गोरखा, बिहीबार, १२ असार २०८२ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट २०८२/८३ को बजेट ३४ करोड ७३ लाख रहेको छ । मंगलबार भएको १७ औँ गाउँसभामार्फत पालिकाकी उपाध्यक्ष सनमाया गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्ष नेपाल सरकारको सशर्त अनुदानबाट २६ करोड ६८ लाख, संघीय सरकार वित्तिय समानीकरण अनुदानको रुपमा १३ करोड ७८ लाख, समपुरक अनुदानको रुपमा २ करोड ५० लाख र विशेष अनुदानको रुपमा १ करोड ६४ लाख बजेट प्राप्त गर्ने अनुमान गरिएको पालिका उपाध्यक्ष गुरुङले बताइन् ।
प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदानको रुपमा १ करोड ८५ लाख ६७ हजार, समपूरक अनुदानको रुपमा ६० लाख, विशेष अनुदानको रुपमा ४० लाख र राजस्व बाँडफाँडबाट १० करोड ८८ लाख ०८ हजार रुपैँया प्राप्त गर्ने अनुमान पालिकाको छ । २ करोड ५० लाख रुपैयाँ आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य पालिकाको बजेटले राखेको छ ।
बारपाक सुलिकोट गाउँपालिकाले आगामी बर्ष स्वास्थ्य र सडक स्तरोन्नतीलाई प्राथमिकतामा राखेको छ । मंगलवार आव २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष बिष्णु भट्टले संघ र प्रदेशसँग समन्वय गरेर पालिकाका वडा कार्यालय र स्वास्थ्य संस्था जोड्ने मुख्य सडकहरु कालोपत्रे वा ढलान गर्ने नीति रहेको बताए ।
घ्याम्पेसाल–ताकुकोट–स्वाँरा–पोखरी–बारपाक सडक स्तरोन्नति गरि बाह्रै महिना यातायात संचालन हुने व्यवस्था मिलाउने र संघ तथा प्रदेश सरकारसँग समन्वय गरेर हुँडीफाँटमा पुल तथा कल्भर्ट निर्माण गर्ने पालिकाको नीति छ ।
आगामी वर्ष विज्ञान र गणित विषय अङग्रेजी माध्यममा अध्यापन गराउने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । पालिकाबाट एमबिबिएस र प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरु, विपन्न, बराम र दलित समुदायका विद्यार्थीहरुलाई विषेश छात्रवृत्तिको व्यवस्था मिलाउने बताइएको छ । अभिभावक शिक्षा कार्यक्रम र प्रविधिमैत्री एंव बालमैत्री शिक्षा कार्यक्रम संचालन गर्ने पालिकाको योजना छ ।
आगामी आवभित्र १५ शैयाको आधारभुत अस्पताल संचालनमा ल्याउने पालिकाको नीति छ । घरमा सुत्केरी हुने अवस्थालाई शून्य बनाउने, प्रत्येक महिना घुम्ती शिविरमार्फत विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने र विपन्न नागरिकहरुको हकमा निशुल्क एक्बुलेन्स सेवा, उपचारमा सहयोग र निशुल्क स्वास्थ्य वीमा कार्यक्रमलाई निरन्तरता दिने पालिकाले जनाएको छ ।
आगामी आव बारपाक ढल निकासको कार्यलाई तीव्रता दिने नीति पालिकाले लिएको छ । यस्तै, शौचालयविहीन विपन्न घरपरिवारलाई शौचालय निर्माणमा अनुदान दिने र सार्वजनिक महत्वको क्षेत्रमा शौचालय निर्माण गर्ने बताइएको छ । सबै वडामा फोहोरलाई वर्गिकरण गरि उचित व्यवस्थापन गरिने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
कागतेखर्कमा ओखर, बारपाकमा किवी र स्वाँरामा सुन्तला खेती विस्तार गरिने बताइएको छ । आगामी आर्थिक वर्ष हुडीफाँटमा निर्माणाधीन कोल्ड स्टोर संचालनमा ल्याउने नीति पालिकाले लिएको छ । साथै, बाख्रा प्रवद्र्धन कार्यक्रमलाई विस्तार गर्ने र पालिकामा संचालित कृषि एम्बुलेन्स कार्यक्रमलाई व्यवस्थित बनाउने पालिकाको उदेश्य छ ।
पालिकाले परम्परागत सीप र प्रविधिको प्रवद्र्धन तथा व्यवसायीकरण गर्ने नीति लिएको छ । स्थानीय कच्चा पदार्थमा आधारित लघु उद्यम प्रवद्र्धन गर्ने, व्यवसायिक कर्जामा व्याज अनुदान दिने र नयाँ व्यवसायीलाई वीय पूँजी दिने नीति पालिकाले लिएको छ । दिलबहादुर रम्तेल पार्क तथा जनयुद्ध संग्रहालयलाई जनयुद्ध अध्ययन केन्द्रमा अन्य समयकालक्रम र राजनीतिक आन्दोलनमा शहादत प्राप्त गर्ने सहिदहरुको स्तम्भ बनाई पिकनिक स्पटका रुपमा विकास गर्ने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
बारपाकमा निर्माणाधीन भूकम्प स्मृति पार्कर संग्रहालयलाई भूकम्प अध्ययन केन्द्रका रुपमा विकास गरि पर्यटकीय हबको रुपमा विकास गर्ने पालिकाले जनाएको छ । यस्तै, सुलिकोट, रुपाकोट र बजेनी ताल क्षेत्रलाई समेटेर हाईकिङ, जीपलाईन, स्काई वाक लगायतका साहसिक पर्यटन पूर्वाधारको विकास गर्ने, घुन्चोक पोखरीलाई सिंचाई तथा पर्यटन पूर्वाधारका रुपमा विकास गर्ने र सिता गुफालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने पालिकाको भनाई छ ।
लोपोन्मुख भाषा, कला, साहित्य र संस्कृतिको प्रवद्र्धन गर्ने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । पुरातात्विक महत्वका ऐतिहासिक धार्मिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, विभिन्न जातजातिका भाषा, धर्म, साहित्य, कला, संस्कृति र परम्पराको संरक्षण गर्ने र रुढीवादी परम्परा, मान्यता र अन्धविश्वास न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम संचालन गर्ने नीति पालिकाको छ ।