Thursday, March 27, 2025
18.7 C
Kathmandu
Homeबैंक/बित्तियनबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला

काठमाडौँ, मंगलबार, २७ फागुन २०८१ । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन माग गरेको छ । सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक प्रभाव पार्न चाहने व्यक्तिहरूले सहभागिता जनाउन सक्नेछन्। इच्छुक आवेदकले आगामी चैत २५ गतेसम्म आवेदन पेस गर्न सक्नेछन् ।

यो फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित छ र ६ महिनाको अवधिसम्म चल्नेछ। यसमा १८ दिनको निःशुल्क आवासीय तालिम र एक वर्षको परामर्श सेवा समावेश छ । हालसम्म तीन समूहका ५६ उद्यमीले यो तालिम पूरा गरिसकेका छन् भने ४५ सामाजिक उद्यमबाट १,१८४ जनाले रोजगारी प्राप्त गरेका छन् । अहिले चौथो समूहका २० उद्यमी तालिममा सहभागी छन् भने पाँचौं समूहका लागि देशभरबाट प्राप्त आवेदनमध्ये २० जना छनोट गरिनेछन् ।

कार्यक्रममा सहभागी हुन १८ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ । व्यवसाय सुरु गरिसकेका वा नवीन उद्यमशील विचार भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । आवेदन नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपको फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर वा नबिल बैंकको वेबसाइटबाट फारम डाउनलोड गरी इमेलमार्फत पठाउन सकिन्छ ।

यो कार्यक्रमले जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, कला, सामुदायिक विकास, कृषि, ऊर्जा र दिगो विकासका लक्ष्यसँग सम्बन्धित क्षेत्रमा काम गर्ने उद्यमीहरूलाई प्राथमिकता दिन्छ । सहभागीहरूलाई अनुभवी मार्गदर्शक र उद्योग विशेषज्ञहरूबाट तालिम प्रदान गरिन्छ । नबिल एसएसईले उद्यमीहरूलाई व्यवसाय विस्तारका लागि आवश्यक स्रोत, सञ्जाल र वित्तीय पहुँचका अवसरहरू उपलब्ध गराउँदै आएको छ ।

नबिल एसएसई सामाजिक परिवर्तनको एक प्रभावकारी माध्यम बनेको छ। नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको छ । हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालित छन्, जसबाट ११७ उद्यम स्थापना भई १,२०० भन्दा बढी रोजगारी सिर्जना भएको छ ।

फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा चलिरहेको छ भने सर्टिफिकेट कोर्स सातै प्रदेशका ११ शैक्षिक संस्थामार्फत नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना गरी सञ्चालित छ ।

नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित विभिन्न कार्य गर्दै आएको छ । वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा बैंकले विशेष जोड दिएको छ । यी प्रयासबाट हजारौं व्यक्तिको जीवनमा सुधार आएको र वातावरण संरक्षणमा पनि योगदान पुगेको बैंकले जनाएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको