गोरखा, मंगलबार, ६ फागुन २०८१ । गोरखाको धार्चे गाउँपालिका–३ र ५ जोड्ने रेसे खोलामा बन्न लागेको १६ मेगावाटको माछीखोला जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सुचारु भएको छ । पालिकाका कारण केही समयदेखि रोकिएको कार्य पुनः सुचारु भएको हो ।वातावरण प्रभाव मुल्याकंनको मापदण्ड विपरित जथाभावी उत्खनन गरेको र सम्बन्धित निकायबाट अनुमति समेत नलिएको भन्दै पालिकाले आयोजनाको काम बन्द गर्न भनेको थियो ।
आयोजनाका कारण माछीखोला बजार जोखिममा पर्न सक्ने भन्दै अत्याधिक जोखिम भएको ठाउँलाई पालिकाको समन्वयमा प्रालिले संरक्षण गर्ने सहमति भएको छ ।
सोही कारण पुस महिना लागेसँगै काम भएको थिएन । आयोजना निर्माण कम्पनी वाटर इनर्जी डेभलपमेन्ट प्रालिका संचालक र गाउँपालिकाबीच बैठक बसेर विभिन्न बिषयमा सहमति गर्दै आयोजना निर्माणको काम सुचारु गर्ने निर्णय गरेको हो ।
बैठकमा हाइड्रोको काम गर्दा वातावरण प्रभाव प्रतिवेदनमा भएको बिषय कार्यान्वयन गर्ने सहमति भएको छ । माछीखोला बजारदेखि रेसेफाँट हुदैं लाप्राक जोड्ने सडक बाटो तटवन्धनका कारण बन्द हुने प्रवल सम्भावना रहेकोले प्रालिले बैकल्पिक बाटो निर्माण तथा स्तरोन्नती गर्ने भनिएको छ ।
प्रभावित पालिकावासीलाई आफ्नो सिप, क्षमता र योग्यताको आधारमा रोजगारको अवसर प्रदान गरिन बताइएको छ । आयोजना स्थलमा पर्ने निजी जग्गा प्रयोग भएका व्यक्तिहरुको विवरण प्रालिले पालिकालाई बुझाउने र स्थानीय र पालिकासँग आवश्यक समन्वय गरेर आयोजनाले काम अघि बढाउने सहमति समेत भएको छ ।