Tuesday, November 18, 2025
12.1 C
Kathmandu
Homeपालिका विशेषशिक्षक आन्दोलनमा गोरखाका ११ वटै पालिकाको ऐक्यबद्धता

शिक्षक आन्दोलनमा गोरखाका ११ वटै पालिकाको ऐक्यबद्धता

गोरखा, मंगलबार, २६ चैत्र २०८१ । गोरखाका ११ वटा पालिकाहरूले काठमाडौंमा जारी शिक्षक महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । गोरखाका दुई नगरपालिका र नौवटा गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरूले संयुक्त वक्तव्य जारी गरेर शिक्षक आन्दोलनलाई समर्थन गरेका हुन् ।

यसरी वक्तव्य जारी गर्नेमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जारा, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना, चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामा, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ र शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर छन् ।

वक्तव्यमा भनिएको छ, “लामो समयदेखि संघीय संसद् प्रतिनिधिसभामा प्रक्रियामा रहेर जारी गर्नका लागि विलम्ब भइरहेको शिक्षा विधेयक तत्काल जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको अनिश्चितकालीन शिक्षा आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दछौँ ।”

संसदमा दर्ता भएको शिक्षा विधेयकलाई नजर अन्दाज गरी अकस्मात् संसद् अधिवेशन अन्त्य गरिनुले राज्यले शिक्षा क्षेत्रलाई नै अवमूल्यन र अवहेलना गरेको प्रतित भइरहेको पालिका प्रमुखहरूको ठहर छ । संविधान जारी भएको एक दशक पूरा हुँदा पनि संविधान कार्यान्वयनका लागि विद्यालय शिक्षा ऐन जारी हुन नसक्नु अत्यन्तै लाजमर्दो र दुःखद् भएको उनीहरूले बताएका छन् ।

“विद्यालय शिक्षासम्बन्धी संवैधानिक प्रावधान र सरकारले गरेका सम्झौता एवं प्रतिबद्धता कार्यन्वयन गर्दै समयानुकूल र बालबालिकाको हित अनुकूल हुने गरेर विद्यालय शिक्षा ऐन जारी गर्नुहुन र राजधानीको सडकमा आफ्ना माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूलाई विद्यालयमा फर्कने वातावरण निर्माण गर्नुहुन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौ,” विज्ञप्तिमा उल्लेख छ ।

spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img