Tuesday, July 15, 2025
22.1 C
Kathmandu
Homeविपद्वर्षा र सम्भावित जोखिमलाई ध्यान दिँदै उच्च सतर्कता अपनाइने

वर्षा र सम्भावित जोखिमलाई ध्यान दिँदै उच्च सतर्कता अपनाइने

काठमाडौँ, सोमबार, राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठकले हाल भइरहेको निरन्तर वर्षालाई मध्यनजर गर्दै पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, जोखिम क्षेत्रका बासिन्दालाई सतर्क गराउने र आवश्यक सुरक्षा कदम चाँडै लागू गर्ने निर्णय गरेको छ ।

आइतबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको परिषद्को बैठकले देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षापछि उत्पन्न हुनसक्ने सम्भावित जोखिमप्रति गम्भीर ध्यान दिँदै सवारीसाधन सञ्चालन, सूचना प्रणाली र उद्धार व्यवस्थासम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको हो ।

बैठकले रातको समयमा जोखिमयुक्त स्थानमा सवारी नचलाउने, भारी वर्षा भएका क्षेत्रमा स्थानीयवासीलाई तत्काल सूचना प्रवाह गर्ने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन प्रसारण गर्ने, र विपद् प्रभावित क्षेत्रमा तत्काल रेस्क्यु तथा रिपोर्टिङको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले नागरिकको जीवनरक्षा सर्वोपरी भएको भन्दै पूर्वतयारीमा कुनै कमजोरी हुन नदिन सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । मौसम पूर्वानुमान पछिको सूचना व्यवस्थालाई प्रभावकारी बनाउन सकेमा सम्भावित क्षति न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ ।

बैठकमा गृह, रक्षा, सडक विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधिहरूले भइरहेको तयारीबारे जानकारी गराएका थिए ।

गृहमन्त्री रमेश लेखकले तीनवटै सुरक्षा निकाय सतर्क अवस्थामा रहेको बताउँदै सेना र निजी क्षेत्रका हेलिकप्टर पनि आवश्यक परेको अवस्थामा विपद् उद्धारमा खटिन तयार रहेको जानकारी गराउनुभयो ।

मौसम पूर्वानुमानअनुसार जोखिमयुक्त सडकमा सवारी निषेध गरिएको र यस्तो अवस्थामा निर्देश उल्लंघन भई दुर्घटना भएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी र चेकपोष्टका प्रहरी इञ्चार्ज जिम्मेवार हुने जानकारी दिइएको छ ।

मुख्यसचिव एकनारायण अर्यालले हालको मौसम पूर्वानुमान प्रणाली विश्वासयोग्य देखिएको र त्यसअनुसार सम्बन्धित निकायहरूलाई अलर्टमा राखिएको जानकारी गराउनुभयो ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको