गोरखा, मंगलबार, ६ फागुन २०८१ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेफाँटको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई राहत रकम प्रदान गरिएको छ ।
वाटरइनर्जी डेभलपमेन्ट कम्पनीको आयोजनास्थलमा गत साउन १३ गतेको भीषण पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई आयोजनाको तर्फबाट पहिलो किस्ताको राहत रकम उपलब्ध गराइएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।

‘‘गाउँपालिकाको पहलमा कम्पनीसंग प्रतिमृतक रु ३ लाख र घाइतेलाई रु ६ लाख दुई किस्ता गरेर उपलब्ध गराउने सहमति भएको थियो, उहाँले भन्नुभयो, ‘‘सोही सहमति बमोजिम मृतकको परिवारलाई पहिलो किस्ताको राहत रकम प्रतिमृतक रु १ लाख ५० हजार र घाइतेलाई रु ३ लाख उपचार खर्च सोमबार उपलब्ध गराइएको हो ।’’
कम्पनीका कर्मचारीसमेत भएकाले मृतक रमेश गुरुङको परिवारलाई भने कम्पनीले राहतवाहेक थप रु ७ लाख दिने सहमति अनुसार पहिलो किस्ताको रु ३ लाख ५० हजार पनि प्रदान गरिएको प्रशासकीय अधिकृत सुनारले जानकारी दिनुभयो ।
कम्पनीले बाँकी रकम दोस्रो किस्तामा उपलब्ध गराउने उहाँको भनाई छ । गएको गत साउन १३ गते करिब ३ बजेको समयमा राती रेसेफाँटको पहिरोमा परेर एकै परिवारका तीन जनासहित ५ जनाले ज्यान गुमाएका थिए ।

गाउँपालिका र कम्पनी बीच गत पुस २५ गते बैठक बसेर मृतकका परिवार र घाइतेलाई राहत रकम उपलब्ध गराउने सहमति भएको थियो । पहिरोमा परी घाइते हुनुभएका दिलिप गुरुङलाई गाउँपालिकाको तर्फबाट सामेबार नै रु १ लाख राहत उपलब्ध गराएको प्रसासकीय अधिकृत सुनारले जानकारी दिनुभयो ।
गाउँपालिकाले भने मृतकका परिवारलाई यसअघि नै राहत रकम उपलब्ध गराइसकेको छ ।