गोरखा, शनिबार, ३१ जेठ २०८२ । सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटाले आफूमाथि अनावश्यक आरोप लागिरहे पनि आफू सधैं जनताको सहजताका लागि काम गरिरहेको बताउनु भएको छ ।
गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उहाँले न्यायिक समिति संयोजकका सधै जनाताको सेवामा लागिरहने बताउनु भएको हो । जनताको हितका लागि कार्य गर्दा र स्वयंम आफूले देखेको कमिकमजोरी उठाउँदा पनि असहयोग गरेको आरोप समेत लगाउनु भयो । उहाँले भन्नुभयो, “अनुगमन समितिको संयोजक उपाध्यक्ष नै हुन्छ भन्ने संविधानमा नै उल्लेख छ, तर अनुगमन गर्दा देखेका कमि कमिकमजोरी उठाउँदा उपाध्यक्षले असहयोग गर्यो भन्ने हल्ला फैलाइन्छ । जनाताका लागि सही कार्य गर्दा पनि नकारात्मक हल्ला फैलाएकोमा दु:ख ब्यक्त गर्नुभयो ।
सार्वजनिक सुनुवाइमा सहभागीहरूले पालिकाको योजनाहरू पूरा नभएको र कार्यक्रमहरू औपचारिकता पूरा गर्न मात्र आयोजना गरिएको आरोप लगाउनु भयो । पूर्व शिक्षक रुद्रप्रसाद पोखरेल, विष्णु पोखरेल, मनोज ढकाल, सुरज गुरुङलगायतले पालिकाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
कार्यक्रममा पालिकाका कर्मचारीहरूले विभागगत प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सहभागीहरूले पालिकाले स्रोत अभाव, प्राविधिक कठिनाइ र सुस्त कार्यशैलीका कारण जनअपेक्षा अनुसार सेवा दिन नसकेको गुनासो गरेका थिए ।