गोरखा, बिहीबार, ८ फागुन २०८१ । गोरखाको धार्चे गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन सम्बन्धी एक दिने पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा मंगलबार कार्यक्रम भएको हो ।
कार्यक्रममा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो पदको सदुपयोग कसरी गर्ने भन्ने विषयमा अन्तरक्रिया भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताए । साथै पालिकास्तरमा आउने मुद्दा र उजुरीका बारेमा पनि छलफल गरिएको उनले जानकारी दिए । कार्यक्रमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख असमान तामाङले सहजीकरण गरेका थिए ।
तामाङको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, बिद्यालयका प्रधानाध्यापकहरु, वन उपभोक्ता समितिका अध्यक्ष/सदस्य, खानेपानी उपभोक्ता समितीका अध्यक्ष तथा प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।