गोरखा, आइतबार, २४ चैत्र २०८१ । माछाखोला–लप्सीबोट–यामगाउँ गुम्दा सडक स्तरोन्नतीको काम भइरहेको छ ।
अहिले सडक स्तरोन्नतीको काम अन्तिम चरणमा पुगिसकेको गण्डकी प्रदेश मातहको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । ‘सडक निर्माणको काम ८५ प्रतिशत सम्पन्न भइसकेको छ,’ कार्यालयका प्रमुख गणेश सुवेदीले भने,‘अब धेरै काम बाँकी छैन् ।’
अहिलेसम्म ६५० मिटर आरसिसि (ढलान) र १०.३७ किलोमिटर गरी झण्डै १७ किलो मिटर सडक स्तोन्नतीको काम हुने बताइएको छ । हाल सम्म ग्याबिन वाल, मेसिनरी वाल लगाउने काम अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । ‘अहिले काम सुरु गरेको पनि ४ वर्ष बित्यो, तीन पटक म्याद थप भइसक्यो,’ उनले भने, ‘सडक स्तोन्नतीको अन्तिम म्याद आउदो असार मसान्त सम्म छ, ठेकेदारले यसपाली समयमै काम सक्छु भनेको छ, धमाधम भयो भने त्यसैको रिजल्ट चाडै आउनेछ ।’
उक्त सडकमा ७ मिटर चौडाइ र एक÷एक मिटर नाला निर्माण गरिएको छ । ठेकेदारले भौगोलिक अवस्थाका समस्याहरु देखाएर यसअघि काम गर्न ढिलाई गरेता पनि अहिले क्रमिक रुपमा काम भइरहेको उनले बताए । ‘गत वर्ष भण्डै ७ किलोमिटर सडक ग्राबेल गर्नै काम सम्पन्न भएको थियो,’ उनले भने, ‘अन्य क्षेत्रमा नाली बनाउने र ग्राबेल गर्ने काम भइरहेको छ ।’
बाटोमा पहिरो गएपछि लामो समय सामान ढुवानीमा समस्या भएको थियो । अहिले पहिरो पन्छाएपछि सहज रुपमा निर्माण सामग्री ढुवानी भइरहेकाले काममा पनि राम्रो प्रगति भएको कार्यांलयले जनाएको छ ।
३२ करोड १० लाख ८७ हजार ६९२.१७ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी २०७७ भदौ १ गते अमर.पि. आर नाना जेभीसँग सम्झौता भएको थियो । ४ वर्षमा उक्त सडक सक्नु पर्ने भएपनि पटक म्याद थप हुँदा पनि काम सम्पन्न भने भइसकेको छैन । उक्त सडक निर्माणमा ढिलाई हुँदा सो क्षेत्रका सर्वसाधारणलाई आवात जावतमा समस्या भएको छ । बिरामी पर्दा, सामान ढुवानी गर्न र आवातजावत गर्न सास्ती झेल्नु परेको छ ।