Tuesday, July 15, 2025
21.1 C
Kathmandu
Homeराष्ट्रिययुद्धग्रस्त देशबाट उद्धार गर्ने तयारीमा छौँ : परराष्ट्रमन्त्री

युद्धग्रस्त देशबाट उद्धार गर्ने तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौँ, शनिबार, ७ असार २०८२ । इजरायल-इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले २४सै घण्टा सञ्चालन हुनेगरी परराष्ट्र मन्त्रालयमा हेल्प डेस्क राख्ने भएको छ ।

डेस्कमा परराष्ट्रसहित गृह, श्रम तथा रोजगार र पर्यटन मन्त्रालयका अधिकारीसमेत हुनेछन् । परराष्ट्र मन्त्रालयमा शुक्रबार चार मन्त्रालयका अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पहलमा बसेको बैठकमा श्रम तथा रोजगारमन्त्री शरद्सिंह भण्डारी पनि उपस्थित रहनुभएको थियो भने गृह र पर्यटन मन्त्रालयबाट भने सचिवको प्रतिनिधित्व रहेको थियो ।

परराष्ट्रमन्त्री राणाले बैठकमा स्वदेश फर्कन चाहने नेपालीहरूलाई मन्त्रालयले स्थापना गरिएको पोर्टलमा दर्ता गर्न अपिल गरिएको, युद्धपछि उत्पन्न अवस्थालाई गम्भीर रूपमा हेरिएको बताउनुभयो । मन्त्रालयस्तरीय छलफलमा इजरायल र इराकमा उत्पन्न असहज अवस्थाको कारण स्वदेश फर्कन चाहने नेपालीलाई कसरी उद्धार गरी ल्याउने भन्नेबारे छलफल भएको मन्त्री राणाले जानकारी दिनुभयो । ‘जिटुजी प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा सोका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व हो । त्यसका लागि सीमा क्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ । नेपालीहरू स्वदेश फर्कन चाहेमा उहाँहरूको उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामै छ’, उहाँले भन्नुभयो ।

यही जुन १३ मा इजरायल र इरानबीच युद्ध सुरु भएकै दिन परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत दुवै पक्षलाई अधिकतम् संयमता अपनाउन र वार्ताद्वारा समस्या समाधान गर्न अपिल गर्दै ती मुलुकमा रहेका नेपालीलाई सम्बन्धित नेपाली राजदूतावाससँग सम्पर्कमा रहन अनुरोध गरेको थियो ।

त्यसपछि जुन १५ मा सम्पर्क विवरणसहितको ट्राभल एड्भाइजरी जारी गरी सुरक्षाका दृष्टिकोणले अधिकतम् सतर्कता अपनाउन नेपालीलाई अनुरोध गरिएको थियो । ती मुलुकमा हाल हवाईमार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीलाई ‘अनलाइन भिसा’ उपलब्ध गराउने लगायतका काममा सहजीकरण गरिदिन खाडीस्थित सबै नेपाली नियोगलाई परराष्ट्र मन्त्रालयले गत बुधबार नै निर्देशन दिएको छ ।

फर्कन ६ सयभन्दा बढी नेपालीले टिपाए नाम
मन्त्रालयले अनलाइन पोर्टल खोलेर नेपालीहरूको विवरण लिन सुरु गरेको र उक्त पोर्टलमा हालसम्म ६०० जनाभन्दा बढीले विवरण दर्ता पनि गराइसकेका छन् । यो क्रम जारी नै छ । परराष्ट्र मन्त्रालयले गत बुधबार नै दोस्रोपटक ट्राभल एड्भाइजरी जारी गरेर हाल इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन र नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण नगर्न अनुरोध पनि गरिएको थियो ।

यसैसाता नेपालका लागि इजरायलका राजदूत स्मुलिक आरी बाससँग परराष्ट्रमन्त्री डा. राणाले भेटगरी नेपाली नागरिकहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउन इजरायल सरकारलाई अनुरोध गर्नुभएको थियो । त्यसैगरी, इजरायलस्थित नेपाली राजदूतावास र इरान हेर्ने कतारस्थित नेपाली राजदूतावासलाई सम्बन्धित सरकारी अधिकारी, यस क्षेत्रमा काम गर्ने संघसंस्था र नेपाली समुदायसँग निकटको सम्पर्क स्थापित गर्न र सोका सम्बन्धमा मन्त्रालयलाई ‘रियल टाइम रिपोर्टिङ’ गर्न निर्देशन दिइएको छ । हाल इजरायलमा पाँच हजार ५०० देखि सात हजार नेपाली रहेका र तीमध्ये धेरैजसो तेल अभिभ, जेरुसेलम र हाइफामा रहेका छन् । त्यस्तै, इरानमा १८ जना नेपाली छन् ।

विश्वभरका सरकारको आफ्ना हजारौँ नागरिकलाई निकाल्ने प्रयास
विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल-इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले बस र विमानहरू व्यवस्थित गरिरहेका छन् र केही अवस्थामा मानिसहरूलाई पैदल सीमा पार गर्न मद्धत गरिरहेका छन् । गत शुक्रबार इजरायलले इरानको आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी अभूतपूर्व बम आक्रमण अभियान चलाएपछि तेहरानबाट बदलाको कारबाही सुरु भएकाले विदेशीहरूले दुवै देश छाड्न हतार गरेका छन् । तर, इजरायलको हवाई क्षेत्र बन्द भएपछि र दुई देशले भारी क्षेप्यास्त्र प्रहार गर्दा धेरै मानिसलाई तेस्रो देशहरूबाट निकालिएको छ ।

युरोपेली देशहरूले पहिले नै इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फिर्ता गरिसकेका छन् भने इजरायलका लागि अमेरिकी राजदूतले बुधबार हवाई र समुद्री मार्गबाट अमेरिकीहरूलाई निकाल्ने योजना घोषणा गर्नुभएको थियो ।

यस्तै, अष्ट्रेलियाले इरानबाट करिब एक हजार पाँच सय र इजरायलबाट एक हजार दुई सयभन्दा बढी नागरिक निकाल्न थालेको छ । यता, पाकिस्तानले आफ्नो घर फर्कन चाहने पाकिस्तानीहरू बाहेक छिमेकी इरानसँगको सीमा नाकाहरू बन्द गरेको छ । भारतले आर्मेनियाबाट विशेष उडानमा इरानबाट करिब ११० भारतीय विद्यार्थी निकालिएको भारतको विदेश मन्त्रालयले बिहीबार जनाएको थियो ।

यस्तै, न्युजिल्याण्डले बिहीबार इरानमा रहेको आफ्नो दूतावास बन्द गरेको र दुईजना कर्मचारी र उनीहरूको परिवारलाई भूमिबाट अजरबैजानमा लगेको बताएको छ । त्यस्तै, जापानले इजरायलमा बस्ने करिब एक हजार र इरानमा करिब २८० जापानी नागरिकका लागि सैन्य विमानहरूलाई तयारी अवस्थामा राख्न आदेश दिएको सरकारी मन्त्रीहरूले जनाएका छन् । इरान र इजरायलमा रहेका जापानी दूतावासहरूले छिमेकी देशहरूमा नागरिकहरू निकाल्न बसहरू प्रयोग गर्ने तयारी गरेका छन् ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको