Sunday, April 20, 2025
24.1 C
Kathmandu
Homeफिचरगोरखा-जितगढी एकीकरण मार्गमा सेनाको पदयात्रा

गोरखा-जितगढी एकीकरण मार्गमा सेनाको पदयात्रा

पाल्पा, सोमबार, २५ चैत्र २०८१ । गोरखा नेपाल एकीकरणको सुरुवाती जिल्ला हो भने बुटवल जितगढी अंग्रेज सेनालाई हराएको ऐतिहासिक युद्ध किल्ला हो । वि.सं १८७१ देखि १८७२ मा भएको नेपाल अंग्रेज युद्धमा नेपाली सेनाले बुटवल जितगढी क्षेत्रबाट अंग्रेज फौजलाई वैशाख ७ गते हराएर भगाएको दिन हो । अंग्रेज सेनालाई हराएको दिन वैशाख ७ गते विजय उत्सव मनाउन नेपाली सेना गोरखादेखि ३०५ किलोमिटर पैदलयात्रा गर्दै बुटवल जितगढी किल्ला पुग्ने गर्छन् ।

ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने तथा सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले विसं २०७९ देखि गोरखा दरबार जितगढी एकीकरण मार्गमा पदयात्रा गर्न थालेको हो । विगत ३ वर्षदेखि यो क्रम रोकिएको छैन । सेनाले ‘पहिलोपटक २०७९ चैत्र २९ गते गोरखा-जितगढी’ पदयात्रा गरेको थियो ।

यसवर्ष चैत २८ गतेदेखि सेनाले तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गर्दै छ । ऐतिहासिक कोट, गढी, किल्लाजरू को संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ एकीकरण पदयात्रा सुरु गर्न लागिएका ‘दि फेमस महिन्द्र दल गण’ पाल्पाले जनाएको छ । एकीकरण मार्गलगायत ऐतिहासिक धरोहरको जर्गेना गर्न, नेपाल अंग्रेज युद्धमा हासिल गरेको विजय गाथाको इतिहासलाई संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गरी भावी पुस्तामा हस्तान्तरण गर्न, सबै नेपालीहरूमा राष्ट्रिय एकताको भावना विकास गर्न, सम्पदा पर्यटन प्रवद्र्धन गर्न, सेना र जनताबीचको सम्बन्धलाई बलियो बनाउन गोरखा जितगढी पदयात्रा अभियान गर्न लागिएको पदयात्रा कमाण्डर सहसेनानी रमेश अधिकारीले बताउनुभयो ।

यो पदयात्रा नेपाली सेनाको आयोजना र स्थानीय तहहरूको सहयोगमा गोरखा-तनहुँ-स्याङजा-पाल्पा हुँदै रूपन्देहीको जितगढीसम्म पुग्नेछ । पदयात्रामा निस्किने टोली वैशाख २ गते पाल्पाको रामपुर आइपुग्ने छ । उक्त टोलीको प्रतिनिधिमण्डल र पाल्पास्थित दि फेमस महिन्द्र दल गणले सोही दिनदेखि पाल्पाको गढी तथा किल्लासम्मको यात्रा गर्ने जनाइएको छ । रामपुरको केलादीदेखि तिनाउको नुवाकोट गढीसम्म पदयात्रा गर्ने कार्यक्रम तय भएको तानसेनमा आयोजित समन्वयात्मक बैंठकमा गणपति प्रमुख सेनानी भूपेन्द्र गुरुङले जानकारी दिनुभयो । पाल्पाको टोलीले रुपन्देहीलाई हस्तान्त्रण गरेपछि जितगढी पुगेर समापन हुनेछ ।

उहाँले नेपाल अंग्रेज युद्धमा अंग्रेज फौजलाई परास्त गर्न प्रयोग भएका गढी, किल्ला र पदमार्गको पहिचान गरी त्यसको प्रवद्र्धन गर्न पदयात्रा सञ्चालन गर्न लागिएको बताउनुभयो । ‘एकीकरण मार्गलगायत ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरण सम्बन्ध भावी पुस्तालाई हस्तान्तरण गर्ने यो अवसर पनि हो,’ गणपति गुुरुङले भन्नुभयो, ‘राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउनेछ ।’ पर्यटन सम्भावनालाई खोजी गर्दै पदमार्गको विकास गर्ने, वर्तमानलाई भविष्यसँग जोड्न पदयात्रा गर्न लागिएको उहाँले बताउनुभयो ।

यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेका पाँच पल्टन पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ र जितगढीको लडाइँमा भाग लिएका गुरुबक्स पल्टनका ५३ जनाको टोली सहभागी हुनेछन् । गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई उज्यालोको प्रतीकस्वरूप टर्च हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पदयात्राका संयोजक सेनानी जितबहादुर कार्कीले जानकारी दिनुभयो ।

टोलीले पाल्पाको ऐतिहासिक बाकुमगढी, माथागढी, तानसेन र नुवाकोटगढी तथा गीतगढी किल्लाको भ्रमण गर्ने योजना बनाएको छ । तत्कालीन समयमा राज्य एकीकरणको क्रममा प्रयोग भएका सम्पदाहरू गण, किल्ला, मार्गदेखि नेपाल-अंग्रेज युद्ध र नेपाली सेनाको विरासतसँग जोडिएका ऐतिहासिक दस्ताबेज, महिमालाई नयाँ पुस्तामाझ पुनर्ताजगी गराउन पदयात्राले सहयोग पुग्ने अपेक्षा जिल्लाका सरोकारवालले गरेका छन् । समन्वयात्मक बैठकमा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदी, स्थानीय तहका प्रमुख, प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र पत्रकारहरूको सहभागिता रहेको थियो ।

पदयात्रा गोरखाबाट सुरु भई रूपन्देहीको जितगढी किल्ला पुगेर विजय उत्सवका रूपमा सहभागी भई टुंगिनेछ । नेपाल आक्रमणमा आएको अंग्रेज सेनालाई पराजित गरेको दिनको स्मरण गर्दै वैशाख ७ गते ऐतिहासिकस्थल जितगढी किल्लामा विजयोत्सव मनाउने गरिन्छ । १८७२ वैशाख ७ मा अंग्रेज सेनामाथि नेपाली सेनाले विजय प्राप्त गरेको दिन पारेर बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजयोत्सव मनाउँदै आएको छ । जितगढी किल्लालाई केन्द्रविन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले झण्डै तीन महिना अंग्रेजसँग लडेको र दुईपटक अंग्रेज सेनाले आक्रमण गर्दा पनि उसलाई पराजित गर्दै गोरखपुरसम्म लखेटेको दिनलाई विजयोत्सवका रूपमा लिने गरिएको छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको