Wednesday, December 10, 2025
11.1 C
Kathmandu
spot_img
Homeप्रदेश विशेषजनयुद्धमा तीन छोराछोरी गुमाएका बुबाआमालाई गोरखा पुगेर प्रचण्डले भेटे

जनयुद्धमा तीन छोराछोरी गुमाएका बुबाआमालाई गोरखा पुगेर प्रचण्डले भेटे

spot_img

गोरखा, बिहीबार, ८ फागुन २०८१ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन सम्भव भएको र उनीहरू देशका साझा सम्पत्तिको रूपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।

गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीन जना सहिद भएका नहर्की परिवारसँग भेट गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

‘‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरू भएका छन्, तीमध्ये सबैभन्दा ठुलो र लामो समयसम्म चलेको आन्दोलन महान् जनयुद्ध हो ।,’’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘यसमा हजारौं जनताका छोराछोरीको रगत बगेको छ, यही रगतको जगमा नै आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सम्पूर्ण सहिदहरू देशका साझा सहिद हुन्, उनीहरूको सम्मान गर्नु राज्यको दायित्व हो ।’’

पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरूको योगदानलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुहुँदै उहाँले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा जनयुद्धसहित आजसम्मका सबै आन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रूपमा स्थापित गरेको बताउनुभयो । यसमा छुटेका नामहरू निरन्तर सहिदको सूचीमा समावेश गरिने जानकारी पनि उहाँले दिनुभयो ।

सहिदको रगतका कारण आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा पार्टी निरन्तर जुटेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब बदलिएको व्यवस्थाअनुकुल जनताको अवस्था बदल्न अभियानात्मक रूपमा अघि बढ्ने जानकारी दिनुभयो । शान्ति प्रक्रियामा आएपछि केही समय आफ्नो वर्ग र समुदायका जनतासँगको नियमित सम्पर्कमा कमी आएको र त्यही क्रममा सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट पनि पातलिन पुगेको स्पष्ट गर्दै उहाँले पछिल्लो केन्द्रीय समितिको बैठकले पार्टीलाई पुनः आफ्नै वर्ग र समुदायमा फर्काउने निर्णय गरेको र त्यसकै कार्यान्वयनमा आफूहरू पार्टी रूपान्तरण तथा पुनर्निर्माणको अभियान लिएर देशव्यापीरूपमा अघि बढेको जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले सरकारको काममा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा बढी ध्यान नदिन नसकेको उल्लेख गर्नुहुँदै सरकारबाट बाहिरिएपछि त्यसलाई बढाइएको र अब निरन्तर आफ्ना मतदातासँगको घेटघाटमा आइरहने बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा गोरखामा पूर्वाधार निर्माण र जनताको जीवनस्तर रूपान्तरणमा सहयोग पुग्ने आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिँदै उहाँले यसको कार्यान्वयनमा ध्यान दिन स्थानीय पार्टी र जनसमुदायलाई आग्रह गर्नुभयो ।

सो क्रममा अध्यक्ष प्रचण्डले गोरखा नगरपालिका वडा नम्बर १४ गोप्लिङ निवासी सहिदहरूका बुवा नरबहादुर नहर्की र आमा लक्ष्मी नहर्कीसहित परिवारसँग भेट गर्नुभएको थियो । उहाँका छोरा गुप्तबहादुर नहर्की ‘ज्वाला’ २०५५ पुस १३ गते गोरखाको केराबारीमा, छोरीहरू सरस्वती नहर्की ‘विपना’ २०५६ वैशाख ८ गते गोरखाको बाक्राङ र कल्पना नहर्की ‘नमूना’ले २०५८ असार २३ गते लमजुङ बिचौरमा सहादत प्राप्त गर्नुभएको थियो ।

त्यसलगत्तै अध्यक्ष प्रचण्ड गोरखाको पालुङ्टार ८ स्थित घरमा पुगेका सहिद विरेन ओलियाका बिरामी बुवा देवराज ओलियालाई पनि भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । सो क्रममा उहाँले सहिद परिवार र स्थानीयसँग साक्षात्कार गर्नुभएको थियो ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img