गोरखा, शनिबार, २१ असार २०८२ । गोरखाको धार्चे गाउँपालिकाले आगामी आर्थिक वर्ष युवालाई ‘विदेश हैन बिजनेस’ भन्ने भावना जागृत तुल्याई स्वरोजगार उन्मुख बनाउने नीति लिएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष लक्ष्मण गुरुङले युवाहरुलाई व्यावसायिक पशुपालन तथा तरकारी खेती सम्बन्धी तालिम प्रदान गरि गरिबी न्यूनिकरण र जिविकोपार्जन सहजीकरण गराउने बताए ।
साथै दुव्र्यसनमा परेमा युवाहरुलाई निरोधात्मक र उपचारात्मक कार्यक्रमहरु मार्फत समाजमा पुनस्थापनाको प्रबन्ध गरिने अध्यक्ष गुरुङको भनाई छ । खेलकुदसँग सम्बन्धित क्लबहरुलाई व्यवसायिकरण गराउँदै व्यवसायिक खेलाडी र प्रशिक्षक उत्पादनमा जोड दिने बताइएको छ ।
‘म बनाउछु मेरो विद्यालय मेरो सन्ततिका लागि भन्ने’ मुल उदेश्यका साथ सामुदायिक विद्यालयहरुमा विद्यार्थीको सिकाईमा परिवर्तन गर्न र गुणस्तरीय शिक्षाको कार्यक्रम मध्यनजर गर्दै एसईई र बिईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, विद्यार्थी र विषय शिक्षकलाई प्रोत्सहान स्वरुप पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ । दिवा खाजामा जंकफुड निषेध गरि सामुदायिक विद्यालयमा ‘करियर काउन्सेलिङ’ र ‘मिडिया साक्षरता’ कार्यक्रम सञ्चालन गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
मातृ शिशु मृत्यु दर न्युनिकरण गर्न दक्ष जनशक्तिबाट गर्भवती महिलाहरुलाई निशुल्क ग्रामीण अल्ट्रा साउण्ट सेवाको विस्तार गरी गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूतिसहित ‘पूर्ण संस्थागत सुत्केरी युक्त पालिका’ बनाउने अभियानलाई निरन्तरता दिने बताएको छ ।
स्थानीय परम्परागत रुपमा मनाउँदै आएको मकै बिवाह, घाटु नाँच, साइवा नाँच, छिज्यू नाँच, माने नाँच, नारा पर्वलगायतको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्दै दस्तावेजीकरण गर्ने गराउने नीति अबलम्वन गर्दै आलु महोत्सव, तमु लोसार, तातोपानी मेलालाई महोत्सवको रुपमा मनाई वाह तथा आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने गाउँपालिका अध्यक्ष गुरुङले बताए । गाउँपालिका भित्रका विभिन्न धर्म समुदाय र धार्मिक तथा पौराणिक महत्व बोकेका शक्तिपिठहरुको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्दै अध्ययन अनुसन्धान गरी अभिलेख तयार पारिने बताएको छ ।
सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिने पालिकाले जनाएको छ । अपाङ्गता परिचयपत्र र जेष्ठ नागरिक परिचयपत्र वितरण प्रणाली र अभिलेख व्यवस्थापन गर्ने जातिय छुवाछुत तथा भेदभावमुक्त स्थानीय तह घोषणा गर्नका लागि आवश्यक नीति तथा कार्यक्रम बनाई लागु गर्ने भनिएको छ । गाउँपालिकाको वडा नं. ३ को लाक्पाल र वडा नं. १ को दाम्वाचेतको बस्ती सुरक्षित स्थानमा सथानान्तरणको लागि पहल गरिने उनले जानकारी दिए ।
कुषि उत्पादनलाई अर्गानिक बजारसँग जोड्नका लागि व्यावसयिकरण र आधुनिकिकरण गर्दै लैजाने उदेश्यले कृषकसँग धार्चेको हातेमालो गर्नेे उनले बताए । अर्गानिक धार्चे घोषणा गरि रासायनिक मलको आयतलाई निषेध गरि किसान सुचिकरण भएका कृषकहरुलाई कृषक परिचय पत्रको व्यवस्था गरिने अध्यक्ष गुरुङको भनाई छ ।
गाँजा, रेसम, कफि र चिया खेती गर्ने कृषकलाई प्रत्यक्ष फाइदा पुग्ने खेतिका लागि सम्भाव्यता अध्ययन गरि सोको आधारमा कार्यक्रमलाई अघि बढाउने पालिकाले नीति लिएको छ । कोदोको रक्सी र भिर महलाई ब्रान्डिङ गर्ने गरि आवश्यक नीति अवलम्वन गरिने उनले जानकारी दिए । रेन्बो ट्राउट माछा पालन र मत्स्य प्रवद्र्धन कार्यक्रमलाई प्रोत्साहन गरिने बताइएको छ ।
अति आवश्यक बाहेक सडकको नयाँ ट्रयाकलाई निरुत्साहित गरिदैँ सडक स्तरोन्नतीलाई प्रथामिकता दिइने अध्यक्ष गुरुङले बताए । खोर्लाबेशीस्थित खोर्ला खोलामा बेलिब्रिज निर्माण गरि यातायात सेवालाई सर्वयाम सुचारु गर्ने व्यवस्था मिलाइने उनको भनाई छ ।
जोखिमयुक्त वस्तिको स्थानान्तरण तथा एकिकृत बस्ती बिकासको लागि सम्भाव्यता अध्ययन, योजना निर्माण गरिने जनाएको छ । डढेलो सल्काउने, खुला शिकार गर्ने, जडिबुटी चोरी गर्ने जस्ता कार्यमा संलग्न व्यक्ति र समूह पत्ता लगाई सुराकी गर्ने व्यक्तिलाई प्रोत्साहन स्वरुप नगद दस हजार दिइने बताएको छ ।