Tuesday, July 15, 2025
22.1 C
Kathmandu
Homeपालिका विशेष‘किसान कल सेन्टर’ स्थापना गर्दै अजिरकोट

‘किसान कल सेन्टर’ स्थापना गर्दै अजिरकोट

गोरखा, शुक्रबार, २० असार २०८२ । गोरखाको अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष भूमि बैँक स्थापना गरी गरा सुधार तथा उत्पादनमुखी कृषि कार्यक्रम संचालन गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष दिपक देवकोटाले पालिकामा खेतीयोग्य जमिनलाई बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न बाँझो जमिनको अभिलेख तयार गर्ने बताएका छन् ।

उनका अनुसार पालिकाले कफी, स्याउ, अलैँची, अदुवा, चिया, किवी, एभोकाडो जस्ता उच्च मूल्यका नगदे बालीको जोनिङ गर्दै उत्पादनमा जोड दिने नीति लिएको छ । आगामी आर्थिक वर्ष ‘एक घर, एक प्रशिक्षित कृषक’ अभियानसहित कृषि तालिम, आधुनिक प्रविधिमा पहुँच विस्तार, अवलोकन भ्रमण तथा युवा कृषक अनुदान कार्यक्रम संचालन गरिने उनले जानकारी दिए । ‘साना सिंचाइ योजनाहरु जस्तै पाइपलाइन, प्लाष्टिक पोखरी, टंकीमार्फत बाली सिंचाइ सुविधा विस्तार गरिने छ’, उनले भने, ‘व्यवसायिक पशुपालन प्रवद्र्धन गर्न उन्नत नश्लको प्रवद्र्धन तथा यान्त्रिकरणमा ५० प्रतिशत लागत साझेदारी कार्यक्रम संचालन गर्नेछौँ ।’

गाई, भैँसी तथा बाख्रामा कृत्रिम गर्भाधान मिसन सञ्चालन गरी पशुपंक्षीहरुको नश्ल सुधार गर्ने उनको भनाई छ ।
पालिकाले कृषकहरुको कृषि तथा पशुपालन सम्बन्धी समस्याको तत्काल समाधान गर्न ‘किसान कल सेन्टर’ स्थापना गरी प्रविधिमैत्री सेवा, प्राविधिक परामर्श र आपतकालीन सहयोग प्रणालीमार्फत किसानलाई सशक्तिकरण गर्ने नीति लिएको छ । आलु, खुर्सानी, बेसार, अदुवा, हरियो तरकारी लगायत स्थानीय कृषि उपजमा आत्मनिर्भरताको नीति अवलम्बन गरिने पालिकाले जनाएको छ ।

आगामि आर्थिक वर्ष ‘घर उद्योग’ नामाङ्कन दिई कोदोको रक्सी उत्पादन, स्तर निर्धारण र ब्राण्डिङ गर्दै क्रमशः अजिरकोट गाउँपालिकाभित्र उमेर अनुसार कोदोको रक्सी प्रयोगमा प्राथमिकता दिने पालिकाको योजना छ । बाहिरी मदिराबारे भने छुट्टै नीति बनाई व्यवस्थित गरिने पालिकाले जनाएको छ ।

‘पालिकाको उत्पादन पालिकामै’ भन्ने नारासहित पालिकाभित्र हुने कार्यक्रमहरुमा प्रयोग हुने खादा, माला, सल, गलबन्दी, दोसल्ला, कपडाको झोला, हस्तकला आदि स्थानीय उत्पादनको मात्रै प्रयोग गर्ने नीति पालिकाको छ । पानीअमला, काफल, ऐसेलु, चुत्रो र लालीगुँरास जस्ता वनजन्य फलफुललाई उद्योगसँग जोड्न प्रयत्न गर्ने बताइएको छ । मस्यौरा, गुन्द्रुक एवं प्राकृतिक उत्पादन न्युरो, टुसाको संकलन, वर्गिकरण गरी गाउँपालिकाको तर्फबाट लेवलिङ, प्याकेजिङको व्यवस्था गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा निर्यात गरिने पालिकाले जनाएको छ ।

पालिकाले आगामी आवमा हिमालबाट बगेको शुद्ध खानेपानी बोटलिङ गरी राष्ट्रिय एवं अन्तराष्ट्रिय बजारमा निर्यात गर्न आवश्यक नीति तर्जुमा गर्ने बताएको छ । साथै, शहरबजारमा बसाइसराई गरी गएका पालिकाबासीलाई गाउँ फर्कन प्रेरित गर्ने कार्यक्रमहरु संचालन गर्ने नीति पालिकाले लिएको छ । डोको, नाम्लो, नाङ्लो, मान्द्रो, भकारी, राडी, बख्खु जस्ता स्थानीय कच्चा सामाग्रीहरुको प्रयोगबाट उत्पादन भएका वस्तुहरुको उत्पादन, प्रवद्र्धन र बजारीकरणका कार्यक्रमहरु संचालन गर्ने पालिकाको योजना छ ।

पालिकाले पथप्रदर्शक जनशक्तिलाई उचित तालिम तथा सेवासुविधासहित व्यवस्थापन गर्ने नीति लिएको छ । पर्यटन प्रवर्धनका लागि संघ सरकार, प्रदेश सरकार र सम्वद्ध निकायहरुसँगको समन्वय, सहकार्य र सहलगानीलाई प्राथमिकता दिइने बताइएको छ । साथै, पालिकाको सिरानडाँडालाई जिल्लाको पर्यटन पिकनिक स्थलको रुपमा बिकास गर्ने नीति पालिकाको छ ।

नागेपोखरी, दुधपोखरी, नारदपोखरी, पदमार्ग निर्माण कार्यलाई आवश्यक थप स्रोतको खोजी गर्दै निरन्तरता दिइने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । बुद्ध हिमाल, हिमालचुली ग्रेट लेक सर्किट र अजिरकोट–सिरानडाँडा–नागे–तपी–नार्क–दुधपोखरी क्षेत्रलाई समेट्ने पदयात्रा र घोडायात्रालाई व्यवस्थित गर्न ठोस नीति निर्माण गरिने पालिकाको भनाई छ । ट्राउट माछा पालनलाई पर्यटन प्रवद्र्धनसँग विकास गरिने नीति पालिकाको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ मा पालिकाको केन्द्रमा रहेको भच्चेक माविलाई मेघा आवासीय गाउँपालिका स्तरीय नमुना विद्यालयको रुपमा क्रमश स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिने पालिकाको नीति छ । एक वडा, एक आवासीय विद्यालयको नीति अबलम्बन गरिने बताइएको छ । साथै, पालिकाभित्रका सबै विद्यालयहरुलाई नमुना विद्यालयका रुपमा रुपान्तरण गर्ने बताइएको छ । विद्यालय तथा आसपासको क्षेत्रमा बृक्षारोपण कार्यक्रम अन्तरगत एक विद्यार्थी, एक बिरुवा कार्यक्रम संचालन गर्ने पालिकाको नीति रहेको छ ।

अजिरकोटले सार्वजनिक तथा सरकारी पदमा रहेका सबै नागरिकका छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गरी अध्ययन अध्यापन गराउने नीति लिएको छ । आगामी आव पालिकाले गाउँपालिका स्तरीय खेलकुद शिक्षकको व्यवस्थापन गरी खेलकुदका कार्यक्रमहरु संचालन पालिकाको भनाई छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको