Friday, March 28, 2025
29.6 C
Kathmandu
Homeफिचरराणातन्त्र विरुद्ध जनस्तरबाट निर्मित पहिलो विद्रोही किल्ला

राणातन्त्र विरुद्ध जनस्तरबाट निर्मित पहिलो विद्रोही किल्ला

राजु मियाँ

गोरखा, शनिबार, ३ फागुन २०८१ । गोरखाको शहिद लखन गाउँपालिकाको आयोजनामा प्रथम शहीद लखन थापा मगर तथा उनका सहयोद्धा जयसिंह चुमी राना मगरको १४८ औं स्मृति दिवस किल्ला परिसरमा भंब्य रुपमा शनिबार मनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन थापा मगर, गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी लगायत अतिथि महानुभावहरु

गोरखाको साविकको वुङ्कोट–४, काहुलेभँगार र हाल शहिद लखन गाउँपालिका–७ मा लखन थापाकै नाममा सालिकसहित स्मारक बनाइएको छ । सदरमुकामदेखि १२ किलोमिटर दक्षिणपूर्वमा रहेको करिव २ रोपनी क्षेत्रफल रहेको यो समथर भू-भागलाई अहिले पनि ‘विद्रोही किल्ला’ भनिन्छ ।

प्रथम शहीद लखन थापा मगर
गोरखाको बुङ्कोटमा साधारण फौजी परिवारमा जन्मिएका लखन ‘पुरानो गोरख पल्टन’ का कुशल सैनिक थिए । परिस्थिति अनुसार सही कदम उठाउने खूबी भएकाले यिनी योग्य सैन्य अधिकारीमा गनिन्थे । तर‚ राणाहरूको एकाधिकार र पक्षपातले गर्दा यिनको उन्नयन भएन, पुर्खाहरूले झैं उच्च ओहोदा सम्हाल्न पाएनन् । त्यसपछि सैन्य सेवा त्यागेर राणाहरूको अराजकता र थिचोमिचो विरुद्ध जनस्तरबाटै लड्ने अठोट गरी आफ्ना विश्वासी मित्र जयसिंहसँगै बुङ्कोट फर्किए ।

गोरखाको समग्र इतिहासका जानकार दण्डपाणि अर्ज्याल (१९६३-२०४५)का अनुसार‚ श्री ५ सुरेन्द्रविक्रम शाहका समयमा जंगबहादुरले हुकुम लिएपछि गोरखाका भारदार राजनैतिक बौलाहा भए । जंगबहादुर गोरखा आउँदा गोरखालीहरू पस्लाङ चौतारामा जम्मा भई सभा गरी यिनको स्वागतै नगर्ने निधो गरेर बसे, स्वागत गरेनन् पनि । जंगबहादुर आएर कालिकाको दर्शन गर्न ढोका खोल्न आदेश गरे तर पाले, सुसारेले हुकुम छैन भने । कसको हुकुम छैन भनी जंगिन लाग्दा भगवतीको हुकुम छैन भनिदिंदा चुप लागे र ढोका खोल्न सकेनन् । …यसपछि गोरखादेखि चिढिएका हुँदा गोरखालीले जागिर नपाउने बनाइयो । वेख-विर्ता, माना-चामल हरण भए । उनका विश्वासीले मात्र जागिर पाए, यसरी गोरखाको नाकाबन्दी भयो र क्रमशः अवनति हुन लाग्यो।

बुङ्कोट विद्रोह अद्‌भुत प्रकृतिको थियो । जसले जंगबहादुर जस्ता तानाशाहलाई पनि भयभीत बनायो । प्रमोदशमशेरका अनुसार‚ ‘योभन्दा अगाडि कसैले औंलो ठड्याउने साहस गर्न सकेको थिएन । लखन थापाको नेतृत्वमा जनताले गोरखामा खुला विद्रोह गरी निरंकुश र अधिनायकवादी सरकारलाई ललकारेका हुन्।’ (राणाशासनको वृत्तान्त, २०७०: पृ.८९)। 

अत्याचारी राणाशासन विरुद्ध विद्रोही अभियान संचालनका लागि नेपाली जनताहरुको सहयोगमा लखन थापा मगरले वि.सं. १९२७ मा बलियो किल्ला निर्माण गरे । राणा सरकार विरुद्ध लड्न जनस्तरबाट पहिलो पटक बनाइएको उक्त किल्लाको चारै तर्फ बङकर बनाइएको थियो । किल्लाको बाहिरी भागमा चारैतिरबाट ढुङ्गाको तीन तहको बलियो पर्खाल थियो । किल्ला भित्रबाट बाहिरको गतिविधि सजिलै निगरानी गर्न मिल्ने एबम् आफू सुरक्षित रहेर बाहिरका दुस्मनहरुलाई आक्रमण गर्न सकिने गरि पर्खालको ठाँउ ठाँउमा प्वाँलहरु राखिएका थिए । किल्लाको बाहिरी भागमा घेरिएको ढुङ्गाको बलियो पर्खाल १६ क्युबिट्स उचाई र ८ क्युबिट्स चौडाइको थियो ।

उक्त किल्लाको चारै तर्फ ढुङ्गाको नै ढोका र नस राखिएको थियो । किल्लाको चारै दिशामा ढोकाहरु थिए भने मूल ढोका उत्तरतर्फ रहेको थियो । किल्ला भित्र मध्य भागमा ७ बर्ग मिटरको छेत्रफलमा मोई थान (मनकामना माई) को मन्दिर निर्माण गरिएको थियो । लखन थापा मगरले किल्ला परिसरमा पाँच तल्ले घर बनाई त्यहाँबाट मोई थान (मनकामना माई) को पुजा समेत चलाएका थिए ।

लखन थापाको नेतृत्वमा भएको यो विद्रोहको सम्बन्धमा सरकारी संयन्त्र मार्फत जङ्गबहादुर समक्ष जानकारी पुगे पश्चात् खटाइएका देबी दत्त रेजिमेन्टका तीन कम्पनी फौजले विद्रोही किल्लालाई चारैतर्फबाट घेरा हालेपछी दोहोरो भिषण युद्ध भयो । जनसेनातर्फ गोला बारुद सकिएर युद्ध रोकिएपछि सरकारी सेनाले विद्रोहीहरुबाट ६० नाल बन्दुकसहित केही तरवार, खुदा, खुकुरी, भाला, धनुष, बाण लगायतका हतियारहरु बरामत गरे । त्यसपश्चात् विद्रोह नेता लखन थापा मगरसहित १२ जना मुख्य विद्रोहीहरुलाई पक्राउ गरी बासँको पिजंडा (कोक्रा) मा कैद गरी यातनापुर्वक काठमाडौँ चलान गरियो । साथै, करिब ५० जनालाई पैदल हिडाएर काठमाडौँ पुर्‍याइयो । पक्राउ परेका लखन थापा मगर लगायतका विद्रोहीहरुमाथि निर्ममता पुर्वक नेल ठोकी कोर्रा हानी थापाथली दरबारमा नाटकीय ढंगले मुद्दा चलाइयो । तर पनि नेपाल आमाका ती महान् सपुतहरु निरङ्कुश राणा शासक सामु झुकेनन् । अन्त्यमा, लखन थापा मगर, जयसिंह चुमी राना मगर, जुठ्या थापा मगर, विराज थापा मगर, जीतमान गुरुङ, अच्छामी मगर र अजपसिंह थापा मगरलाई मृत्युदण्ड दिने फैसला सुनाइयो ।

जङ्गबहादुरको आदेशमा मृत्युदण्डको सजाय सुनाइएका प्रजातान्त्रिक योद्धाहरुलाई गोरखा जिल्लाको हालको शहिद लखन गाउँपालिका वडा नं. ७ काहुले भंगार वुङ्कोटमा निर्मित किल्लामा पुर्‍याइयो । उक्त किल्ला परिसरमा निर्मित मनकामना माईको मन्दिर अगाडी स्थानीय जनसमुदायको उपस्थितिमा सर्बप्रथम विद्रोही नेता लखन थापा मगरलाई छाला काढेर अमिलो चुक लगाई बर्बरता पूर्वक खिराको बोटमा झुण्डाइयो ।

त्यतिबेला आफ्नो भौतिक जीवन समाप्त गरेपनि राणा शासन विरुद्ध विद्रोही चेतना प्राप्त गरेका नेपाली जनताहरुले राणा शासक जङ्गबहादुर र निरङ्कुश जनानियाँ शासन ब्यवस्थाको अन्त्य गरी छाडने बिश्वास व्यक्त गर्दै त्यतिबेला उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उद्घोष गरेका थिए । -“म मर्न गइरहेको छैन, यदि म मुर्दा (मृत्यु ) अवस्थामा परिणत भए भने जङ्ग बहादुरको पनि प्राण अन्त्य हुनेछ ।”
प्रथम विश्वयुद्ध (१९१४-१९१८) भन्दा अघि राणा शासनविरुद्ध ठूलो विद्रोह भएको थिएन ।

गलत शासनविरुद्ध बिद्रोह हुन नसक्नुमा अशिक्षा र दयनीय आर्थिक अवस्था र राजनीतिक चेतना नै प्रमुख कारण थिए । त्यसैगरी राणा शासकले आफ्नो शासन बचाउनका लागि भारतीय भूमि प्रयोग गरेर आफ्ना निरङ्कुश शासनविरुद्ध कुनै गतिविधि हुन नदिन अङ्ग्रेज सरकारलाई मनाएका थिए । तर, यस्तो अवस्था धेरै टिकेन ।

पहिलो विश्वयुद्धका कारण विश्वभरि नै आर्थिक, राजनीतिक अवस्थामा परिवर्तन देखा परेको थियो । यही कुरा बुझेर नेपाली सेनाको ‘ पुरानो गोरख पल्टन’ ( मगर पल्टनमा) लखन थापाले जागिर खाएका थिए ।लखन थापा मगर र उनका साथी जयसिंह चुमी मगर तीन महिनाको लागि घर बिदामा आए । यसैबीच उनीले तत्कालीन अवस्थाको राजनीतिक, सामाजिक, धार्मिक परिस्थितिको अध्ययन गरे । त्यसपछि लखन थापाले जंगबहादुरको शासन ढाल्ने योजना बनाए ।

सो योजनाअनुसार लखन थापाले जयसिंह चुमीमगर, शुकदेव गुरुङ, सुपति गुरुङ, ज्ञान दिलदास ब्राह्मण र कानु लम्सालको सहयोगमा स्थानीय युवाको विद्रोही फौज खडा गरे । लड्नका लागि उनीहरुले बलियो किल्ला बनाए । उनीहरुले ढुंगैढुङ्गाले घेरिएको बलियो किल्ला तयार पारे । शक्ति आर्जन गर्नका लागि उनीहरुले देवीलाई सम्झिए । फलस्वरुप उनीहरुले लडाइँको किल्ला परिसरभित्र मनकामना देवीको मूर्ति स्थापना गरे । लखन थापाहरुले आफ्नो फौजलाई फौजी कवाज खेल्ने, तारो हान्ने, विभिन्न तालिम सञ्चालन गर्ने र खाने, बस्ने आदि बन्दोबस्त पनि मिलाए । किल्लाभित्र ढुङ्गेधारा र पोखरीसमेत बनाइयो ।

विसं १९३२ सालमा युवराज त्रैलोक्यविक्रमका आठपहरिया लखन थापाको नेतृत्वमा गोरखालीले जंगबहादुर उपर विद्रोह शुरू गरे । हातहतियार, खजाना जोडिंदै थियो। लखन थापालाई पक्रिएर गोरखाबजार ठूलो आँगनमा झुण्ड्याई साविती गराई हातहतियारको भण्डार पत्ता लगाए । लखन थापालाई उनकै घर भाङ्राभञ्ज्याङ बुङ्कोटमा लगी झुण्ड्याएर मारियो । त्यस बापत गोरखालीलाई दिइएको बकसबाट गोरखकालीलाई १९३३ माघ सुदी ८ मा (लखन थापाकै स्मृतिमा) घण्टा चढाइयो (गोरखाको ऐतिहासिकता, ज्ञानविन्दु, वर्ष-१, अंक-१,२०६४:पृ.११-१२, दण्डपाणि अर्ज्याल स्मृति केन्द, काठमाडौं)। 

विद्रोहलाई देवीदत्त पल्टन लगाएर निर्ममतापूर्वक दबाइयो। जंगबहादुरको शासन विरुद्ध १९३२-३३ सालमा जनस्तरबाट एकत्रित, संगठित भई सशस्त्र संघर्ष गर्ने क्रममा लखन थापा र उनका ६ जना समर्थकलाई तिनकै किल्लामा झुन्ड्याएर मारियो । 

विसं १९२७ मा एउटा सानो झिल्कोको रूपमा सुरु भएको त्यो विद्रोह ८० वर्षपछि अर्थात् २००७ सालमा पूरा भयो । ८० वर्षको कठोर प्रयासपछि २००७ साल फागुन ७ गते नेपालबाट राजा शासनको अन्त्य भयो र प्रजातन्त्र स्थापना भयो । यसबिचमा राणा शासनविरुद्ध गुप्त र खुला थुप्रै सङ्घर्ष भए । त्यसमा सयौँ सपुतले आफ्नो जीवन बलिदान गरे । त्यो बलिदानीपूर्ण सङ्घर्षको पहिलो शङ्ख फुक्ने वीर योद्धा थिए लखन थापा मगर । लखन थापाकै शौर्य, वीरता र साहसको अन्तिम परिणति थियो सात सालको क्रान्ति । लखन थापा हामी वीर नेपालीका शान र गौरव हुन् । विसं १९९३ मा जङ्गबहादुरले मृत्युदण्ड दिएका थापा मगरलाई नेपाल सरकारले सन् २००० फेब्रुअरी २३ मा नेपालको प्रथम सहिद घोषणा गरेको थियो । त्यसअघि पनि उनलाई सहिदको रूपमा स्वीकार गर्नेको सङ्ख्या निकै ठुलो थियो तर औपचारिक र आधिकारिक रूपमा उनको नाम सहिदको सूचीमा थिएन । सन् २००० देखि भने उनको नाम राज्यले सहिदको सूचीमा दर्ता ग¥यो ।

विर योद्धा जयसिंह चुमी राना मगर

राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, मानव अधिकार तथा कानुनी राज्य स्थापना लगायत सबै खाले सामन्तवादका विरुद्धमा गरिएका हरेक आन्दोलनमा सहभागी हँुदै हाँसी हाँसी जीवनको वलिदान दिने ती महान् सहिद हुन्, जय सिंह चुमी राना मगर । उहाँको जन्म गोरखा जिल्ला शहिद लखन गाउँपालिका वडा नं. ७ साविक बुंकोट गाविस वडा नं ४, काहुले भंगारमा सामान्य चुमी परिवारमा भएको थियो । काहुलेमा जन्म भएको चुमी मगर र लखन थापा मगर घनिष्ट साथी थिए ।

जयसिंह चुमीको सालिक निर्माण भएको विद्रोही किल्ला परिसर(काहुले भङगार) मा युद्ध किल्ला, जनसेनालाई युद्धकला सिकाउने परेड मैदान, मनकामना माईको थान, खानेपानी र जल व्यवस्थापनको लागि ढुङगे धारासहितको पानी पोखरी र विद्रोही मुख्यालय दरबार निर्माण गरिएको छ ।

सेनामा रहँदा राणा शासकहरुले नेपाली जनतामाथि गरेको अन्याय, अत्याचार, थिचोमिचो र निरंकुशताको प्रत्यक्ष अनुभव गरेकाले उनीभित्र राणा शासन विरोधी भावनाको विकास हुन पुग्यो । जसको कारणले वि.स. १९२७ मा सेनाको जागिर छाडी उनी राणा शासन विरुद्ध जनविद्रोही अभियानमा सक्रिय भए । सोहि कारणले उनलाई राणा प्रधानमन्त्रीले जंगबहादुर राणाको आदेशमा वि.सं. १९३३ फागुन २ गते गोरखा जिल्ला अन्तरग बुङ्कोटको काहुलेभँगारमा निर्मित विद्रोही किल्ला परिसरभित्र खिर्राको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

ऐतिहासिक पानी पोखरी

राणाशासन ब्यवस्था विरुद्ध जनस्तरबाट पहिलो पटक लखन थापा मगरको नेतृत्वमा वि स १९२७-३३ सम्म विद्रोह भएको थियो । उक्त विद्रोहका क्रममा हालको हालको शहिद लखन गाउँपालिका वडा नं ७ काहुले भँगार, वुङ्कोटमा निर्मित किल्ला परिसरको दक्षिण पश्चिमको यस भू -भाग मा त्यति बेला नै पानी पोखरी निर्माण गरिएको थियो ।

विद्रोही किल्ला भित्र खानेपानीको ब्यवस्था एब किल्ला परिसरमा नै रहेको मनकामना मन्दिर र जोसमनी मठमा जल ब्यवस्थापनका लागि यो पोखरीको निर्माण वि सं १९२७ तिर गरिएको थियो ।

त्यति बेला यस पोखरीमा किल्लाको करिव १ कि मि दक्षिणको बोझा पानी र करिव ७०० मि पश्चिममा रहेको माथिल्लो काउले ( मगराती टोल) को कुवाबाट पानी ल्याइएको थियो । लामा लामा ढुङ्गाहरु लाई खोपेर त्यस माथी ढुङ्गाको नै छपनी (ढकनी ) राखेर नली बनाइ मुहान देखि पोखरी सम्म पानी ल्याइएको थियो । पोखरी संगै ढुङ्गा घारा समेत बनाइएको थियो । उक्त किल्ला परिसरमा निर्मित पानी पोखरीको आकार २० हात × १२ हात (३० फिट × १८ फिट ) रहेको थियो ।

त्यो लडाइँको तयारी एक किसिमको जनविद्रोहको तयारी नै थियो । यी सबै कुरा तयार गर्न तयारी गर्न कम्तिमा ६ महिनाभन्दा बढी समय लागेको थियो । लखन थापाले गोरखाको बुङ्कोटमा स्थानीय विद्रोही सेना परेड खेल्ने मैदानको पनि स्थापना गरेका थिए । लखन थापाले रणनीतिक ढङ्गले जङ्गबहादुरको निरंकुश जहानियाँ शासनलाई हटाएर देशलाई स्वतन्त्र बनाउन चाहन्थे ।

तर, जङ्गबहादुरको तानाशाही शासनलाई ध्वस्त पार्न लागि सैनिक विद्रोह मात्र पर्याप्त थिएन । त्यसको आवश्यकता पूर्ति गर्न एउटा सशक्त राजनीतिक सङ्गठन पनि आवश्यक छ भन्ने महसुस उनलाई भइसकेको थियो । त्यसका लागि उनले तयतिबेलाको जोसमनी धर्मको आडमा नेपाली जनतामा राजनीतिक जागरुकता ल्याउने प्रयास गरे । उनी लगायत उनका सहयोगी, समर्थक गोर्खाको गाउँघर र बस्तीबस्ती डुलेर अंग्रेजको दलाल बन्न पुगेका जङ्गबहादुरविरुद्ध उनका काला कर्तुतको भण्डाफोर गर्दै हिंडे ।

लखन थापाले जनतालाई भेला गराई ठाउँठाउँमा भाषण, प्रवचन दिंदै एक प्रकारले प्रशिक्षण दिँदै हिंडे । प्रजातान्त्रिक व्यवस्था ल्याउनका लागि लखनले राजनीतिक चेतना प्रवाह गरेको इतिहास पाइन्छ । यसरी गोर्खाको बुङ्कोटमा विद्रोहको जनलहर फैलिन पुग्यो र विद्रोहीले जनसमर्थन र जनसहभागिता पनि जुटाउँदै गए । हरेक राजनीतिक आन्दोलन र युद्ध जित्नका लागि नेताले केही न केही नारा दिएका हुन्छन् ।

जङ्गबहादुर राणाको शासन ढाल्नका लागि जनता जगाउन लखन थापाले “जङ्गबहादुरले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राहीत्राही पारिरहेछ, जातिपाति, छुवाछूत झन चर्काएको छ, जङ्गेलाई हटाई नेपाल आमालाई पापको बोझबाट हल्का पार्नु पर्छ, नेपालमा सत्य युग फिराऊ भनेर मनकामना माईले मलाई वरदान दिएकी छिन्, लौ भाइ हो तयार होऊ” भन्दै उनीहरुले जनतालाई संगठित पार्न थाले ।

प्रशिक्षणका क्रममा उनले यस्ता खाले कुरामा निकै नै जोड दिन्थे । जालझेल र व्यक्तिहत्याबाट सत्तामा पुगेका जङ्गबहादुर विदेशी (साम्राज्यवादी अंग्रेज) शक्ति समक्ष लम्पसार परेका थिए । सो कुरा लखनले नेपाली जनता समक्ष प्रष्टरूपले राख्न थाले । जङ्गबहादुरले जनतालाई त्राहीत्राही पार्यो अर्थात् तानाशाही, क्रुर एवं हुकुमी शासन स्थापित ग‍र्यो भन्ने कुरा उनले जनतालाई बुझाउन थाले । नेपालमा सत्य युग फिराउनु पर्छ अर्थात् प्रजातान्त्रिक व्यवस्था ल्याउनु पर्छ भनेर उनले जनतालाई विद्रोहका निम्ति आह्वान गरे । त्यसबेलाका स्थानीय जनतामा मनकामना माईप्रति गहिरो आस्था र धार्मिक विश्वास थियो । देवीबाट आफूलाई वरदान मिलेको र जङ्गेलाई हटाउन तयार हुनु प‍र्यो भनेर उनले अपील गरेका थिए । सन् १८५४ को मुलुकी ऐनमा जारी भएको प्रावधानले आदिवासी जनजातिको सामाजिकस्तर अझ तल झर्न गएकाले उनीहरू जङ्गबहादुरको हुकुमी शासनबाट अत्यन्त रुष्ट थिए ।

स्थानीय जनतामा यस्तो आह्वानले निकै प्रभाव पर्न गयो र लडाइँमा जनताको स्वतःस्फूर्तरुपमा सहभागिता बढ्दै गयो । यसरी जङ्गबहादुरविरुद्ध पहिलो पटक संगठितरूपमा लखन थापाको नेतृत्वमा जनआन्दोलन वा जनविद्रोहको प्रारम्भ भयो । वि.सं १९२८ सालमा स्थानीय जनताले प्रभावशाली नेता लखन थापालाई आफ्नो राजा सरह मान्न थाले ।

किल्लाको एक सय मिटर तल दक्षिण पुर्वमा जनमिलिसियालाई युद्धकला सम्बन्धी तालिम दिन परेड मैदान (टुँडिखेल) बनाइएको थियो ।

निरंकुश राणा शासनको सुत्राधार जंगबहादुरको राज्यसत्ता विरुद्ध वि. सं १९३२ मा चेतनाको दियालो बालेर लखन थापाको नेतृत्वमा जनस्तरबाट उठेको विद्रोह नै नेपालको पहिलो राजनीतिक आन्दोलन थियो । त्यतिबेला सामाजिक तथा राजनीतिक सङ्गठन खोल्न प्रतिबन्ध थियो । त्यस्तो अवस्थामा गर्न लागिएको सो विद्रोहको तयारी भइरहेको जानकारी कसैले जंगबहादुरकोमा पुर्याइदिएको रहेछ । परिणामस्वरूप रातारात गोरखा पुगेको जंगबहादुरको फौजले लखन थापा, जयसिंह चुमी (राना), अच्छामी मगर र अन्य चारजनालाई पक्राउ गरी वि.सं १९३३ फागुन २ गते हत्या गर्यो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको