Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeफिचरजिरीमा ‘उहीलेको नेपाल’ फोटो प्रदर्शनी

जिरीमा ‘उहीलेको नेपाल’ फोटो प्रदर्शनी

काठमाडौँ, सोमबार, १२ फागुन २०८१ । स्वीस भूगर्भशास्त्री टोनी हागेनले सात दशकअघि देखि खिचेका नेपाल चिनाउने तस्बिरहरूको पाँच दिने प्रदर्शनी शनिबारबाट दोलखाको जीरी नगपरालिकामा सुरू भएको छ ।

टोनी हागेन फाउन्डेसन र जिरी नगरपालिकाको आयोजनामा भएको तस्बिर प्रदर्शनीको हागेनकी छोरी डा. क्याट्रिन हागेनले उद्घाटन गरिन् । प्रदर्शनीमा राखिएका तस्बिरहरू अवलोकन पछि जीरी नगरपालिकाले स्वर्गिय हागेनलाई सम्झिएकोमा खुशी व्यक्त गरिन् । आफ्ना पिताले भ्रमण गरेको समय र अहिले जिरीमा धेरै परिवर्तन आफूले महशुस गरेको बताइन् ।

‘पहिले र अहिलेको जिरीमा धेरै परिवर्तन भएको छ, केही सकाकरात्मक र केही नकारात्मक’, उनले भनिन्, ‘यहाँ धेरै विकास भएको छ । कृषिमा मानिसहरूको सहभागिता घटेको छ ।भारत र चीनका कृषि उपजको उपभोग बढेको छ । यो त्यति राम्रो कुरा होइन ।’ जिरी नगरपालिकाका मेयर मित्र जिरेलले जिरीको विकासमा स्वीजरल्याण्डका जनता र सरकारको ठूलो सहयोग रहेको स्मरण गर्दै स्वीजरल्याण्ड र जिरीबीच घनिष्ट सम्बन्ध रहेको बताए ।

स्थानीय बुद्धिजिवी तथा जिरी माध्यमिक विद्यालयका पूर्व प्रधानअध्यापक टेक जिरेलले टोनी हागेनले जिरीलाई विश्वसामू चिनाउन र जिरीको विकासमा स्वीस सहयोग ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । पछिल्लो समय जिरी आन्तरिक पर्यटनको लोकप्रीय गन्तव्य बनिरहेको छ ।

फोटो प्रदर्शनी फागुन १४ गतेसम्म सञ्चालन हुनेछ । हाडजोर्नी विशेषज्ञ समेत रहेकी डा.क्याट्रिन ह्यागेन फागुन १३ र १४ गते जीरी अस्पतालमा निशुल्क स्वास्थ्य शिविरमा सहभागी रहनेछिन् । ‘नेपालको स्वीजरल्याण्ड’ भनेर चिनिने जिरीको विकासमा २०१३ साल देखि नै स्वीजरल्याण्डले सहयोग गरेको थियो ।

जिरीमा चीज फ्याक्ट्री, गाई अनुवांशिक प्रजनन केन्द्र, अस्पताल स्थापना तथा व्यवसायिक कृषि विकासका लागि स्वीजरल्याण्डको सहयोग रहेको थियो । पछि जिरी प्राविधिक शिक्षालयको स्थापना र सञ्चालन, जिरीमा एयरपोर्ट निर्माण र लामोसाँघु-जिरी सडक निर्माणमा स्वीजरल्याण्डले सहयोग गरेको थियो ।

टोनी हागेन २००४ सालमा मोहनशम्शेरको निमन्त्रणमा नेपालको विकासमा सहयोग गर्न पहिलोपटक नेपाल आएका थिए । पछि संयुक्त राष्ट्र संघका प्रतिनिधिका रूपमा र नेपाल सरकारका कर्मचारीका रूपमा उनले लामो समय नेपालका विभिन्न स्थानको भ्रमणमा बिताएका थिए । उनले खिचेका पुराना तस्बिरहरूको वृत्तचित्र ‘उहिलेको नेपाल’ युट्युबमा उपलब्ध छ ।

यस्तै, उनले लेखेका ‘नेपाल’, ‘विकेन्द्रीकरण र विकास’, ‘नेपालमा मेरो खोजयात्रा’ लगायतका पुस्तक प्रकाशित छन् ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको