काठमाडौँ, मंगलबार, ६ फागुन २०८१ । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनामा आरोपित व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको भुवनेश्वर–कटक प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले प्रेस नोट जारी गर्दै सोमबार नै अद्विक श्रीवास्तवालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको हो ।
प्रहरीका अनुसार सोही विश्वविद्यालयको बीटेक मेकानिल तेस्रो वर्षमा अध्ययनरत २४ वर्षीय सिद्धान्त सिग्देलले इन्फोसिटी प्रहरी थानामा आइतबार उजुरी दर्ता गरेका थिए । उजुरीमा बीटेक मेकानिल तेस्रो वर्षमा अध्ययनरत २१ वर्षीय अद्विक श्रीवास्तवाले दुर्व्यवहार गरेपछि लम्सालले आत्महत्या गरेको उल्लेख थियो ।
उजुरीका आधारमा सोही दिन श्रीवास्तावविरुद्ध आत्महत्या दुरुत्साहनको एफआईआर दर्ता गरिएको प्रहरीको भनाई छ । प्रहरीले सोमबार श्रीवास्तवलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाएको पनि जानकारी दिएको छ ।
प्रहरीले श्रीवास्तवको दस्ताबेज र विद्युतीय उपकरणहरू प्रहरीले प्रमाणका रूपमा संकलन गरेको र यसबारे अनुसन्धान जारी रहेको बताएको छ ।
प्रहरीले विश्वविद्यालयमा प्रदर्शनरत नेपाली विद्यार्थीहरूलाई घर फर्कन निर्देशन जारी गरेकोमा त्यसलाई फिर्ता लिई विद्यार्थीहरूलाई फिर्ता हुन अपिलसमेत गरिएको प्रहरीको भनाई छ । नेपाली विद्यार्थीहरूको सुरक्षा पनि सुनिश्चित गरिएको जानकारी दिइएको छ । प्रहरीले यस मुद्दामा निष्पक्ष छानबिन हुने प्रतिबद्धतासमेत जनाएको छ । केआईआईटी विश्वविद्यालयमा आइतबार राति २० वर्षीया लम्साल मृत फेला परेकी थिइन् ।

