ललितपुर, शनिबार, ७ असार २०८२ । ललितपुर महानगरले परम्परागत पानीका मुहान संरक्षण गर्न ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रूपमा अघि बढाउने भएको छ ।

शुक्रबार बसेको सातौं नगरसभामा आर्थिक वर्ष २०८२/ ०८३ को नीति तथा कार्यक्रम पेस गर्दै महानगरका मेयर चिरीबाबु महर्जनले ढुंगेधारा, कुवा, इनार र पोखरीजस्ता स्रोतलाई संरक्षण गर्न विशेष ध्यान दिने बताएका हुन् ।
त्यस्तै, निजी जग्गामा रहेका पानीका मुहानहरू संरक्षण गर्न महनगरले अधिग्रहण गरेर मुहान संरक्षण गर्ने उनले बताए ।
खानेपानीको मुहानको संरक्षण, विकास गर्न अन्तरपालिका तथा सरोकारवाला निकायबीच समन्वय गर्ने समेत नीतिमा उल्लेख छ ।
यसैगरी खोकना, बुङमती धापाखेल, सुनाकोठीमा खानेपानी व्यवस्थापनका लागि पानीट्यांकी निर्माणको काम थलिने जनाइएको छ। यसैगरी परम्परा राजकुलो, जलमार्गलाई पुनर्जिवित गर्न र परम्परागत पानीको मुहानको पानी स्रोत विस्तार गर्न आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।