न्यूयोर्क, सोमबार, १६ असार २०८२ । अमेरिकाको न्यूयोर्कमा नेपालका विभिन्न आदिवासी जनजातिहरूले आफ्नो मौलिक संस्कृति प्रस्तुत गरी सांस्कृतिक साँझलाई भव्य बनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले न्यूयोर्कको उडसाइडमा शुक्रबार आयोजना गरेको वृहत सांस्कृतिक साँझमा १८ वटा आदिवासी जनजातिका समुदायहरूले आफ्नो मौलिक नृत्य र संस्कृति प्रस्तुत गरेका थिए ।
कार्यक्रममा तामाङ सेलोमा डम्फु र टुंगनाको तालमा नाचिएको ‘सोई ढोले सोई’ ले नेपालको सांस्कृतिक विविधतालाई जीवन्त बनायो। त्यस्तै, कुमारी नृत्य, शेर्पा नृत्य र मगर संस्कृति झल्काउने नृत्यहरूले कार्यक्रमलाई थप आकर्षक बनाए । सहभागीहरू आ-आफ्नो मौलिक भेषभूषामा सजिएर उपस्थित भएका थिए, जसले कार्यक्रमको रौनक थप्यो ।
औपचारिक कार्यक्रमभन्दा फरक शैलीमा आयोजित यो सांस्कृतिक साँझमा प्रस्तुत गरिएका प्रदर्शनहरूलाई नेपाली तथा अमेरिकी दर्शकहरूले उत्साहपूर्वक अवलोकन गरे। कार्यक्रमले नेपालको कला, संस्कृति र परम्परालाई अमेरिकामा जीवन्त राख्ने प्रयासलाई प्रस्ट्यायो ।
सन् २००५ मा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) न्यूयोर्कको सबैभन्दा ठूलो नेपाली संस्थाको रूपमा स्थापित छ । यसले १८ वटा विभिन्न जातीय संस्थाहरूलाई आफ्नो छाता मुनि समेटेको छ । सन् २००७ मा ग्लोबल जनजाति महासंघबाट नेपाल आदिवासी जनजाति महासंघको रूपमा परिणत भएको यो संस्थाले नेपालको कला, संस्कृति, भेषभूषा, परम्परा र भाषाको संरक्षण, सम्वर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। साथै, नेपालमा विभिन्न परिस्थितिमा सहयोग प्रदान गर्दै आएको छ ।
फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सञ्चालित यो सांस्कृतिक साँझको समन्वय र व्यवस्थापन महासचिव दिपक चौधरीले गरेका थिए । न्यूयोर्क महानगरका स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा डिस्ट्रिक ३० का काउन्सिलम्यान रोबर्ट होल्डेनले फिप्नालाई ‘सर्टिफिकेट अफ रिकग्निसन’ प्रदान गरे ।
अध्यक्ष गुरुङले अमेरिकामा रहेर पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै दोस्रो पुस्तालाई समेत आफ्नो संस्कृतिप्रति गर्व गर्ने वातावरण बनाउने बताए । उनले भाषा र संस्कृतिको पुस्तान्तरणलाई अहिलेको प्रमुख चुनौतीको रूपमा उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
महासचिव दिपक चौधरीले सबै संघसंस्थालाई सक्रियतापूर्वक सहभागी हुन आग्रह गर्दै फिप्ना सधैं नेतृत्वका लागि तयार रहेको बताए । उनले कार्यक्रमलाई भव्य र सभ्य बनाउन सहयोग गर्ने स्थानीय संघसंस्था र फिप्नाका सदस्य संस्थाहरूलाई धन्यवाद दिए ।
कार्यक्रमको स्वागत फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामाले गरेका थिए । समापनमा कलाकार र प्रायोजकहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । समापन समारोहमा अध्यक्ष गुरुङले आगामी जुलाई ९ मा न्यूयोर्कमा आदिवासी जनजाति दिवस आयोजना हुने जानकारी दिँदै यसलाई ऐतिहासिक बनाउन सबैलाई सहभागिताको आह्वान गरे ।