Thursday, November 13, 2025
12.1 C
Kathmandu
Homeपालिका विशेषमनकामना मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न पहल गर्ने

मनकामना मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न पहल गर्ने

गोरखा, सोमबार, २३ असार २०८२ । गोरखाको सहिदलखन गाउँपालिकाले आगामी आर्थिक वर्ष बाँझो जमिनमा खेती गर्ने कृषकहरुलाई संघ र प्रदेश सरकारसँगको समन्वयमा अनुदानको व्यवस्था मिलाउने बताएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष रमेश थापा मगरले सो कुरा बताएका हुन् ।

उनका अनुसार पालिकाले आगामी वर्षदेखि कफी, अलैँची र टिमुर खेतीलाई प्राथमिकता दिने छ । पालिकाले विभिन्न सहकारीहरुसँगको साँझेदारीमा मल वितरण कार्यलाई सहजिकरण गर्ने नीति पालिकाले लिएको छ । पालिकाअन्तरगतका वडाहरुको भौगोलिक अवस्था अनुसार विशेष बाली उत्पादन योजना बनाई वडालाई पकेट क्षेत्र घोषणा गरी कृषकहरुको आय स्तरमा सुधार गरिने पालिका अध्यक्ष थापाले जानकारी दिए ।

‘गाउँपालिकामा उत्कृष्ट कार्य गर्ने कृषक, कृषि फार्म, समूह र कृषि सहकारीहरुलाई पुरस्कृत गर्ने कार्यक्रम संचालन गरिने छ’, उनले भने, ‘लोपोन्मुख र सिमान्तकृत समूदायको लागि कृषि विशेष कार्यक्रम संचालन गर्न आवश्यक पहल थाल्ने छौँ ।’ पालिकाभर ‘एक वडा, एक तरकारी नर्सरी’ स्थापना गरी सहुलियत अनुदानमा तरकारीका बिरुवा उपलब्ध गराइने उनले बताएका छन् । यस्तै, पालिकाको प्रत्यक वडालाई क्रमश विषादि मुम्त वडा बनाउने नीति लिइने उनको भनाई छ । सुख्खा क्षेत्रमा अदुवा तथा बेसारको कार्यक्रम संचालन गरिने बताइएको छ ।

सहिदलखनले आगामी आर्थिक वर्ष पशुपंक्षीजन्य वस्तुहरुको उत्पादनमा जोड दिँदै व्यवसायिक उन्मुख नीति लिने जनाएको छ । गाई, भैँसीको कृत्रिम गर्भाधान कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी नश्ल सुधार पशुहरुको संख्या बृद्धिमा जोड दिइने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । पालिकाभित्र भुस्याहा कुकुरको संख्या र रेविज रोगको नियन्त्रणका लागि कुकुर बन्ध्याकरण शिविर संचालन गर्ने नीति पालिकाको छ ।

हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनका कार्यक्रम संचालन गरिने र गाउँपालिकालाई दुधजन्य तथा मासुजन्य पदार्थमा आत्मर्निभर बनाउने पालिकाको योजना छ । शिक्षक, कर्मचारी लगायत पेशामा आवद्ध व्यक्तिहरुलाई आफ्नो पेशासँग सम्बन्धित सहकारी बाहेकको सहकारीमा सदस्य रहन नदिने व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गरिने पालिकाको नीति छ । यसैगरी, कृषि सहकारी संस्थालाई कृषि उत्पादनसँग जोड्ने नीति पालिकाको छ ।

पालिकाभित्र शहादत प्राप्त सहिद, बेपत्ता तथा घाइते व्यक्तिहरुको सम्मान स्वरुप एक प्रतिष्ठान स्थापना गरिने बताइएको छ । लखन किल्लामा प्रथम जनविद्रोहका सबै सहिद तथा योद्धाहरुको संग्रहालय र स्मारक बनाई जनस्तरमा उनीहरुको योगदानबारे परिचित गराउने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पालिकाको वडा नं ६ मा निर्माणधिन सहिद तथा बेपत्ता स्मृति पार्कको विकास गरी सहिदहरुको सम्मान गर्ने पालिकाले जनाएको छ ।

सहिदलखनमा पर्यटन क्षेत्रलाई बिस्तार र बिकास गर्न सामूहिक र नीजि होमस्टेलाई प्रोत्साहन गर्ने नीति पालिकाले लिएको छ । पूरातात्विक महत्व बोकेको प्रथम सहिद लखन थापाको किल्ला, प्रसिद्ध धार्मिक तथा सांस्कृतिक तीर्थस्थलहरु मनकामना मन्दिर, त्रिवेणी मन्दिर, सिद्ध लखन गुफा, बकेश्वरी मन्दिर, हिमालयमाई मन्दिर, अलाङ्दी माईको मन्दिर, भीमविरेश्वर महादेव लगायत धार्मिक तथा सांस्कृतिक तीर्थस्थलहरुमा पुग्ने सडक स्तरोन्नतिका लागि पहल गरिने बताइएको छ ।

राष्ट्रिय धरोहर मनकामना मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न आवश्यक पहल गर्ने नीति पालिकाको छ । आगामी वर्ष पालिकाले गर्भवति महिलाहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने नीति लिएको छ । २ वर्षभित्र पालिकाभित्र बसोकास गर्ने २० देखि ३० वर्ष उमेर समूहका विवाहित महिलाहरुको पाठेघरको क्यान्सर तथा स्तन क्यान्सरको परीक्षण गर्ने पालिकाले जनाएको छ ।

पालिकाले टोलस्तरमानै व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर कार्यक्रममार्फत व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्न कार्यक्रम तर्जुमा गरी लागु गर्ने बताइएको छ । आगामी र्आिर्थक वर्षबाट जथाभावी नयाँ सडक खन्ने कार्यलाई निरुत्साहित गरिने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

spot_img
spot_img
सम्बन्धित समाचारहरु
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Mauveine Tech-spot_img

धेरै पढिएको

spot_img
spot_img