंग्रेजसामु जंगबहादुर नतमस्तक भएको देख्दा जनतामा असन्तोष फैलिएको थियो । सर्वसाधारणको यही भावना बुझी लखन शासक विरुद्ध कठोरतापूर्वक उभिए। ‘जंगबहादुरले नेपाल म्लेच्छलाई बेच्यो’ भनेर आक्षेप लगाए । 

बुङ्कोट विद्रोह अद्‌भुत प्रकृतिको थियो । जसले जंगबहादुर जस्ता तानाशाहलाई पनि भयभीत बनायो । प्रमोदशमशेरका अनुसार‚ ‘योभन्दा अगाडि कसैले औंलो ठड्याउने साहस गर्न सकेको थिएन । लखन थापाको नेतृत्वमा जनताले गोरखामा खुला विद्रोह गरी निरंकुश र अधिनायकवादी सरकारलाई ललकारेका हुन्।’ (राणाशासनको वृत्तान्त, २०७०: पृ.८९)। 

विद्रोहलाई देवीदत्त पल्टन लगाएर निर्ममतापूर्वक दबाइयो। जंगबहादुरको शासन विरुद्ध १९३२-३३ सालमा जनस्तरबाट एकत्रित, संगठित भई सशस्त्र संघर्ष गर्ने क्रममा लखन थापा र उनका ६ जना समर्थकलाई तिनकै किल्लामा झुन्ड्याएर मारियो । 

बुङ्कोटको यो ऐतिहासिक घटनाले आम समुदायमा शासकसामु लड्ने विद्रोही भावनाको विकास गरायो । शासकवर्गले जतिसुकै थिचोमिचो गरे पनि चूपचाप सहने जमानामा लखनले जनचेतना फैलाए । अन्याय, अत्याचार विरुद्ध जनस्तरबाट लड्ने माहोल बनाए । जन जनमा हिम्मत, हौसला र साहस जगाए। त्यही चेतनाको आलोकमा कैयौं विद्रोह र परिवर्तन भए । हामीले पाएको लोकतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, न्याय, समानता र सुशासन लगायतका मुद्दालाई वर्तमान संविधानमा समेट्न यो विद्रोहले पनि प्रेरित गरेको हो। त्यसैले नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रारम्भ बुङ्कोट विद्रोहबाटै भएकोमा कुनै शङ्का छैन । 

विर योद्धा जयसिंह चुमी राना मगर

राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, मानव अधिकार तथा कानुनी राज्य स्थापना लगायत सबै खाले सामन्तवादका विरुद्धमा गरिएका हरेक आन्दोलनमा सहभागी हँुदै हाँसी हाँसी जीवनको वलिदान दिने ती महान् सहिद हुन्, जय सिंह चुमी राना मगर । उहाँको जन्म गोरखा जिल्ला शहिद लखन गाउँपालिका वडा नं. ७ साविक बुंकोट गाविस वडा नं ४, काहुले भंगारमा सामान्य चुमी परिवारमा भएको थियो । काहुलेमा जन्म भएको चुमी मगर र लखन थापा मगर घनिष्ट साथी थिए ।

जयसिंह चुमीको सालिक निर्माण भएको विद्रोही किल्ला परिसर(काहुले भङगार) मा युद्ध किल्ला, जनसेनालाई युद्धकला सिकाउने परेड मैदान, मनकामना माईको थान, खानेपानी र जल व्यवस्थापनको लागि ढुङगे धारासहितको पानी पोखरी र विद्रोही मुख्यालय दरबार निर्माण गरिएको छ ।

सेनामा रहँदा राणा शासकहरुले नेपाली जनतामाथि गरेको अन्याय, अत्याचार, थिचोमिचो र निरंकुशताको प्रत्यक्ष अनुभव गरेकाले उनीभित्र राणा शासन विरोधी भावनाको विकास हुन पुग्यो । जसको कारणले वि.स. १९२७ मा सेनाको जागिर छाडी उनी राणा शासन विरुद्ध जनविद्रोही अभियानमा सक्रिय भए । सोहि कारणले उनलाई राणा प्रधानमन्त्रीले जंगबहादुर राणाको आदेशमा वि.सं. १९३३ फागुन २ गते गोरखा जिल्ला अन्तरग बुङ्कोटको काहुलेभँगारमा निर्मित विद्रोही किल्ला परिसरभित्र खिर्राको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको