Tuesday, July 15, 2025
22.1 C
Kathmandu
Homeपालिका विशेष“सडक बिस्तारले स्वास्थ्य, शिक्षा, व्यापार र पर्यटन विकासमा थप सहज हुने": धार्चे...

“सडक बिस्तारले स्वास्थ्य, शिक्षा, व्यापार र पर्यटन विकासमा थप सहज हुने”: धार्चे अध्यक्ष गुरुङ

गोरखा, आइतबार, २२ असार २०८२ । गोरखाको विकट धार्चे गाउँपालिका भित्र चालु आर्थिक वर्ष २०८१/०८२ मा करिब १०.५ किलोमिटर नयाँ सडकको ट्रयाक खोलिएको छ । सडकपूर्वाधार विकासमा पछाडी परेको गाउँपालिकामा पालिकाको पहलमा नयाँ सडकको ट्रयाक निर्माणको कामले तिव्रता पाएको हो । गाउँपालिकाले चालु आर्थिक बर्षमा गण्डकी प्रदेश सरकारको समपुरक अनुदानमार्फत काशीगाउँदेखि सर्जनवेशीसम्मको ६.५ किलोमिटर कच्ची सडकको ट्रयाक निर्माण गरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ्गले बताउनुभयो ।

काशीगाउँदेखि सर्जनवेशीसम्मको सडक मार्ग नहुँदा त्यस क्षेत्रका स्थानीयबासीलाई निक्कै समस्या हुँदै आएको थियो । त्यस्तै गाउँपालिकाले रुन्चेत कमनन सडकमा १.७ किलोमिटर, २ दशमलव १ किलोमिटर स्यातहोङ हुन्दुपुक मोटरबाटो, खानीबेशी शाखा सडक नयाँ ट्रयाक १५० मिटर निर्माण सम्पन्न भएको उहाँको भनाई छ ।

धार्चे गाउँपालिकाले सडक नपुगेका गाउँमा सडकबाटो निर्माण र पुराना सडकको स्तरोन्नतीको काममा जोड दिदै आएको छ । जसअन्तरगत लाप्राक शाखा सडकमा ८०.५ मिटर सोलिङ, ५९६ मिटर ग्राभेल, ४२.५ घनमिटर सडकमा ग्याविन राख्ने काम सम्पन्न गरेको छ । त्यस्तै सोही सडकखण्डमा १ हजार ७३० मिटर नाली निर्माण र ३४९ मिटर सडकस्तरोन्नतीको काम भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अन्र्तगतको रेसे गुम्दा शाखा सडकखण्डमा २१२ मिटर नाली निर्माण, ५७८ मिटर रोट अपग्रेट ५४ घनमिटर ग्याविन, २९ घनमिटरको मसला गारो निर्माण गरेको छ । पालिका भित्रका अन्य सडक स्तरोन्नतीको काममा समेत पालिकाले तिव्रता दिदैँ आएको छ । गाउँपालिकाले पालिका भित्रको गोरेटो वाटोलाई थप व्यवस्थित बनाउन ढलान गोरेटो वाटो र सिढी बाटो निर्माणको काम अघि बढाएको पालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

जस अन्तर्गत पालिका भित्र चालु आ.वमा ८५२ मिटर गोरेटो बाटो ढलान, ५.७ किलोमिटर सिढीबाटो निर्माण, ३४५ मिटर सोलिङ गोरेटो वाटो निर्माण गरेको छ । त्यस्तै गोरखा सदरमुकामदेखि गाउँपालिकाको केन्द्र जोड्ने आरुघाटदेखि माछीखोला सम्मको सडकलाई बर्खाका बेलापनि निरन्तर यातायात सञ्चालन हुनसक्ने गरि निर्माणका लागि आवश्यक पहल गरिहेको छ ।

यसले यात्रुहरूको सहज आवागमन, मालसामान ढुवानी, तथा वर्षायाममा हुने सडक बिग्रिने समस्यालाई न्युनिकरण गर्न सहयोग पु¥याएको छ । गाउँपालिकाले स्थानीय स्रोत साधन, जनश्रमदान र संघीय तथा प्रदेश सरकारमार्फत सडक पूर्वाधार योजना तिव्रगतिमा अघि बढाएको हो ।

“हामीले सडक योजनालाई विकासको मेरुदण्डका रूपमा लिएका छौँ, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, “सडकले स्वास्थ्य, शिक्षा, व्यापार र पर्यटन विकासमा थप सहज हुनेछ भन्ने हाम्रो विश्वास छ ।” धार्चेका विकट गाउँमा सडक पहुँच बढ्दै जाँदा विस्तारै गाउँको समृद्धिको ढोका खुल्ने गाउँपालिकाबासीहरुको भनाई छ ।

spot_img
सम्बन्धित समाचारहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको