गोरखा, शुक्रबार, २ असार २०८२ । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाले रैथाने बालीलाई जोड दिने भएको छ । गाउँपालिका अध्यक्ष दिपक देवकोटाले गाउँसभाको १७ औं अधिवेशनमा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम पेश गर्दै ‘दिगो बिकास हाम्रो सोंच, सुन्दर शान्त समृद्ध अजिरकोट’ भन्ने नारालाई आत्मसाथ गरिएको बताउनु भयो ।
आर्थिक बिकास, सामाजिक बिकास, पूर्वाधार बिकास, वन वातावरण र विपद् व्यवस्थापन, सुशासन र संस्थागत बिकास लगायतको विषयमा विभिन्न नीति तथा योजनाहरु अघि सारिएको छ । ‘हाम्रो जात हाम्रो गौरब,’ रैथाने उत्पादन संरक्षण र प्रवद्र्धनका लागि रैथाने बालीको खेती तथा पशुपंक्षी पालनका लागि प्रोत्साहन दिने अजिरकोट गाउँपालिकाले नीति लिएको छ ।
कृषि उपज संकलन केन्द्र स्थापना गर्ने, कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने, हाट बजार सञ्चालनको व्यवस्था मिलाउने, मेला महोत्सवहरुमा कृषि तथा पशुपंक्षी प्रर्दशनीलाई जोड दिने नीति लिइएको अध्यक्ष देवकोटाले बताउनु भयो । वडाको अबस्थाको आधारमा विशेषबाली, भूमैत्री बाली खेतीलाई प्रोत्साहन गर्ने, बाँझो जग्गाको व्यवस्थापन गर्ने भूमी बैंक निर्माण गर्ने, जग्गा बाँझो राख्नेलाई करमा कडाई गर्ने गाउँपालिकाको नीति छ ।
स्याउ, कफी, अदुवा, अलैंची, चिया किबी, एबोगाडो जस्ता नगदेबालीलाई प्राथमिता दिने गाउँपालिकाको योजना छ । एक घर एक प्रशिक्षक कृषक अभियान सञ्चालन गर्ने, व्यवसायिक कृषकलाई विभिन्न खालका अनुदान दिने, स्वास्थ्य उपचारमा जोड दिने लगायतका कुरा पनि नीति तथा कार्यक्रममा समेटिएका छन् ।
घर उद्योग नामाङ्कन दिइ स्थानीय रक्सी उत्पादन गरी बाह्य रक्सीलाई निरुत्साहित गर्ने, खुपार्नीको जुस र जाम बनाउने, पालिकाको उत्पादन पालिकामा भन्ने नाराका साथ स्थानीय उत्पादनलाई जोड दिने, जंगलमा फल्ने विभिन्न फलफूलको प्रयोग र बिक्रि गर्ने लगायतका कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
भच्चेक आधारभूत अस्पतालमा एमडिजिपि सेवा, दन्त सेवाका लागि बिडिएस, फिजियोथेरापी सेवा, ल्याबको स्तरोन्नति, पोस्टमार्टम सेवाको प्रबन्ध गर्ने गाउँपालिकाको योजना छ । एक वडा, एक नमुना होमस्टे सञ्चालनमा ल्याउने, मासिक रूपमा विद्यालयसँग गाउँपालिका कार्यक्रम सञ्चालन गर्ने, आगामी दुई वर्षभित्र सम्पूर्ण नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउने लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएका छन् । अजिरकोट बृहत खानेपानी योजना लाई प्रभावकारी गुणस्तरीय योजनाको रुपमा अगाडि बढाउन गाँउपालिकाले आवश्यक पहलकदमी लिने अध्यक्ष देवकोटाले बताउनु भयो ।
साथै, पूर्वाधार बिकास तर्फ यातायात, कृषि, खानेपानी, सिचाईं लगायतका विषयमा गुरुयोजना तयार गरी कार्यक्रमहरु सञ्चालन गर्ने, वस्ती, वडा र पालिका स्तरमा छनोट भएका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने, स्थानीय सडक मर्मत संहारका लागि कोष निर्माण गर्ने, भवन एवं भौतिक संरचना निर्माण गर्न अपांगमैत्री बनाउने, एक घर एक धारो, प्रत्येक घरमा बिजुली, प्रत्येक घरमा सिंचाईं सुबिधा, वडा स्तरीय मुलबाटो बाह्रै महिना सञ्चालन गर्ने लगायतका कुरालाई नीति तथा कार्यक्रममा समेटिएको छ ।
उत्कृष्ट करदातालाई प्रोत्साहन गर्ने, कर संकलन र पालिकाको आन्तरिक आय बढाउन जोड दिने, सम्पत्ती करको सुरुवात गर्ने लगायत प्राकृतिक साधन स्रोतको समुचित प्रयोग र बिक्रीलाई जोड दिने लगायतका विषय पनि नीति तथा कार्यक्रम मार्फत अघि सारिएको छ । सबै नागरिकलाई न्याय सेवामा सहज पहुँच अभिवृद्धि गर्न आवश्यक तालिम सचेतना र मेलमिलाप सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।
नीति तथा कार्यक्रम पारित भएको अध्यक्ष देवकोटाले बताउदै सोही अनुरुप अब बजेट निर्माण गरिने अजिरकोट गाउँपालिकाले जनाएको छ ।